कैलासबावु श्रेष्ठ/गोरखा
साउन ३० गते । केही साता अगाडी गोरखा सदरमुकाम र गाँखु क्षेत्रमा स्वाईन फ्लूका संक्रमित बिरामी भेटीएका छन । संक्रमित सबैको अहिले देशको विभिन्न अस्पतालमा उपचार भै रहेको छ ।

केही साता अगाडी उच्च जरो, रुघाँखोकीका साथै विरामीले सास फेर्न गारो भयो भने पछि गोरखा नगरपालिका लक्ष्मी बजार र सिरानचोक गाउँपालिकाको गाँखु क्षेत्रका आशंकीत बिरामीहरुको ¥याल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएकोमा आईतबार प्रयोगशालाले ५ जनाको ¥यालमा स्वाईन फ्लू एच.वान.एन.वान. भेटिएको पुष्टी गरेको जिल्ला जन स्वास्थ्य कार्यालय गोरखाका जन स्वास्थ्य प्रमुख केदारराज पराजुलीले टेलिफोन मार्फत जानकारी दिए ।

‘आशंकीत बिरामीको नमुना परिक्षणका लागि राजधानी पठाएका थियौ, सबै पोजेटीभ आयो’ भने जिल्ला स्वास्थ्य प्रमुख पराजुलीले । पराजुलीका अनुसार अहिले बिरामीहरुको उपचार भै रहेको र उनीहरुको स्वास्थ्य क्रमिक रुपमा सुधार आएको छ ।
अझै पनि जिल्लामा यस्ता बिरामी हुन सक्ने भन्दै केही दिन भित्रै सचेतना कार्यक्रम गर्ने तयारी कार्यालयले गरेको छ । यता संक्रमण फेला परे संगै जिल्ला पशु सेवा कार्यालयले प्रहरी संगको सहकार्यमा क्वारेन्टाइन चेकजाँचमा कडाई गरेको छ ।

कार्यालयले दिएको जानकारी अनुसार बिना दर्ता सञ्चालनमा आएको फार्मलाई कानूनी दायरामा ल्याउने र पशु पंक्षिबाट मानिसमा रोग सर्न नदिन तत्कालै कार्यक्रम ल्याउने तयारी भै रहेको जानकारी दिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय गोरखाले पनि केही बिरामीमा स्वाईन फ्लूको संक्रमण देखीएको भएता पनि नियन्त्रणमा आई सकेकोले सर्व साधारणहरुलाई नआत्तिन आग्रह गरेको छ ।



