साउन २४ गतेदेखि नै पहिरो खस्न सुरु गरेपनि शुक्रबार बिहान परेको अविरल बर्षासंगै पहिरो झर्ने क्रमः बढेपछि गाउँ जोखिममा परेको हो। स्थानीय सिद्धार्थ बनस्थली निमाबिका शिक्षक जीतबहादुर गुरुङका अनुसार सुनराम गुरुङ, बुद्धे लामा, पूर्णबहादुर लामाको घरमाथि पहिरो आइसकेको छ।
पहिरोको बीच भागबाट पानीको मुल फूटेपछि माटोसहितको लेदोले गाउँलाई थप जोखिममा पु¥याएको हो। गाउँदेखि करिब दुई सय ५० मिटर माथिको डाँडाबाट पहिरो झरिरहेको छ। पहिरोसंगै ठूला ढुङ्गा पनि झरेकाले श्यामचेतका १५० भन्दा बढी घर उच्च जोखिममा रहेका छन्।
भूकम्पले चिराचिरा बनाएको पुल्चोङडाँडा पानी बर्सिएपछि भासिएको हो। गुरुङले टेलिफोन कुराकानीका क्रममाः भने, ‘ठूलो पहिरो घर नजिकै आएपछि गाउँलेहरुलाई सिद्धार्थ बनस्थली स्कूलको चौर र आसपासका घरमा पठाएका छौँ। बृद्धबृद्धा, अशक्त, घरपालुवा पशुपंक्षी र तत्काल खान मिल्ने अन्न सुरक्षित ठाउँमा सारेका छौं।’ पहिरोले उच्च जोखिममा पारेको छ वटा भन्दा बढी घरबाट भने अन्नपात झिक्न सकिएको छैन।
पहिरो झरेको स्थान पुगेका वडा सदस्य आशबहादुर गुरुङले निरन्तर पहिरो झरिरहेको भन्दै गाउँलेहरुलाई सुरक्षित ठाउँमा सारिएको बताए। गाउँमाथि पहिरो आएपछि मानबिय क्षति नहोस् भन्दै गाउँलेहरुका साथै पशुचौपायालाई सुरक्षित ठाउँ तथा नजिकका गाउँमा सारेको गुरुङको भनाइ छ। अहिले पानी पर्न रोकिएको भएपनि रातमा फेरि पानी परेपछि पहिरो थप हुने त्राश स्थानीयबासिन्दालाई छ।
घटनास्थलमा पुगेका प्रहरी चौकी मान्वुका असई रेखबहादुर थापाले पहिरोबाट थप क्षति हुन नदिन गाउँलेलाई सुरक्षित ठाउँमा सार्नुपरेको बताए। उनले थपे, ‘अहिले पानी पर्न छाडेको छ। पानी पर्न रोकिएको खण्डमा पहिरो बढ्न पाउँदैन । पानी प¥यो भने घरहरु बगाउन सक्छ।’
आरुघाट गाउँपालिका प्रमुख पूर्णबहादुर दाहालले पहिरोको जोखिममा रहेका गाउँलेहरुलाई छिमेकीका घरमा राखिएको भन्दै आवश्यक परेका खण्डमा त्रिपाललगायतका सामग्रीहरुको ब्यबस्थापन जिल्ला दैवीप्रकोप उद्धार समितिसंगको समन्वयमा पठाइने बताए।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पहिरो गएको स्थानमा प्रहरीहरु परिचालन गरेर स्थानीयबासिन्दालाई सुरक्षित ठाउँमा पठाएको बताउँदै पहिरोले बस्तीलाई बस्नै नहुने गरी जोखिम पुरयायो भने सुरक्षित ठाउँ पहिचान गरी बस्ती नै स्थानान्तरण गर्ने तयारीमा जिल्ला दैवी प्रकोप उद्धार समितिले पहल गर्ने बताए।
भूकम्पपछि ऋण तथा दुःखजेलो गरी बनाएको टहरो तथा घरहरु पनि पहिरोको जोखिममा परेपछि गाउँलेहरु थप चिन्तित भएका छन् भने पहिरोले खेतियोग्य जमिन पुरेको, बगाएको भन्दै स्थानीय किसानहरु चिन्तामा छन्। केरौंजा, काशीगाउँ, मान्वु, उहियालगायत क्षेत्रमा बर्खामा मात्रै होइन हिउँदमा पनि सुख्खा पहिरो खसेर दुःख दिने गरेको छ।
nepalkhabar


