नरेन्द्र ढकाल/गोरखा
भाद्र ४ गते । जिल्ला सरदमुकाममा भएको निशुल्क स्वास्थ्य शिविरबाट ५ हजार जनाले स्वास्थ्य सेवा लिएका छन् । नेपाली सेना र अमेरिकी सेनाको सयुक्त आयोजनामा गोरखा नगरपालिका वडा नम्बर ८ आहालेमा भएको शिविरमा विभिन्न समस्या भएका ५ हजार भन्दा बढि बिरामीले निशुल्क स्वास्थ्य सुबिधा लिएका हुन् । शिविरमा आएका मध्ये सबै भन्दा धेरै आँखा, छाला, दाँत र बालरोग सम्बन्धी समस्या रहेको अमेरिकी सेनाका सर्जेन्ट राजिब न्यौपानेले जानकारी दिए ।
नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक याङ्गल्स २०१७ नाम दिईएको उक्त शिविरमा विभिन्न रोगका ४२ जना विशेषज्ञ डाक्टरहरुको टोलीले स्वास्थ्य परिक्षण गराएको हो । चार दिन सम्म चलेको शिविरमा जनरल फिजिसियन, बालरोग विशेषज्ञ, छालारोग विशेषज्ञ, आँखा रोग विशेषज्ञ लगायत विभिन्न रोगका विशेषज्ञ डाक्टरले सेवा दिएको नेपाली सेनाले जानकारी दिएको छ । रणसिंहदल गण नाम्जालीडांडा गोरखाले संयोजन गरेको शिविरमा विभन्न उपचार गरिनुका साथै निशुल्क औषधी समेत वितरण गरिएको थियो । शिविर शुक्रबार सकिएको छ ।
यसैगरी पालुङटार नगरपालिकाको खोप्लाङमा भएको निशुल्क स्वास्थ्य शिविरमा ३ सय भन्दा बढिले स्वास्थ्य जाँच गराएका छन् । खोप्लाङ स्वास्थ्य चौकीको आयोजना तथा आँपपिपल अस्पताल र पालुङटार नगरपालिका सहयोगमा भएको उक्त शिविरमा २ सय ७० जना बिरामीको सामान्य चेकजाँच गराईएको स्वास्थ्य चौकी प्रमुख दिपेन्द्र गिरीले जानकारी दिनुभयो । यसैरी ३४ जनाले दन्त, ४ जनाले इसिजी सेवा लिएका छन् । शिविरमा ल्याब, प्याथोलोजि लगायतको अन्य सुविधाहरु समेत प्रदान गरिएको थियो ।
शिविरको पालुङटार नगरपालिका प्रमुख दिपक बाबु कंडेल र उपप्रमुख पंफा बसेलले उद्घाटन गरेका हुन् । एकदिने उक्तमा शिविरमा आएका विरामीहरुलाई आँपपिपल अस्पतालका निर्देशक डाक्टर क्षितिजचन्द्र पौडेल नेतृत्वको टोलीले स्वास्थ्य जाँच गराउनुका साथै निशुल्क औषधी समेत वितरण गरेको गिरीले जानकारी दिए ।


