मोहसिन अलि मियाँ/गोरखा
साउन २६ गते । यो बर्ष गोरखाबाट हज गर्नका लागि १३ जना जाने भएका छन् । सदा झै यस बर्ष पनि इस्लाम धर्मावलम्बीहरु हज गर्न साउदी अरेबियाको मक्का र मदिना जान लागेका हुन् । इस्लामको पाँच आधार स्तम्भ मध्येको एक आधार स्तम्भ हज पनि भएको मुस्लिम समुदायका अगुवाहरुले बताए । 
यस बर्ष जिल्लाबाट हजमा जाने १३ जना सबै राजधानी गइसकेका छन् । हज जाने हज यात्रीहरुमा हर्मी ७ का सफि मोहम्मद मियाँ, अश्राङ १ का जुम्मदिन मियाँ, मरिमा विवि, गोरखा नगरपालिका ४ फिनामका इस्माइल दिन मियाँ, जोहोरा बिबि, अब्दुल मियाँ, बिस मियाँ, सबुनी मियाँ रहेको जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी दिएको छ । त्यस्तै ताप्ले १ की कसिरन विवि, ताप्ले ४ की रञ्जानी बिबि, मोहम्मद यासिन मियाँ, हलिमा बिबि र हर्मी १ का जोहोरदिन मियाँ भएको कार्यालयका हरीहर श्रेष्ठले जनाएका छन् । यस मध्ये ७ जना पुरुष छन् भने ६ जना महिला रहेका छन् ।

गत चैतमा गृह मन्त्रालयले सुचना जारी गर्दै हज गर्न जानेको आवेदन माग गरिएको थियो । यो बर्ष हज गर्न जाने हजयात्रीलाई प्रति ब्यक्ति १ लाख ९० हजार रकम तोकिएको केन्द्रिय हज कमिटीका अध्यक्ष मोहम्मद शोएवले जानकारी दिए । यो रकम हजयात्रीलाई आउन जान लाग्ने हवाइजहाज भाडा, आवस्यक सामाग्री खरिद गर्न, तथा मक्का र मदिनामा ब्यवस्थापनमा खर्च हुने अध्यक्ष शोएवको भनाई छ ।
करिब ४५ दिनसम्म उनिहरु साउदीको मक्का र मदिना रहने बताइएको छ । हजयात्रीहरुको पहिलो उडान आज हुने र गोरखाका हज यात्रीहरु आजै त्यसतर्फ प्रस्थान गर्ने तालिका रहेको हज कमिटीले जनाएको छ । यस बर्ष नेपालबाट १ हजार २ सय हजयात्री मक्का जादैछन् ।


