मोहसिन अलि मियाँ/गोरखा
असोज २ गते । जिल्लामा प्रदेश र प्रतिनिधी सभा निर्वाचनको सरगर्मी बढ्न थालेको छ । सरकारले आगामी मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिधी सभा निर्वाचनको मिति घोषणा गरेको छ । उक्त निर्वाचन आउन करिब दुई महिना मात्रै बाँकी रहँदा कुन दलले कसलाई उठाउला भन्ने चासो बढ्न थालेको छ । यस संगै जिल्लामा स्थानीय चुनावको ह्याङ ओभर नसकिदै पुनः चुनावी चहलपहल बढ्ने क्रममा छ । काठमाण्डौ बसेर जिल्लामा राजनिती गर्ने नेताहरु जिल्ला आउन थालेका छन् भने चिया पसल र चौतारीहरुमा पुन चुनावी गफ सुरु हुन थालेको छ । ४ नम्बर प्रदेशमा पर्ने गोरखा यस अघिको चुनावसम्म ३ वटा निर्वाचन क्षेत्रमा बाँडिएको थियो । तर मुलुक संघियतामा गएसंगै गोरखालाई २ निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ ।
काग्रेसमा को–को छन् चर्चामा ?
क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभाका लागि नेपाली काग्रेसका मुख्य सचेतक एवं पूर्व जिल्ला सभापती चिनकाजी श्रेष्ठ मुख्य आकांक्षी रहेको काँग्रेस श्रोतको भनाई छ । यसैगरी जिल्ला सभापती हरि बहादुर घलेले उम्मेदवारी दिने तयारी गरेका छन । उनी क्षेत्र नम्बर २ को वारपाकका मतदाता हुन् । त्यस्तै क्षेत्र नम्बर १ मै युवा नेताका रुपमा छवि बनाएका राजेन्द्र बजगाँईको समेत चर्चा उस्तै छ । पार्टीको तेह्रौ महाधिबेशनमा केन्द्रिय सदस्यको समेत उम्मेदवार बनेका बजगाँईले सामाजिक सञ्जाल मार्फत उम्मेदवारको दावी गरिसकेका छन् ।
त्यस्तै क्षेत्र नम्बर २ मा सुरेन्द्र पाण्डेको चर्चा छ । खोप्लाङ्गका पाण्डे केन्द्रिय सदस्य समेत हुन् । पछिल्लो समय राजनिती संगै समाजसेवामा लागेका अब्दुल सत्तार पनि टिकट लिने दौडमा लागेका छन् । संविधान सभाको अघिल्लो चुनावमा प्रत्यक्ष तर्फ उम्मेदवारको दावी गरेका सत्तार पछिल्लो समय मतदाताको रोजाईमा पर्ने नेता मध्ये रहेको स्रोत बताउछ । समानुपातिक तर्फबाट सांसद रहेकी कमला पन्तको पनि २ नम्बर बाटै दावी छ । पन्त केन्द्रिय सदस्य समेत हुन् ।
माओवादी केन्द्रमा को–को ?
त्यस्तै नेकपा माओवादी केन्द्रबाट क्षेत्र नम्बर १ बाट हालका सांसद एवं पुर्व जिल्ला इन्र्चाज कृष्ण धितालको नाम चर्चामा छ । यस अघि समानुपाती उमेदवार रहेका धिताल यस पटकको चुनावमा प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा छन् । यसैगरी जिल्ला इन्र्चाज चुडामाणी खड्का उठ्ने चर्चा पनि रहेको माओवादी स्रोत बताउँछ । पार्टी अध्यक्ष प्रचण्डको स्वकिय सचिवका रुपमा समेत अनुभव संगालेका खड्का भने क्षेत्र नम्बर २ का हुन् । त्यस्तै पार्टीका लेख बहादुर थापाको पनि चर्चा कम छैन । गोरखा नगरपालिका वडा नम्बर २ का थापा जिल्ला अध्यक्ष समेत हुन् । पूर्व सभाषद परशुराम रम्तेलको पनि सम्भावना बलियो रहेको माओवादी निकट स्रोत बताउछ ।
क्षेत्र नम्बर २ मा भने नारायण काजी श्रेष्ठको सम्भावना बलियो देखिन्छ । पार्टीका बरिष्ठ नेता समेत रहेका श्रेष्ठ पहिलो पटक गोरखा बाट चुनावमा उठने तयारीमा छन् । हालका सांसद एवं पुर्व मन्त्री हितराज पाण्डेको नाम पनि चर्चामा छ ।
नेकपा एमालेमा को को ?
यता नेकपा एमालेबाट क्षेत्र नम्बर १ बाट रामशरण बस्नेतको नाम चर्चामा रहेको स्रोत बताउछ । बैकल्पिक केन्द्रिय सदस्य समेत रहेका बस्नेत पूर्व जिल्ला पार्टी अध्यक्ष समेत हुन् । त्यस्तै सम्झना देवकोटा, यादव बस्नेतले पनि उम्मेदवारका दावेदारी पेश गरेका छन् । क्षेत्र नम्बर २ मा डा.दिनेशचन्द्र देवकोटाको पनि नाम अघि आएको छ । देवकोटा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत हुन् । सोही क्षेत्रबाट जिल्ला अध्यक्ष प्रेम गुरुङको नाम पनि चर्चामा छ । गुरुङ स्थानीय तहको चुनावमा सिरानचोक गाँउपालिका प्रमुखमा पराजित भएका थिए ।
नया शक्तिमा को को छन् चर्चामा ?
नयाँ शक्ति नेपालले क्षेत्र नम्बर १ मा पार्टी संयोजक समेत रहेका रमेश पोखरेल (अटल) को नाम चर्चामा छ । त्यस्तै पुर्व सभासद ज्ञानेन्द्र कुमाल, महेन्द्र श्रेष्ठ, बिरेन्द्र पोखरेल लगायतको नाम समेत चर्चामा रहेको स्रोत बताउछ । नयाँ शक्तिले यस क्षेत्रमा उम्मेदवार बनाउन बाहिरी जिल्लाबाट नेता ल्याउन सक्ने सम्भावना समेत रहेको नयाँशक्ति स्रोतको भनाई छ ।
क्षेत्र नम्बर २ मा भने पार्टीका संयोजक डा.बाबुराम भट्टराई नै उठ्ने निश्चित प्रायः छ । गोरखाको आफ्नै क्षेत्रबाट चुनावमा उठ्ने बताइसकेकाले यस क्षेत्रमा अन्य उम्मेदवारको खासै चर्चा छैन । तर भट्टराई नउठेको खण्डमा नारायणराज पाण्डे, हरिजंग कोइराला लगायतको नाम अघि आउने स्रोतको भनाई छ ।
राप्रपामा को–कस्को चर्चा छ ?
त्यस्तै राप्रपाले क्षेत्र नम्बर १ बाट मोहन श्रेष्ठलाई अघि सार्ने तयारी गरेको छ । तर प्रेम कुमार श्रेष्ठ, हिक्मत जंग भण्डारीले समेत टिकट दावी गरेको राप्रपा निकट स्रोतले बतायो ।
त्यस्तै क्षेत्र नम्बर २ मा इन्द्र गुरुङ, रेशम गुरुङ चर्चामा छन् । उनिहरुसंगै शुसिल पन्त र रामराज कोइरालाले समेत दावी गरेको राप्रपाका एक नेता बताउछन् ।




















