मोही माग्ने ढुंग्रो लुकाउने !
कुन सैद्धान्तिक र राजनीतिक धरातलमा एमाले र माओवादी केन्द्र सत्तासीन कांग्रेसविरुद्ध खडा भएका हुन् ?
दसैं नसकिँदै राजनीतिले तीव्र मोड लिएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्र प्रदेश र संसदीय चुनाव मिलेर उठ्ने सहमतिले दसैंमा झुमेका नेपाली मात्र होइन, नेपालमा खेलिरहेका विदेशी पनि चकली भूत बनेका छन्।
यद्यपि, निर्णय औपचारिक रूपमा बाहिर आइसकेका छैनन, दुवै दलले उच्चस्तरीय एकता समिति बनाएका छन्। यसले देशभरका दल वायु वेगमा ध्रुवीकरणतर्फ एकीकृत हुन थालेको देखिँदैछ। एमालेलाई एक्ल्याउन लागेको नेपाली कांग्रेस नौरथाका नौ दिन नसकिँदै हठात् एक्लो बन्न पुगेको छ। उसको सत्ता साझेदार माओवादी केन्द्र नै चुनावमा उसैविरुद्ध लड्ने भयो।

उसो त एमाले र माओवादी पहिले पनि मिलेर सत्तासीन भएका हुन् तर किन उनीहरू भत्किए र अहिले फेरि मिल्दैछन् ? कुन सैद्धान्तिक र राजनीतिक धरातलमा यी दुई पार्टी सत्तासीन कांग्रेसविरुद्ध खडा भएका हुन् ? देशका दुई र तीन नम्बरका ठूला दल कुनै आधारबाट होइन, चुनावको मुखमा भोट बढी ल्याउन सकिने भएर मात्र एक भएका हुन् ? यसो हो भने यसलाई सैद्धान्तिक र दिगो मिलन भन्न मिल्दैन।
कम्युनिस्ट कित्तामा उल्लास छाएको छ। किन ? किनभने छरिएका कम्युनिस्टहरू एक ठाउँमा मिल्दैछन् ! मिलनको बलमा जनताले केही परिवर्तनको आश गरेका छन्। तर ख्याल गर्नुपर्ने कुरा के भने, यी मिल्नका लागि मिलेका हुन् कि कुनै लक्ष प्राप्त गर्न दुई कम्युनिस्ट पार्टीले एकता गरेका हुन् ? नेपालको सन्दर्भमा उनीहरूले उठाएका मुद्दा के के हुन् ?
जहाँसम्म देशको कुरा हो, संविधान कार्यान्वयन, भारत र चीन सम्बन्ध, विदेश सम्बन्ध, प्राकृतिक स्रोत साधन, व्यापार, उद्योगको उपयोग, वैदेशिक रोजगारीमा गएका पचास लाख युवा, जलविद्युत्को प्रवल सम्भावना भए पनि लोडसेडिङ्मा बस्नुपर्ने बाध्यताको सामना कसरी गर्ने ? विदेशसँगको सम्बन्धलाई कसरी नेपाल र नेपालीको हितमा प्रयोग गर्ने ? अर्थात, जुन विषयमा पूरै राष्ट्र एक हुनुपर्ने छ तिनमा यी दुई पार्टी मिलेका हुन् भने त्यसले मुलुकलाई एउटा दिशा भने दिन सक्छ।
एमाले र माओवादी केन्द्रको यो एकता लोकतान्त्रिक पद्धति कि कम्युनिस्ट पद्धति निर्माण गर्नको लागि भएको हो ? रूसी शास्त्रीय समाजवाद वा चिनियाँ पद्धतिको समाजवादमा जानका लागि गरिएको एकता हो ? दुई पार्टीबीचको एकताको स्वागत गर्दा गर्दै पनि उनीहरूको एकताको लक्ष र जगलाई हेर्नुपर्छ। यो एकता प्रजातान्त्रिक पद्धतिभित्र अगाडि बढ्नका लागि हो वा अन्य ? समाजवादी क्रान्ति पनि भनिँदैछ, त्यसले एकता पक्षधरहरूलाई आफ्नो कार्यक्रम स्पष्ट पार्ने दबाब सिर्जना गरेको छ।
एक राजनीतिक विश्लेषकले भने, कुनै पनि हालतमा वाम–प्रजातान्त्रिक कार्यभारबाट नेपाली राजनीति बाहिर जानु हुँदैन किनभने त्यतातर्फ गयो भने त्यो दिगो हुन सक्दैन र मुलुकले पचाउँदा पनि पचाउन्न ! होइन, यो एकता चुनावमार्फत शक्ति हात पार्न लागि मात्र हो भने कुरा बेग्लै हो।
यसो हो भने, यस्तो अवस्था एक वर्षअघि नै आएको थियो। विदेशी चलखेल तोड्न गत वर्ष एमाले कमजोर भएपछि एमालेले अहिले गरेजस्तो एकता माओवादीसँग गर्न सकेको भए र प्रचण्डलाई आफ्नो समर्थनमा प्रधानमन्त्री बनाएको भए परिस्थिति अर्कै हुन सक्ने थियो।
साँच्चै भन्ने हो भने, यो एकता एकदम रोचक पनि देखिइरहेको छ, किनभने कांग्रेस पनि एमालेबाहेक अरू दलहरूसँग एकता गर्न आह्वान गरिरहेको छ। उसले माओवादीसँग त दीर्घकालीन एकताको रट नै लगाइरहेको छ। यसकै लागि ५६ सदस्यीय मन्त्रिमण्डल पनि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बनाए। तर यति ठूलो मन्त्रिपरिषद् बनाएर पनि कांग्रेसको सत्ता जोगिन सक्ने छाँट देखिँदैन। एमालेलाई एक्ल्याउने कांग्रेस योजना जबर्जस्त तुहिएको छ। यो एकता कांग्रेसलाई एमालेको यस्तो जवाफ सावित भएको छ कि अब कांग्रेसलाई सत्तामा बस्न पनि गम्भीर वैधानिक प्रश्न उत्पन्न हुन पुगेको छ।
संविधान कार्यान्वयन, भारत र चीन सम्बन्ध, विदेश सम्बन्ध, प्राकृतिक स्रोत साधन, व्यापार, उद्योगको उपयोग, वैदेशिक रोजगारीमा गएका पचास लाख युवाको भविष्य, जलविद्युत्को प्रवल सम्भावना भए पनि लोडसेडिङ्मा बस्नुपर्ने बाध्यताको गाँठो फुकाउन दुई पार्टी मिलेका हुन् भने त्यसले मुलुकलाई एउटा दिशा भने दिन सक्छ।
एक प्राध्यापकले भने, कांग्रेसले एमालेसँग नजिक हुन प्रयास गर्नुपर्ने थियो तर कांग्रेस दस वर्षे ‘जनयुद्ध’ र ‘१६/१७ हजार मानिस मार्ने’ माओवादीसँग गठबन्धन गर्न पुग्यो। अब कुन नैतिकताले उ सत्तामा बसिरहन्छ ? माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएन भने पनि नैतिक आधारमा शेरबहादुरलाई सत्तामा बसिरहन मिल्दैन किनभने कांग्रेसविरुद्ध माओवादी चुनाव लड्दैछ !
मनोनयनपत्र (४ कात्तिक ०७४) दर्ता गरेपछि अहिलेको ध्रुवीकरण भएको भए सरकार बदलिन्नथ्यो, निर्वाचन गराउने सरकारका कारण। तर अब त कांग्रेसलाई सत्ता टोक्नु न बोक्नु हुने भयो। एमालेलाई एक्ल्याउन कांग्रेस–माओवादी–मधेसी दलहरू एक भएर लाग्नुपर्छ भनेर उफ्रिएको भारतलाई पनि माओवादी–एमाले एकता ठूलो दबाब साबित भएको छ। यसले नेपालको आन्तरिक राजनीतिमा भारतीय खेल चल्दैन भन्ने फेरि पनि साबित हुन पुगेको छ।
यति ठूलो घटना,चुनावको मुखमा आएर यसप्रकारले ह्वात्तै बाहिर आउने अड्कल कसैले पनि गरेका थिएनन्। यसले राजनीतिक वातावरणलाई तताएको मात्र छैन, भकभक उमालेको छ। दुई कम्युनिस्ट पार्टी एक होउन् वा नहोउन्, जेसुकै गरुन्, संसद्मा कम्युनिस्ट भएर प्रवेश गर्नेछन्।
अर्को ठूलो कुरा, एमालेलाई सत्तापक्ष मधेसविरोधी भन्ने आरोप लगाउँथ्यो। मधेसी समर्थक भनेर मधेसीहरू माओवादीमा प्रवेश गरेका थिए अब माओवादी नै एमालेमा प्रवेश गरेपछि एमाले के भयो ? यतिमात्र होइन, कतिपय मधेसी नेताहरू एमालेको चुनाव चिन्ह लिएर चुनाव लड्नुले एमाले मधेसीको पार्टी सावित भएको छ।
ती प्राध्यापकले भने, नेपालमा दुइटा मात्र दलको निर्वाचन क्षेत्र छ, कांग्रेस कि कम्युनिस्ट ! मतदाता पनि एकै छन्, कि कांग्रेसलाई भोट दिन्छन् कि त कम्युनिस्टलाई। त्यसैले मधेसी पार्टी र कांग्रेसको बीचमा नै भोट बाँडिने हो र एमाले, माओवादीको पनि त्यही गति हो।
कम्युनिस्टले कांग्रेसको भोट तान्न र कांग्रेसले कम्युनिस्टको भोट तान्न सक्दैन। कम्युनिस्टले कम्युनिस्टको र कांग्रेसले मधेसीको भोट तान्ने हो। किनभने कांग्रेसबाट फुटेर नै मधेसी दल बनेका हुन्। कांग्रेसले सिद्धान्त र व्यवहार छाडेकाले छरियो। होइन भने, ०४७ सालदेखिको मत गणनामा कांग्रेस नै अगाडि छ, उपेन्द्र हुन् वा गच्छदार वा महन्थ ठाकुरको निर्वाचन क्षेत्र कांग्रेसकै निर्वाचन क्षेत्र हो। कांग्रेसले सत्ताका लागि छाड्दै गएको सिद्धान्त बोकेर उनीहरू पार्टी चलाइरहेका छन्। कांग्रेसले मुखले दोहोरयाउने गरेको र कांग्रेसलाई बोक्न गह्रुँगो भएको छ, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद ! तर मधेसी दलले यसैलाई बोकिरहेका छन्।
कांग्रेसले आफ्नो सिद्धान्त, मूल्य–मान्यता र धरातल तब छाड्यो जब बीपी गए, भट्टराई गए, गणेशमानले त कांग्रेस पार्टी नै छाड्नुप¥यो। कांग्रेस सत्तामा पुगेपछि यति मैमत्त भयो कि सत्ता जोगाउन नै उसको लागत ज्यादै बढ्यो। लागत थुपार्न भ्रष्टाचार गर्नुपरयो। भ्रष्टाचार गर्न सिद्धान्त, आदर्श र नैतिकता छाड्नुप¥यो।
कांग्रेसको ठाउँ मधेसी दलका महन्थ, उपेन्द्र, गच्छदारहरू मात्र होइन, बाबुराम भट्टराई र रविन्द्र मि श्रसम्मले लिइदिए। कांग्रेसले आफ्नो छाड्यो, अर्कोको ठाउँ लिन सकेन किनभने अर्कोले छोडे पो कांग्रसले पाउँथ्यो ! कांग्रेस त अरूका एजेन्डामा घुमिरहेकोले नै उसको यो दुर्दशा भएको हो। उ कहिँ न कहिँको हुन पुगेको मात्र होइन कि नीति सिद्धान्त भएका गतिशील कार्यकर्ता भएको सशक्त पार्टी होइन, आफैंले छाडेका बीपी, भट्टराई, गणेशमान, सूर्यप्रसादको अस्तु फलाक्ने ‘फोसिल’ बन्न पुगेको छ।
राष्ट्रियताको मुद्दालाई जबर्जस्त रूपमा ओलीले उठाएको र अडान देखाएकाले मात्रै एमाले स्थानीय चुनावमा ठूलो पार्टी बनेको हो। दुई नम्बर प्रदेशको स्थानीय चुनावमा दक्षिणी भेगमा ओली जान पाएको भए भोट निश्चितै रूपमा बढाउने थिए। सत्तापक्ष र मधेसी दलवालाहरूले ओलीलाई पुग्नै दिएनन्। अहिले भारतीयले थुनामा राखेका सप्तरी तिलाठी कोइलाडीका देवनारायण यादव नै यसका उदाहरण हुन्। भारतीयहरू सीमा क्षेत्रका नेपालीलाई कसरी प्रताडित गरिरहेका छन् ?
स्थानीय चुनावबाट शिक्षा लिएर एमाले र माओवादीहरूले जुन एकताको प्रयत्न गरेका छन्, त्यसले उनीहरूको भोट छरिन पाउने छैन र सबै भोट यिनकै चिन्हले बटुल्नेछ। किनभने दुवै पार्टीको एउटै मतदाता हुन्। त्यसबाहेक अरू साना कम्युनिस्ट पार्टीहरूलाई यो एकताले नजिक ल्याउनेछ। प्रचण्डले मध्यमार्गी वैद्य र हतियारवादी चन्दलाई पनि कम्युनिस्टहरूको बृहत वृत्तमा ल्याउनेछन् किनभने, तिनको पनि ‘कन्स्टिच्युएन्सी’ एउटै हो। सिद्धान्त पनि एउटै हो, जनवादी केन्द्रीयता। धेरैजसो एमाले नै माओवादी पार्टीमा गएका हुन्। यिनले सामना गर्ने अन्तर्राष्ट्रिय राष्ट्रिय कारण पनि एउटै छ।
माओवादीभित्र कांग्रेससँग सत्ता साझेदार गर्दाका टेन्सन कम छैनन्। कांग्रेसभित्र गएपछि उसकै हालिमुहाली चल्ने नै भयो जो माओवादीलाई स्वीकार्य छैन। उनीहरूमा कांग्रेसको पुच्छर भइएकोमा आत्मग्लानी भइरहेको थियो। यति गर्दा पनि माओवादी तेस्रो पार्टी समेत बन्न सकेन।
मुख्य शत्रु भनेर घोषणा गरेर यत्रो वर्ष लडेका माओवादीले आफूलाई कांग्रेसको पुच्छर बनाएर मेलमिलाप गर्दा पनि माओवादीको अवस्थामा सुधारसम्म आएन बरु दिन परदिन ‘बार्गेनिङ पावर’ समेत घट्दै गयो।
एमाले माओवादीको एकता अभियानले राजनीतिक धु्रवीकरणलाई ह्वात्तै बढाएको छ। यसले विभिन्न पार्टीहरूमा पुगेकाहरूलाई मात्र होइन, एक्लै बसेका हजारौं नेता टाइपका वामपन्थीलाई पनि धु्रवीकृत गर्ने बाटो खोल्नेछ। अरू त अरू उपेन्द्र यादव पूर्व एमाले नै हुन्। उनको पार्टीमा पनि समाजको मध्य र तल्लो वर्गका मानिसको वर्चस्व छ। जबकि राजपामा तल्लो र उच्चवर्गका व्यक्ति संगठित भएका छन्। जसले गर्दा नै उपेन्द्र र राजपाबीच बेलाबेला मुठभेड भइरहने गर्छ। हृदयेश त्रिपाठी त राजपाबाट फुटेर आए किनभने उनी पनि पूर्व वामपन्थी नै हुन्।
annapurnapost




















