गोरखा समाचारदाता
असोज १ गते । जिल्लाका ७ वटा कच्ची सडकले अस्थायी रुट पर्मिट पाउने भएका छन् । यस अघि बिना रुट पर्मिट सवारी सञ्चालन भएका ती सडकहरुलाई अस्थायी रुट पर्मिट दिने निर्णय भएको हो । ‘लामो समय देखि सवारी सञ्चालन भएका र अहिले पनि निकै महत्वपुर्ण मानिएका केही सडकलाई रुट पर्मीट दिनु पर्छ भन्ने हाम्रो सुझाव छ’ सहायक प्रमुख जिल्ला अधिकारी एवं यातायात व्यवस्थापन उप–समितिका संयोजक केशवराज शर्माले भने ।
जिल्ला प्रशासन कार्यालयमा बसेको उक्त उप–समितिले गोरखाको सात वटा रुटका सडकलाई पर्मिट दिने गरी भाडादर पनि कायम गरेको छ । गोरखा बजार हुँदै ठाँटी पोखरी सडक, गोरखा बजारबाट छोप्राक हुँदै भच्चेक सडक, ११ किलो छेवेटार भाँलुस्वारा बारपाक सडक, गोरखा–आर्खेत सडक, गोरखा घैरुङ बतासे सडक र सिउरेनीटार आर्खेत सडकलाई पर्मिट दिन उप–समितिले सिफारिस गरेको छ । ‘हामीले धेरै अध्ययन गरी सबैको सुझावका आधारमा यी सडकहरुलाई रुट पर्मिट दिन पर्छ भनेर सिफारिस गरेका छौ’ शर्माले भने ।
उत्तरी गोरखाको धार्चे र चुमनुब्री बाहेक अधिकाशं गाउँपालिका र जिल्ला सदरमुकाम जोड्ने सडकलाई नै रुट पर्मिट दिने तयारी गरिएको छ । हाल सम्म अस्थायी रुट इजाजत समेत नपाएका ती सडकहरुलाई पहिलो पटक अस्थायी रुट पर्मिट दिन लागिएको हो ।
उक्त समितिले चाडपर्वलाई लक्षित गरी हाल सवारी सञ्चालनमा रहेका सवै सडकहरुमा क्यू थपगरी यात्रुलाई सुविधा दिन ब्यवसायीहरुलाई आग्रह समेत गरेको छ ।


