- आन्तरिक राजनीतिमा भोगिएका विसंगति र कमजोरीको औषधि देशभित्र खोजिनुपर्छ ।
काठमाडौँ — नेपालको उदारवादी लोकतन्त्र र नेपाली कांग्रेस पर्यायवाची शब्द हुन् भन्ने रक्षात्मक हुनु पर्दैन । यसको जन्म र सिद्धान्त नै आज चलनचल्तीमा रहेको लोकतान्त्रिक अभ्यास मानिन्छ र जेजति विसंगति सिद्धान्त र अभ्यासमा देखिनुमा दलको भन्दा पनि नेताका कारणले भएको धेरैको विश्वास छ ।
रणनीतिका रूपमा बेलाबेला गरिएका सम्झौता र तिनले पुर्याएको क्षतिप्रति पनि नेता नै जवाफदेही हुनुपर्छ । सन् १९५९ मा राजा महेन्द्रले दिएको संविधान मानी चुनावमा जाने सैद्धान्तिक विचलनलाई समय र परिस्थितिको दबाबले यस्तो निर्णय लिएको भनी औचित्य स्थापित गर्न खोजिएको थियो । त्यस्तै, उल्टो फर्काइ (यू टर्न) सन् १९६८ मा कांग्रेसले कलकत्ता (कोलकाता) मा संविधानसभा छाडी राजा महेन्द्रलाई संविधानको अझ बढी विकासका लागि सहयोग गर्ने निर्णयमा थियो । यसैलाई स्वीकारी विश्वेश्वरप्रसाद कोइराला र गणेशमानसिंह जेलबाट छुटेका थिए र राजाले भारतमा बसेका कांग्रेसलाई क्षमा दिई उनीहरूको देश फिर्तीलाई अनुकूल पारिएको थियो ।
तर यस्ता उतारचढावले आजसम्म कांग्रेस उदारवादी लोकतन्त्रको अगुवा हुने मान्यतामा फरक परेको छैन किनभने आजका प्रमुख दलहरू विशेषगरी कम्युनिस्ट पार्टीको इतिहास र कार्यशैली फरक हँ‘दै कांग्रेसकै बाटामा मिसिन पुगेका छन् । उनीहरू सैद्धान्तिक रूपान्तरणले पहिले तिरस्कार गर्दै आएको संसदीय व्यवस्थामा सहयात्री र अगुवासमेत भएका छन् तर नामका लागि भने उनीहरू आफूलाई कम्युनिस्ट या वाम नै भन्न पछि पर्दैनन् किनभने यही ब्रान्ड उनीहरूलाई फापी जनता आकर्षित गर्न सफल भइरहेका छन् तर एउटा तथ्य के हो भने कम्युनिस्ट पार्टीले सन् १९५९ को चुनावमा भाग लिई चार सिट प्रतिनिधिसभामा जितेको हो र पछि पनि ऊ संसद् ब्युँँताउने काममा अथवा बहुदलीय व्यवस्थाप्रति समर्पित हुँदै आएको हो । त्यसैले जनताको बहुदलीय जनवाद (जबज) नौलो भने होइन । झापाली आन्दोलनको पृष्ठभूमिमा यसले सन् १९८९ को जनमत संग्रहलाई नमान्ने भन्दै आएकाले बहुदलीय व्यवस्थाप्रति उसको धारणा सकारात्मक थिएन र १९९० को आन्दोलनपछि मदन भण्डारी बहुदलीय जनवाद भन्दै रूपान्तरणको बाटोमा लागेका हुन् । आज एमाले यही सिद्धान्त मानी अघि बढिरहेको छ । यसैले एमालेलाई आजको प्रतिस्पर्धी दलीय व्यवस्थामा घरिघरि सरकार चलाउने र देशको राजनीतिमा प्रमुख स्थान ओगट्न सक्षम पारेको छ तर साथसाथै मदन भण्डारी अब त्यति चर्चित ऐतिहासिक पात्र हुन छाडेका छन् जसको झलक यसपल्टका सबै तहका चुनावमा देखिएको छ । उनी आजको एमालेको मार्गप्रदर्शक नेताका रूपमा कतै पनि त्यति देखिएनन् किनकि वर्तमान सन्दर्भमा केपी ओली सबैतिर छाएका छन् ।



















