गोरखा समाचारदाता
भाद्र ६ गते । तराई मधेसमा आएको बाढीबाट प्रभावित भएकाहरुलाई निर्माण व्यवसायी संघ गोरखाले सहयोग गरेको छ । सघंले सस्थागत रुपमा संकलन गरेको ५१ हजार १ सय ११ रुपयाँ प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केन्द्रिय दैवी प्रकोप उद्धार समितिमा पठाईको छ ।
निर्माण व्यवसायीहरुको एक टोलीले प्रमुख जिल्ला अधिकारी एवं जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष जितेन्द्र बस्नेतलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ‘भुकम्पको बेला तराईबासीले गोरखाली जनतालाई ठुलो गुण लगाएका थिए, सोको थोरै भए पनि पैचो तिर्नुपर्छ भनेर हामीले सहयोग गरेका हौ’ निर्माण व्यवसायी संघ गोरखाका कार्यवाहक अध्यक्ष चन्दनबाबु खत्रीले भने ।
यसैगरी लायन्स क्लव अफ गोरखा, लायन्स क्लव अफ गोरखा कालिका, लियो क्लव अफ गोरखा लगायतका सस्थाहरुले संकलन गरेको १ लाख ५१ रुपैयाँ लायन्स डिस्ट्रिकलाई हस्तान्तरण गरेको लायन्स क्लल अफ कालिकाकी अध्यक्ष देबु मास्केले जानकारी दिइन् ।
विभिन्न उद्योगी व्यवपारीहरुले संकलन गरेको रकम सिधै केन्द्रिय दैवी प्रकोप उद्धार समितिको खातामा पठार्ईएको उनीहरुले बताएका छन् । ‘तराई मधेशबासीले गोरखा भुकम्पमा हामीलाई धेरै सहयोग गर्नुभएको थियो, उहाँहरुको गुण तिर्नुपर्छ भनेर हामीले सबैलाई सकेको सहयोग गर्न आग्रह गरका छौ, सोही अनुसार सहयोग गर्ने क्रम पनि जारी छ’ प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने ।
विभिन्न संघ सस्थाले उठाएको रकम छाता संगठन वा सिधै केन्द्रिय दैवि प्रकोप उद्धार समिति मार्फत बुझाएकाले गोरखाबाट कति रकम सहयोग भयो भन्ने एकिन नभएको उनले बताए । सबै संस्थालाई समन्वय गरेर जिल्लाबाट कति रकम सहयोग भयो भन्ने तथ्याङ्क संकलन गरी सार्वजानिक गर्ने जिल्ला प्रशासन कार्यालय गोरखाको योजना छ । दैवि प्रकोप उद्धार समिति गोरखाले बैठक बसेर सहयोग गर्न सबैलाई अपिल गरेको थियो ।
कार्यालय प्रमुखहरुको आईतवार बसेको बैठकले जिल्ला भरीका सबै राष्ट्रसेवक कर्मचारीको एक दिनको तलब बाढी पिडितलाई सहयोग गर्ने निर्णय गरेको छ । सबै कार्यालयले एक दिनको तलब कट्टा गरी जिल्ला प्रशासन कार्यालयमा जम्मा गरेर राहत कोषमा पठाउने प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो ।
उद्योग बाणिज्य संघ गोरखाले सोमवार ब्यापारीहरु सँग खाद्यान्न, लत्ताकपडा लगायतका राहत सामग्री संकलन गरेको छ । बाढी पिडितकालागि संकलन गरिएको उक्त राहत मंगलवार रौतहट लगेर बितरण गर्ने महासचिव भगबानबाबु मास्केले बताउनुभयो ।
यस अघि उद्योग बाणिज्य संघ महिला उद्यमी बिकास समितिले नगद २५ हजार रुपैयाँ नगद सहयोग पठाइसकेको छ । जिल्लाको स्थानिय तहमा पनि रकम संकलन गरी पठाउने काम भईरहेको जानकारी प्राप्त भएको छ ।


