मोहसिन अलि मियाँ/गोरखा
भाद्र ४ गते । सरकारले निकट भविष्यमा गर्न लागेको प्रदेशसभा र संसदको निर्वाचनमा गोरखामा झण्डै १७ हजार भन्दा बढि मतदाता थपिने भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय गोरखाले सञ्चालन गरेको फोटो सहितको मतदाता नामावली संकलन एवम अद्यावधिकको अवधी सकिए सँगै उक्त संख्यामा मतदाता थपिने जिल्ला निर्वाचन कार्यालयका नायव सुब्बा कमलापती अधिकारीले जानकारी दिए । ‘हामीले जिल्लाका नौ गाउँपालिकाको केन्द्र र दुई नगरपालिकाका केन्द्रहरुमा गएर फोटो सहितको मतदाता नामावली संकलन गरेका हौ’ कार्यालयका सुब्बा अधिकारीले भने ।
शनिवार सकिएको मतदाता नामावली संकलनको काम अन्तिम विवरण नआईसके पनि शुक्रबार साँझमा १७ हजार ७ सय २३ जना मतदाताले नाम दर्ता गराएका निर्वाचन कार्यालय गोरखाले जानकारी दिएको छ । जिल्लामा कार्यालयले निर्धारण गरेको ११ केन्द्रहरुमा टोली पठाएर फोटो सहितको मतदाता नामावली संकलन गरेको थियो ।
मतदाता नामावलीमा नाम लेखाउने काम सकिए पनि भौगोलिक बिकटता र प्राविधिक कारणले सबै तथ्याङ्क भने आईसकेको छैन् । ‘केही दिन भित्र सबै टोली आएपुग्नु हुन्छ, सबै सँग फोन सम्पर्क पनि भएको छैन, सबै तथ्याङ्क आए पछि बिस्तृत विवरण सार्वजनिक गर्छौ’ अधिकारीले भने । साउन १ गते देखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा र साउन १६ गतेदेखि भदौ ३ गते सम्म कार्यालय सहित प्रत्येक गाउँपािलकाको केन्द्रमा टोली पठाएर मतदाता नामावली संकलन र अद्यावधिक सम्पन्न गरेको कार्यालयको भनाई छ ।
आयोगले यस अघि साउन मसान्तसम्म मात्र अवधी तोकेको भए पनि अन्तिम समयमा तिन दिन समय थपेको कार्यालयले जनाएको छ । यस अवधीमा जिल्लामा ९ हजार १ सय ९ पुरुष र ८ हजार ६ सय १४ महिलाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको कार्यालयले जानकारी दिएको छ ।
यस अवधीमा मतदाता नामावलीसम्बन्धी ऐन, २०६३ को दफा ५ बमोजिम मतदाता हुन योग्यता पुगेका व्यक्तिको फोटो सहितको नामावलीमा नाम समावेश गर्ने, नाम सार्ने, हटाउने र सङ्कलन भएको नामावलीमा भएको त्रुटि सच्याउने लगायतका कार्य भएको कार्यालयको भनाई छ । जिल्ला निर्वाचन कार्यालयबाट गोरखा बाहेकका जिल्लाका मतदाताको समेत नाम दर्ता गरी सम्बन्धित जिल्लामा पठाइएको कार्यालयले जानकारी दिएको छ ।
स्थानीय तह निर्वाचन पछि केही समयका लागि सञ्चालन गरिएको फोटो सहितको मतदाता नामावली संकलनको काम प्रदेश र संसदको निर्वाचनको तयारीका लागि बन्द गरिएको निर्वाचन कार्यालयका प्रमुख राजेन्द्र प्रसाद पोखरेलले जानकारी दिए । ‘आयोग निर्वाचनका तयारीमा जुटेको छ, अब तयारीका लागि पनि हामीले मतदाता नामाबली संकलनको काम रोक्नु पर्ने हुन्छ’ उनले भने । मुख्य दल, सरकार र निर्वाचन आयोग सबैले आगमी मंसिरमा प्रदेश तथा संसदको निर्वाचन गर्ने तयारी गरेको खबरहरु सार्वजानिक भईरहेका छन् ।


