राम बहादुर धामी/आँबुखैरेनी, तनहुँ
आँबुखैरेनी गाउँपालिकाले क्षेत्र नम्बर १ का प्रतिनीधी सभा तथा प्रदेश सभाका सदस्यलाई स्वागत तथा सम्मान गरेको छ । गाउँपालिकाको प्राङ्गणमा एक कार्यक्रमकाबीच तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य कृष्ण कुमार श्रेष्ठ र प्रदेश सभा ‘ख’ का सदस्य हरि बहादुर चुमानलाई सम्मान गरेको गाउँपालिकाकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाको अध्यक्षतामा भएको प्रतिनीधी सभा तथा प्रदेश सभा पदमा नवनिर्वाचित जनप्रतिनीधिहरुको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य कृष्ण कुमार श्रेष्ठले आँबुखैरेनी गाउँपालिका एक भाग्यमानी, ऐतिहासिक सम्भावना बोकेको गाउँपालिका भएको बताए ।
आँबुखैरेनी गाउँपालिका प्रदेश नम्बर ४ को प्रवेशद्वारा, पावर हाउस, जिल्ला कै अग्लो स्थान छिम्केश्वरी, औद्योगिक क्षेत्रको स्थापनाका लागि धैरे सम्भावना, विभिन्न मन्दिर, कृषिका लागि उपयुक्त स्थान रहेकोले आँबुखैरेनी गाउँपालिका एक भाग्यमानी गाउँपालिका रहेको प्रतिनिधी सभा सदस्य श्रेष्ठको भनाई रहेको छ । मंसिर २१ गते बेलुका ५ बजे सम्म आफू बामगठबन्धनको उम्मेदवार रहेको र अहिले जित पछि क्षेत्र नम्बरको १ को सबैको जनप्रतिनीधी रहेको श्रेष्ठले बताए । स्थानीय निकायको चुनावमा कांग्रेसले जितेका स्थानीय तहमा र अहिले प्रतिनीधी तथा प्रदेश सभा तर्फ बामगठबन्धनले जितेको सोही क्षेत्रमा विकास निर्माणको काममा कसैले सानो मन गर्न नहुने बताएका छन् ।
त्यस्तै, प्रतिनीधी सभा सदस्य श्रेष्ठले क्षेत्र नं. १ को विकास, सुविधा र समृद्धिका लागि कसैलाई काखा र कसैलाई पाखा लगाएर काम नगर्ने बताएका छन् । तनहुँ जिल्लाको सगरमाथा, छिम्केश्वरी रहेको र त्यस क्षेत्रको पर्यटन विकासमा विशेष जोड दिने प्रतिबद्धता श्रेष्ठले गरेका छन् । यसको लागि हिलेखर्क देखि छिम्केश्वरी सम्म गाउँपालिकाबाट बजेट बिनियोजन गरेर ट्रयाक खोल्न प्रतिनीधी सभा सदस्य श्रेष्ठले गाउँपालिका अध्यक्ष गिरबहादुर थापालाई निर्देशन दिएका छन् ।
यसैगरी यस क्षेत्रमा अैलनी जग्गाको खोज गरी औद्योगिक क्षेत्रको स्थापना गरेर बेरोजगार युवाहरुको लागि रोजगार सृजना सकिने श्रेष्ठले बताए । त्यस्तै, कार्यक्रममा तनहुँ क्षेत्र नं. १ प्रदेश सभा ‘ख’ का सदस्य हरि बहादुर चुमानले आँबुखैरेनी गाउँपालिकाको समग्र क्षेत्रको विकासमा विशेष जोड दिने बताएका छन् । आँबुखैरेनी गाउँपालिका सम्भावनाको खानी रहेको समेत प्रदेश सभा ‘ख’ का सदस्य चुमानले स्पष्ट पारेका छन् । यस क्षेत्रको जमिनमा सबै खाले विकास गर्न सकिने हँदा विकासको कामलाई तत्काल अगाडी बढाउनुपर्नेमा चुमानले जोड दिए । जिल्लामा बामगठबन्धको क्लिन स्वीप हुँदा यसलाई आफूलाई चुनौती नभई अवसरको रुपमा लिएको चुमानले बताएका छन् ।
जनताले चुनावमा भोट जिताएर जिम्मेवारी दिएको हुँनाले क्षेत्र नम्बर १ को पर्यटकीय, शैक्षिक, स्वास्थ्य, कृषि उपज आधुनिकीकरणको समग्र विकासका लागि आफू हरदम लागि पर्ने चुमानको भनाई छ । उनले आँबुखैरेनी गाउँपालिकालाई नमूना बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका । अव्यवस्थित बस्ती र सुकुम्बासीहरुको पहिचान गरी व्यवस्थापन नगरे सम्म गाउँपालिकालाई नमूना बनाउन नकिने उनको तर्क छ ।




















