- दशै पछि शुरु गर्ने धेरैको योजना
नरेन्द्र ढकाल/गोरखा
साउन २६ गते । भूकम्प गएको २ वर्ष बितिसक्दा समेत केन्द्रबिन्दु जिल्ला गोरखाको पुर्नःनिर्माणले गति लिन सकेको छैन् । झनै बर्खा लागेपछि अधिकाशं पिडितहरुले घर बनाउने काम रोकेर बसेका छन् । ‘बर्खामा पानीले काम गर्न सकिदैन्, फेरी खेतिपाती पनि लगाउनु परिहाल्यो’ सुलिकोट गाउँपालिका ३ स्वाँराकी गोथी गुरुङले भनिन् । वर्खा लागे सँगै घर निर्माणका लागि चाहिने सामाग्री ढुवानी गर्न समस्या भएपछि उनले घर नबनाएकी हुन् । प्रयाप्त रकम र काम गर्ने मान्छेको अभावका कारण घर बनाउन नसकेको गुरुङले बताईन । ८ सय ५७ जनाले पहिलो किस्ता रकम बुझेका त्यहाँ १ सय ९ घर दोश्रो किस्ताका लागि सिफारिमा परेका छन् । ३ सय घर बनिसकेको स्वाँरामा एक घरले पनि तेश्रो किस्ताको रकम पाएका छैनन् ।
यता भिमसेन गाउँपालिका वडा नम्बर ६ अश्राङका सफि मियाँले पनि घर बनाएका छैनन् । ‘घर बनाउने तयारी गर्दागर्दै बर्खा लागि हाल्यो, सामान केही ल्याउन पाएको छैन्’ मियाँले भने । बर्खा सुरु भए सँगै जिल्लाका अधिकाशं ग्रामिण सडक ठप्प हुँदा पिडितलाई घर बनाउन समस्या भएको हो । सवारी नचलेपछि निर्माण सामाग्री ढुवानी गर्न समस्या भएको उनीहरुको भनाई छ । ‘ढुङ्गा माटोको घर बर्खा बनाउन मिलेन, पानीले गाह्रो भिजाए पछि लढिहाल्छ, अब दशै पछि शुरु गर्ने बिचार छ’ सिराचोक गाउँपालिका वडा २ का धने गुरुङले भने । बर्खा अघि निर्माण थालेकाहरुले पनि अहिले काम रोकेर बसेका छन् ।
बर्खा सकिएर गाउँमा सवारी पुगे पछि निर्माण सामाग्री लगेर घर बनाउने धेरैको योजना छ । ‘डिपिसी गरेर राखेको छु, अरु काम बर्खा सकिए पछि नै सुरु गर्नुपर्ला’ आरुघाट गाउँपालिका सन्तमान श्रेष्ठले भने । अधिकाशं ठाउँका भुकम्प पिडितहरुले बर्खा लागेसँगै पुर्नःनिर्माणको काम स्थगित गरेर बसेका छन् । ढुङ्गा माटो बाट बनाउने घर बर्षामा बनाउन नमिल्ने डकर्मीहरु बताउँछन् । ‘पानीले गाह्रो जोगाउन सकिएन भने लडिहाल्छ, त्यसैले पनि बर्खामा ढुङ्गा माटोको घर बनाउन मिल्दैन’ घर बनाउने काम गर्दै आएका सिरानचोक ३ का सूर्य बहादुर ढकालले भने । आरसीसी घर भने बर्खामा बनाउँदा राम्रो हुने विश्वास छ ।
त्यसैले शहर केन्द्रित ठाउँमा भने आरसीसी प्रकृतिका घरहरु बनिरहेका छन् । ‘ढलान गरेपछि पानी प¥यो भने राम्रो सँग भिज्छ, जति भिज्यो त्यति घर बलियो हुन्छ’ जिल्ला सदरमुकाममा घर बनाउने काम गरिरहेका ठकर्मी सञ्जय गुप्ताले भने । शहरी क्षेत्रमा घर बनाउने काम जारी रहेपनि भुकम्प प्रभावित बस्तीहरुमा पुर्नःनिर्माणको काम प्रभावित भएको राष्ट्रिय पुर्नःनिर्माण प्राधिकरणले स्वीकार गरेको छ । ‘अहिले त काम प्रभावित नै भएको छ, बर्खा सकिए लगतै काम सुरु गर्छु भन्ने प्रतिबद्धता धेरैले गर्नुभएको छ’ प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र कार्कीले भने ।
धेरै भूकम्प पिडितले दशै पछि मात्र घर बनाउने योजना बनाएको भन्दै कार्कीले त्यसो नर्गन आग्रह गरेका छन् । ‘अहिले वर्खा छ त्यसपछि चाडपर्व आउँछ अनि जाडो सिजन सुरु हुन्छ, भाका राख्ने काम नगर्नुस् घर बनाउने प्रतिवद्धता गर्नुस् भन्ने हाम्रो आग्रह हो’ उनले भने । प्राधिकरणले गाउँमा खटिएका इन्जिनियर, जनप्रतिनिधिहरु र आफै पनि पुगेर उक्त सन्देश गाउँ/गाउँमा पुरयाईरहेको कार्कीले दाबी गरे ।
भूकम्प गएको ३० महिना हुन लाग्दा समेत अधिकाशं पिडित घर बनाएका छैन् । ४४ हजार भन्दा बढिले पहिलो किस्ता बुझेको गोरखामा जम्मा ८ हजार पिडितले मात्र दोश्रो किस्ता माग गरेका छन् । घर निर्माण सम्पन्न गरी तेश्रो किस्ता माग गर्नेको संख्या जम्मा १ हजार मात्र रहेको कार्कीले बताए । ‘तथ्याङ्क हेर्दा यो निकै न्यून हो, बर्खा सकिए पछि यो संख्या बढेर जान्छ भन्ने हाम्रो अपेक्षा छ’ उनले भने । भूकम्प गएको लामो समय भईसक्दा समेत पिडितले अनेक बाहना बाजी गर्दै घर बनाएका छैन् । उनीहरुले तेश्रो बर्खा टहरामा बिताईरहेका छन् । सरकारले १ वर्षको समय सिमा तोकेर छिटो घर बनाउन पिडितलाई आग्रह गरेको छ । अन्यथा अनुदान बुझेकाहरुको रकम जपथ गर्ने चेतावनी समेत आईसकेको छ ।




















