बिगत १५ दिनदेखि बालिका ज्वरोबाट पीडित थिइन् भने पछिल्लो समय उनी निमोनियाबाट पनि पीडित रहेको बताइएको छ। बालिकाको मृत्यु कुन रोगका कारण भएको हो भन्नेबारे खुलेको छैन।
बारपाक गाउँमा ३०० जनाभन्दा बढी स्थानीय बासिन्दाहरु बिरामी छन्। बिरामीहरुमध्ये अधिकांश बालबालिकामा निमोनिया देखिएको उपचारमा खटिएका स्वास्थ्यकर्मीले जानकारी दिएका छन्।
जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी शाखाका प्रमुख नानीबाबु दानीले बारपाक स्वास्थ्य चौकीमा उपचार गर्न आउनेको संख्या दिनहुँ बढ्दो रहेको जानकारी दिए। आज ८० जना भन्दा बढीको उपचार गरिएको र बिरामीलाई औषधि उपलब्ध गराइएको दानीको भनाइ छ।
बिरामीको संख्या बढ्दै गएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र जौवारीबाट दुई जना डाक्टरहरु बारपाक पुगेका छन्। डाक्टर बिनोद दवाडी र सुजाता नगरकोटी मंगलबार बारपाक पुगेर बिरामीको स्वास्थ्य परीक्षणमा खटिएको दानीले जानकारी दिए।
दानीले भने, ‘दश दिनदेखि बारपाकमा सिजनल फ्लुको समस्या देखा परेपछि स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । थप औषधि र स्वास्थ्यकर्मीको टोली बिहीबार परिचालन गछौँ ।’ मृत्यु हुने बालिकालाई एक पटक मात्रै स्वास्थ्य चौकी ल्याइएको थियो।
nepalkhabar




















