नरेन्द्र ढकाल/गोरखा
भाद्र १६ गते । पालुङटार नगरपालिका वडा नम्बर ३ डुम्रेडाँडामा पहिरो जाँदा तिन वटा घर बिस्तापित भएका छन् । अन्य ३ वटा घर उच्च जोखिममा रहेको पालुङटार नगरपालिकाका इन्जिनियर निरज देवकोटाले जानकारी दिए ।‘त्यहाँ पहिरो ३ वटा घर अहिले नै बस्न नमिल्ने भएका छन्, अन्य ३ वटा पनि निकै जोखिममा देखिएको छ’ देवकोटा भने ।
पहिरोले स्थानीय सन्त बहादुर गुरुङ, जिवराईल मियाँ र शेर बहादुर अधिकारीको घरको पिढी नै बगाए पछि उनीहरु आफन्तको शरणमा बसिरहेको उनले बताए । ‘पालीको खाबो नै पहिरो झुण्डिएको छ त्यहाँ बस्ने मिल्ने नै अबस्था छैन, उहाँहरुले आफन्तको शरणमा हुनुहुन्छ’ देवकोटाले भने । घर मुनिबाट निर्माण गरिएको सडकका कारण पहिरोले घर बगाएको पालुङटार नगरपालिकाका प्रमुख दिपक बाबु कंडेलले जानकारी दिए ।
अहिले पिडितका लागि आवश्यक समन्वय गर्न वडा अध्यक्षलाई निर्देशन दिएको र घटना बारे जिल्ला दैवी प्रकोप उद्धार समितिमा जानकारी गराइएको उनले बताए ।‘उहाँहरुलाई सुरक्षित स्थानमा राख्न वडा अध्यक्षलाई निर्देशन दिएर सहयोगका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिलाई आग्रह गरेको छ’ कंडेलले भने । इन्जिनियर सहितको टोली पठाएर पहिरोका अध्ययन सुरु गरेको पालुङटार नगरपालिकाले जानकारी दिएको छ ।


