गोरखा समाचारदाता
भाद्र ६ गते । नेपाली काँग्रेस गोरखाले बुढीगण्डकी आयोजनाको काममा ढिला सुस्ती भएको भन्दै प्रधामन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । काँग्रेसका पदाधिकारी सहित एक टोलीले काठमाण्डौं पुगेर आयोजना निर्माणको काम अगाडी बढाउन आग्रह गर्दै ज्ञापनपत्र समेत बुझाएको छ । सभापती हरीबहादुर घलेद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा डुबान क्षेत्रका जनताको हित हुने गरी आयोजनाको काम अगाडी बढाउन आग्रह गरिएको छ । ‘हामीले डुबान क्षेत्रका समस्या र जनताका गुनासाहरुलाई समेटर प्रधानमन्त्री ज्यूको ध्यानाकर्षण गराएका हौ’ काँग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानले गोरखा समाचार सँगको कुराकानीमा भने ।
गोरखा र धादीङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरबको उक्त आयोजनाको काम सुस्त हुँदा प्रभावित बिस्थापित अन्यौलमा परेको, जनदबाब सिर्जना भएको भन्दै कांग्रेस सभापति हरिबहादुर घले सोमवार प्रधानमन्त्री निबासमै पुगेर ज्ञापन पत्र बुझाएका हुन् । १० बुँदा समेटिएको ज्ञापन पत्रमा मुआब्जा निर्धारण भएर भुक्तानी हुन बाँकी रहेको जग्गाधनीलाई तत्काल मुआब्जा रकम बितरण गर्नुपर्ने, धादिङको खहरे र गोरखाको आरुघाट, आर्खेत बजार क्षेत्रको मुआब्जा निर्धारण गरिनुपर्ने विषयलाई मुख्य रुपमा उठाइएको छ । ‘जनतालाई अफ्ठेरोमा राख्ने काम गर्नुभएन, छिटो मुआब्जा बितरण गर्नुप¥यो भन्ने माग हाम्रो हो’ सचिव न्यौपानेले भने । मुआब्जा वितरणमा ढिलाई हुँदा जमिनको मुल्य पनि बढ्ने भएको हुँदा पछि अनेक समस्या आउने भएकाले पनि अहिले नै सबैलाई एक मुष्ट मुआब्जा वितरण गर्नु राम्रो हुने कांग्रेसको ठहर छ ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको गुनासो बारे आफू सचेत रहेको भन्दै यथाशिघ्र उक्त समस्या संबोधन गर्न लागि पर्ने बताएका थिए ‘म जनताको समस्या बारे चिन्तित छु, आयोजना बन्नुपर्छ, तर जनताले दुःख पाउनु हुन्न सबै कुरा बुझेर तत्काल काम अगाडी बढाउन निर्देशन दिन्छु’ प्रधानमन्त्रीलाई उद्रित गदै काँग्रेस जिल्ला सचिव न्यौपानेले भने ।
बहुचर्चित बुढीगण्डकी आयोजनाको काम तत्काल अगाडी बनाउने भन्दै सरकारले राष्ट्रिय गौरबको आयोजनाको रुपमा व्याख्या गरे पनि प्रयाप्त रकम र आवश्यक निति नबनाउँदा अझै अन्यौलता कायम रहेको जानकारहरु बताउँछन् ।


