नरेन्द्र ढकाल/गोरखा
भाद्र २१ गते । पुर्नसर्वेक्षणमा गएका इन्जिनियरले ७ हजार भन्दा बढि घरको तथ्याङ्क लिएका छन् । गत साउन ३० गतेबाट लाभग्राही सुचिमा नाम छुटेको भन्दै गुनासो फारम भरेका पिडितको घरमा पुगेका इन्जिनियरहरुले मंगलबार साँझ सम्म ६,९१३ घरको तथ्याङ्कको लिएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका शिवलाल पौडेलले जानकारी दिए ।‘डाटा आउने क्रम जारी छ, इन्टरनेटको पहुँच नभएको ठाउँमा लगत संकलन भए पनि डाटा आईसकेको छैन्’ उनले भने ।
टेलिफोनको पहँच भएको ठाउँमा कार्यालयले हरेक साँझ तथ्याङ्क लिने गरेको भए पनि उत्तरी गोरखाको २ गाउँपालिकाहरु धार्चे र चुमनुब्रीमा गएका अधिकाशं इन्जिनियरहरुसँग टेलिफोनमा समेत सम्र्पक नभएको पौडेलले बताए । जसअनुसार प्राधिकरणको केन्द्रमा हाल सम्म जम्मा ४,४५३ घरको मात्र तथ्याङ्क पुगेको छ । ‘सबै ठाउँमा इन्टेरनट चल्ने अवस्था रहेन, हामीले फोन मार्फत पनि तथ्याङ्क लिइरहेको छौ, त्यसैले केन्द्र र यहाँको तथ्याङ्क फरक पर्न गएको हो’ पौडेलले भने ।
ट्याबलेटमा संकलन भएको उक्त तथ्याङ्क इन्टरनेटको पहुँचमा पुगेपछि स्वतः केन्द्रिय सरबर जाने इन्जिनियरहरु बताउँछन् । पुर्नसर्वेक्षण र पुर्नजाँचका लागि २८ जना इन्जिनियर र सोही मात्रामा सामाजिक सहजकर्ताहरु खटाइएको छ । भदौ मसान्तसम्म काम सक्ने गरी उनीहरुलाई गाउँ पठाईएको भएपनि दशै सम्म सर्वेक्षणको काम सक्ने कार्यालयको अनुमान छ ।‘दशै सम्म सर्वेक्षणको काम गर्ने हाम्रो लक्ष्य छ पहिले तोकिएको भदौ मसान्तसम्म नहुने देखिएको छ’ पौडेलले भने ।
गुनासो फारम भरका मध्ये ११०३९ भुकम्प पिडितको घर पुर्नसर्वेक्षण गराउनुपर्ने देखिएपछि गाउँमा इन्जिनियर पठाएको हो । यद्यपी अझै पनि केही पिडितको घर छुटेकोले स्थानीय स्तरमा रहेको गुनासो व्यवस्थापन समितिले निर्णय गरेका घरहरु समेत सर्वेक्षण गर्नुपर्ने भएकोले उक्त संख्या भने बढ्ने देखिएको छ । २०७२ वैशाख १२ गते गएको विनाशकारी भुकम्पले गोरखाका ६० हजार घर भत्काएको थियो । ती मध्ये हाल सम्म ५४ हजार भन्दा बढि पिडितले पहिलो किस्ताको बुझेर घर बनाउन थालेका छन् । तर दोश्रो र तेश्रो किस्ताको रकम लिनेका संख्या निकै थोरै भएको भन्दै चिन्ता व्यक्तगर्ने गरिएको छ ।
पहिलो किस्ता लिएकाहरुलाई आगामी असार मसान्त सम्म घर बनाइसक्ने समय सिमा दिइएको छ । तर पिडितले घर बनाउन उत्साह देखाएका छैन् । पुर्नसर्वेक्षण काम भएसँगै घर निर्माण गर्नेको सख्या बढ्ने विश्वास लिएको छ । केन्द्रविन्दु जिल्ला गोरखाको पुर्ननिर्माण सोचे जस्तो नभएको भन्दै आलोचना समेत हुने गरेको छ । पहिले बनाएको मापदण्डका कारण घर निर्माण सुस्त भएको भन्दै अहिले प्राधिकरणले मापदण्ड पनि खुकुलो गरे सँगै घर बन्ने क्रम पनि तिव्र भएको सरोकारवालाहरुको दाबी छ । वर्खा सकिए लगतै भुकम्प पिडितले घर बनाउन सुरु गर्ने बताएका छन् ।


