- हत्याको विरोधमा चक्काजाम
बुटवल — रुपन्देहीको देवदह नगरपालिका ढेकारमा गोली प्रहार गरी एक व्यवसायीको हत्या भएको छ ।गोली प्रहारबाट फर्निचर व्यवसायी ४० वर्षे बलु भन्ने वसन्त पौडेलको हत्या भएको छ ।
रुपन्देहीको देवदह नगरपालिका ढेकारमा गोली प्रहार गरी एक व्यवसायीको हत्या भएको छ।गोली प्रहारबाट फर्निचर व्यवसायी ४० वर्षे बलु भन्ने वसन्त पौडेलको हत्या भएको छ। छाती र टाउकोमा गोली लागेका पौडेललाई उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा ल्याइएको थियो। अस्पताल ल्याएलगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका छन्।

इप्रका बुटवलका डिएसपी पवन भट्टराईका अनुसार स मिलमा गएका पौडेलमाथि बिहान करिब सबा ११ बजे गोली प्रहार भएको थियो। डिस्कोभर मोटरसाइकलमा आएका २ जना अज्ञात व्यक्तिले गोली प्रहार गरी भागेका थिए। गोली कसले किन हान्यो भन्नेबारेमा अनुसन्धान सुरु भएको डिएसपी पवन भट्टराईले बताए।

एमालेका स्थानीय नेता समेत रहेका पौडेललाई राजनीतिक वा आर्थिक रिसइवीमा गोली प्रहार भएको भन्नेबारेमा गम्भीर भएर अनुसन्धान गर्न स्थानीयले आग्रह गरेका छन्।
विरोधमा चक्काजाम
हत्याको विरोधमा बुटवलमा युवाहरुले चक्काजाम गरेका छन्। घटना लगत्तै युवा, व्यवसायी नागरिक अगुवा तथा सर्वसाधरण सुरक्षाको माग गर्दै सडकमा उत्रिएका हुन्।
नागरिकको सुरक्षा,घटनाको सत्यतथ्य अनुसन्धान, हत्यामा संलग्नलाई पक्राउ र कारबाहीको माग गर्दै पूर्वपश्चिम राजमार्ग ठप्प पारेका हुन्। अवरोधका कारण पुर्वपश्चिम राजमार्गको बुटवल सडकमा सवारी चलेका छैनन्।
ekantipur




















