- छलफल जारी राख्ने नेताहरुको भनाई
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको प्रमुख पाँच दलको बैठक बिना कुनै निष्कर्ष टुंगिएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमको बैठक बोलाएका थिए ।
राष्ट्रियसभा निर्वाचन अध्यादेश राष्ट्रपति कार्यालयमै ‘होल्ड’ भएपछि सहमति जुटाउन देउवाले बैठक बोलाएका थिए। तर बैठकमा सहभागी नेताहरुले आ-आफ्नै अडान दोहोर्याएपछि बैठकमा कुनै पनि सहमति हुन नसकेको हो। बैठक बिना निष्कर्ष टुंगिएपनि नेताहरुले छलफललाई जारी राख्ने प्रतिवद्धता भने जनाएको बैठकमा सहभागी नेताले बताएका छन्।
बैठकमा प्रम देउवाले राष्ट्रपति समक्ष पेश भएको अध्यादेशमा सहमत हुन आग्रह गरेका थिए। अध्यादेशमा उल्लेख भएको एकल संक्रमणीय मतप्रणाली असंवैधानिक भएको भन्दै एमाले अध्यक्ष ओलीले त्यसको विरोध गरेका थिए।तर एकल संक्रमणीय मतप्रणालीमा राजपाका महन्थ ठाकुर तथा फोरम अध्यक्ष उपेन्द्र यादवले सहमति जनाएको बैठकमा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।
सरकारले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित हुने व्यवस्थासहितको अध्यादेश सिफारिस गरेपछि एमाले र माओवादी केन्द्र असन्तुष्ट छन्।
बैठकमा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, फोरम अध्यक्ष उपेन्द्र यादव, राजपा संयोजक महन्त ठाकुर लगायतविभिन्न पार्टीका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ लगायतको सहभागिता थियो।
ekantipur


