काठमाडौं : निर्वाचनपश्चात राष्ट्रिय मान्यताप्राप्त पाँच दल सम्मिलित सर्वदलीय बैठक केही बेरमा बस्ने भएको छ। बैठकमा राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश, नयाँ सरकार गठनलगायत विषय छलफल हुने बताइएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले ११ बजे आह्वान गरेको बैठकले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भएको छ। बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम राष्ट्रिय पार्टी सहभागी हुनेछन्।
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले बिहीबार राष्ट्रियसभा अध्यादेश र सरकार निर्माणमा देखिएको अवरोध अन्त्यका लागि दलहरूबीच संवादको वातावरण बनाइ सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका थिए।
बिहीबार बिहान प्रधानमन्त्री देउवालाई भेटी दाहालले संवादहीनताले दलहरूबीच आपसी विश्वास घट्ने र समझदारी निर्माणमा जटिलता उत्पन्न गर्ने भएकाले तत्काल संवादको वातावरण निर्माण गर्न आग्रह गरेका हुन्। दाहाल केही दिनका लागि काठमाडौं उपत्याकाबाहिर जाने भएकाले पनि आज बैठक बस्न लागेको बताइएको छ।
कांग्रेस एकल संक्रमणीय र एमाले बहुमतीय आधारमा राष्ट्रियसभा गठन हुनुपर्ने पक्षमा अडिग छन्। दुवैको अडानका कारण प्रधानमन्त्री देउवा र एमाले अध्यक्षबीच लामो समयदेखि संवादसमेत हुन सकेको थिए। वाम गठबन्धन र नेपाली कांग्रेस विभाजित भइरहेकाबेला प्रधानमन्त्री देउवाले पहिलोपटक राष्ट्रिय दलहरुको संयुक्त बैठक बोलाएका हुन्।
annapurnapost




















