चार हजार भन्दा बढि मतान्तरले अघि रहेपनि चितवन–३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अझै फराकिलो अन्तर लिन सकेका छैनन्। राप्रपा (प्रजातान्त्रिक) को पकड रहेको मेघौलीमा बिक्रम पाण्डेले प्रतिस्पर्धी मत ल्याएका कारण प्रचण्डको मतान्तर सन्तोषजनक ढंगले बढ्न नसकेको हो।
यसमध्ये मेघौलीको जानकी मावि, सरस्वती माविका मतदान केन्द्रको मतगणना भएको छ। पाण्डेको पकड रहेको यस क्षेत्रका मतपेटिका रमाइलोडाँडा–‘क’, ‘ख’ र ‘ग’ का मतपेटिकासँगै मिलाएर गणना गरिएको थियो। पाण्डेको पकड क्षेत्रका मतपेटिकाका कारण प्रचण्डको खासै अग्रता बढ्न सकेन।
यसमध्ये जानकी मावि र रमाईलो डाँडा ‘क’ को संयुक्त मतगणनामा प्रचण्डले जम्मा ३९ मतले अग्रता लिन सके। त्यो गणनामा पाण्डेले ६ सय १ मत पाउँदा प्रचण्डले ६ सय ४० मत पाएका छन्। सरस्वती मावि र रमाइलोडाँडा ‘ख’ को मतपेटिका मेघौलीकै सरस्वती मावि मतदान केन्द्रको पेटिकासँग संयुक्त रुपमा गणना गर्दा पनि प्रचण्डले झिनो मतान्तरमात्र पाए। यी दुई मतदान केन्द्रको गणना गरिँदा प्रचण्डको पक्षमा ६ सय ३८ मत खस्यो भने पाण्डेले ५ सय ५७ मत पाए।
यसैगरी रमाइलोडाँडा ‘ग’ र मेघौलीको सरस्वती माविकै अर्काे केन्द्रको संयुक्त मतगणनामा चाहिँ प्रचण्डले एक सय भन्दा बढि मतको अन्तर लिए। त्यहाँको गणनामा पाण्डेले ५ सय २५ मतमात्र पाउँदा प्रचण्डले भने ६ सय ५८ मत पाएका छन्।
अहिलेसम्मको गणना परिणाम अनुसार पाण्डे भन्दा प्रचण्ड ४ हजार ३ सय १३ मतले मात्र अगाडि छन्। प्रचण्डले १३ हजार ३ सय ८७ मत पाएका छन् भने पाण्डेले ९ हजार ७३ मतका साथ प्रचण्डलाई पछ्याइरहेका छन्।
nepalkhabar




















