पोखरा — कांग्रेस महामन्त्री शंशाक कोइरालाले एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनबाट माओवादीलाई अलग्याउनका लागि आफूले पहल गर्ने बताएका छन् ।
काठमाडौंमा साथीहरुले मलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग्याउन आग्रह गरेको भन्दै उनले यस विषयमा दाहालसँग कुरा गर्ने मनस्थितिमा रहेको बताए । ‘माओवादीलाई गठबन्धनबाट अलग्याउन पाएको खण्डमा कांग्रेसको भोलिको रणनीति सफल हुने थियो,’ मेलमिलाप दिवसमा कास्की कांग्रेसद्वारा आयोजित कार्यक्रममा आइतबार कोइरालाले भने, ‘साथीहरुले मलाई दाहालसँग कुरा गर्न भनेका छन् । सोही अनुसार कुरा गर्ने मनस्थितिमा छु ।’
महामन्त्री कोइरालाले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टीको हारको हप्ता दस दिनभित्रै केन्द्रीय समितिमा समीक्षा हुने बताए । अत्यन्त संवेदनशीलतासाथ समीक्षा गर्नुपर्ने बेला भएको उनको भनाइ थियो । पार्टी पराजित हुनुमा धेरै हदसम्म सभापतिको हात हुने भए पनि जिम्मेवारी सबैको हुने उनले बताए । त्यसमा म पनि पर्छु । सभापतिमाथि मात्रै आरोप-प्रत्यारोप गर्नुभन्दा हामी सबै एकजुट भएकार समस्याको समाधानतिर जानुपर्नेमा उनले जोड दिए । पार्टी सभापतिलाई आरोप लगाउनुभन्दा पहिला आफ्नो आलोचना गर्न पर्ने र त्यो हिम्मत गर्न नसक्नेले राजनीति गर्न नसक्ने उनको भनाइ छ ।
निर्वाचनमा टिकट वितरणमा कमजोरी भएको उनले स्वीकारे । ‘टिकट वितरण, समानुपातिकबाट चयनलगायत निर्णय गलत भएको स्वीकार्छौ’, उनले भने, ‘आगामी दिनमा यसलाई सुधार्नु पर्छ ।’ एकपटक समानुपातिकबाट सांसद भइसकेकालाई फेरि नदिने भन्ने निर्णय भए पनि कार्यान्वयन गर्न नसकिएको उनले स्मरण गरे । पार्टीको जिल्ला सभापतिको काम समन्वय मात्रै गर्ने भएको भन्दै उनले बढी अधिकार दिनुपर्नेमा जोड दिए ।
बीपी कोइरालाले बनाएको कांग्रेसको संगठन धेरै हदसम्म तल झरेको भन्दै उनले भ्रातृ संगठनको अवस्था पनि नराम्रो रहेको बताए । पाँच वर्षभित्र पार्टीलाई चुस्त र दुरुस्त राख्दै पुरानै अवस्थामा फर्काउने उनले उद्घोष गरे । ‘मलाई पार्टी सभापति र प्रधानमन्त्री बन्ने मन छैन,’ उनले भने, ‘बीपीले बनाएको पार्टीलाई सुधार गर्नसके मेरो जीवन सफल भएको ठानिनेछ ।’ उनले आफ्नो हिसाबले चुनावमा लागेको भए पनि भ्रातृ संगठनले संगठित भएर निर्वाचनमा परिचालन नभएको बताए । समग्रमा कांग्रेसको मूल्यांकन पद्धति कमजोर रहेको भन्दै उनले यसलाई सुधानुर्नपर्ने बताए ।
पार्टीले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । ‘वामपन्थीलाई दोषीमात्रै ठहर्याएर राष्ट्रको उन्नति हुँदैन,’ उनले भने, ‘प्रतिपक्षको भूमिका गैरजिम्मेवार होइन । सकारात्मक हुनुपर्छ । राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भन्न सक्नु पर्छ ।’दुई वर्षसम्मको काम हेरेर सरकारको आलोचना गर्नुपर्ने उनको भनाइ छ ।
ekantipur




















