नरेन्द्र ढकाल/गोरखा
साउन २२ गते । अजिरकोट गाउँपालिका वडा नम्बर ३ हंसपुरमा एक योजनामा परेको बजेट अर्कै ठाउँमा खर्च गरिएको छ । जिल्ला समन्वय समितिले वातावरण मैत्री कार्यक्रम मार्फत साबिकको हंसपुर गाबिस वडा ४ र ५ मा रहेको मान्द्रे सामुदायिक वनमा अलैची खेतिका गर्न, तालिम तथा विरुवा वितरण कार्यक्रमका लागि २ लाख ५० हजार बजेट बिनियोजन गरेको थियो । ‘हंसपुरका बासुदेव दवाडी र देवी अधिकारीले धेरै पटक आएर अलैची खेतिका लागि कार्यक्रम माग गर्नुभयो, हामीले उहाँहरुको लागि नै उक्त कार्यक्रम बनाएका हौ’ स्थानिय बिकास अधिकारी नारायण आर्चायले भने ।
उक्त कार्यक्रम साबिकको हंसपुर गाविसको वडा नम्बर ३ का मुक्ति बहादुर बिकले एक समिति बनाएर सम्झौता गरेर रकम लगेको अन्यले आरोप लगाएका छन् ।‘हाम्रा लागि आएको कार्यक्रम उहाँले लैजानु भएछ, हामी त अन्यायमा परेयौं’मान्द्रे सामुदायिक वनका अध्यक्ष कृष्ण बहादुर ढुंगानाले गोरखा समाचारसँग भने । बिकले आफ्नो अध्यक्षतामा एक उपभोक्ता समिति गठन गरेर जिल्ला समन्वय समितिमा योजना सम्झौता गरेका छन् । उक्त समितिमा छिमेकी विष्णुचन्द्र अधिकारी सचिव र बिककी कान्छी बुहारी बिनिता उपरकोटी कोषाध्यक्ष रहेकी छिन् ।‘त्यो कार्यक्रम हाम्रै लागि परेको हो मैले अन्त परेको कार्यक्रम लगेको होइन’ उपभोक्ता समितिका अध्यक्ष बिकले भने । तर ४ र ५ का स्थानीयले भने उक्त कुराको खण्डन गरेका छन् । ‘योजनाको सिलिङमा हाम्रो नाम छ, उहाँहरुलाई कसरी कार्यक्रम दिन मिल्छ यहाँ कार्यालय र मुक्ति बिकको मिलेमोतो छ’ मान्द्रे सामुदायिक वनका अध्यक्ष ढुंगानाले भने ।
यता स्थानिय विकास अधिकारी नारायण आर्चायले पनि उक्त कार्यक्रम मान्द्रे सामुदायिक वनकै लागि बनाईएको बताएका छन् । गोरखा समाचारसँग कुराकानी गर्दै आर्चायले भन्छन् ‘वनका उपभोक्ताहरुको निवेदनका आधारमा हामीले उक्त कार्यक्रम बनाएका हौं, कसरी त्यस्तो हुन गयो म पनि छक्क परेको छु ।’ समन्वय समितिले वातावरण विद् खड्ग रोकायालाई उक्त कार्याक्रमको जिम्मेवारी लगाएको बताएको छ । ‘उहाँ नै त्यो कार्यक्रमको फोकल पर्सन हो, फिल्डमा पनि उहाँ नै जानुभएको छ, वास्तबिकता उहाँलाई थाहा छ’ आर्चायले भने ।
यता वातावरणविद् रोकायले भने आफूले हंसपुरको मानिसहरु नचिनेकाले समस्या भएको स्वीकार गरेका छन् ।‘मैले हंसपुरको कोही चिनेको थिईन उहाँहरु हामी नै हो भनेर कागजपत्र सहित आउँनुभयो’ रोकायाले भने । बिक नेतृत्वको समिति सँग सम्झौता भएकी दिन ढुंगाना नेतृत्वको समिति पनि कार्यालयमा आईपुगेको कर्मचारीहरुले बताएका छन् । बिकले सामुदायिक वनमा सामुहिक खेतिका लागि छुट्याएको बजेट आफू अनुकलका मानिसहरुको समिति बनाएर सरकारी रकम दुरुपयोग गरेको स्थानिय दिनेश अधिकारीले बताए । ‘यसमा दुबै पक्षको मिलेमतो छ, बजेट सक्न मात्र कार्यक्रम भएको छ’ उनले भने ।
बिकले वडा अध्यक्ष तयाराज गुरुङको सिफारिसमा काम सकेर भुक्तानीका लागि माग गरका थिए । वातावरण विद् रोकायाले स्थलगत अनुगमन गरी विरुवा वितरण गरेको बताएका छन् । ‘म पनि गएको थिए, बिरुवा बाँडेको हेरेर आएको हुँ’ रोकायले भने । अहिले बिकले आगामी वर्ष यस्तो कार्याक्रम फेरी पर्ने भन्दै यस वर्ष विवाद नगर्न आग्रह गरेको स्थानीयहरुले बताएका छन् ।
५ रुपयाँको विरुवा ८ रुपयाँको बिल
अजिरकोट गाउँपालिका वडा नम्बर ३ हंसपुरमा अलैची खेति बिस्तार कार्यक्रम गर्दा अनियमिता देखिएको छ । ५ रुपयाँमा किनिएको अलैचीको विरुवा ८ रुपयाँको बिल बनाएर पेश गरिएको पाईएको छ । स्थानिय मुक्ति बहादुर बिकको अध्यक्षतामा रहेका एक उपभोक्ता समितिले सोही ठाउँका नर्सरीहरुबाट ५ रुपयाँमा २२ हजार ७०० विरुवा किनेर ८ रुपयाँको बिल बनाई जिससमा पेश गरेको हो ।‘मैले ५ रुपयाँमा विरुवा बिचेको हुँ मेरो नर्सरी बाट मात्र १० हजार विरुवा लगिएको छ’ अलैची व्यवसायी महासघंका जिल्ला सचिव समेत रहेका अलैची कृषक कृष्णजंग घिमिरेले भने ।
उक्त विरुवा किन्दा झण्डै ६८ हजार १०० रुपयाँ अनियमिता भएको देखिएको छ । धेरै जनाको नर्सरी बाट बिरुवा किनेका बिकले लक्ष्मी अलैची तथा बहुउदेश्यि नर्सरीबाट बिल बनाएर जिससमा पेश गरेका छन् ।
साबिक जिल्ला बिकास समितिले हंसपुर गाबिस वडा नम्बर ४ र ५ मा रहेको मान्द्रे सामुदायिक वनमा सामुहिक अलैची खेतिका लागि २ लाख ५० हजार रकम बजेट विनियोजन गरेको थियो । कार्याक्रम सम्पन्न गरेर समितिले भुक्तानी मागे पछि मुल्याङ्कनका आधारमा जिससले १ लाख ८८ हजार ८९० रुपयाँ भुक्तानी दिएको छ । समितिले जिससमा पेस गरेको कागजपत्रमा खाना,खाजा, बेर्नाको मुठा पारेको ज्याला, कापी कलम किनेको, फोटोकपी गरेको र्शीषक पनि बिल पेस गरेको छ ।
तर त्यहाँ कुनै पनि किसानले अलैचीको बिरुवाको मुठा पारेको पारिश्रमिक नपाएको बताएका छन् । किसानले आफैले विरुवा उखेलेर मुठा पारी बाकेर तोकिएको स्थान सम्म लगिदिएको बिरुवा बेचेका स्थानिय दिनेश अधिकारी दाबी गरे ‘उनीहरुले भनेको ठाउँ सम्म हामीले नै बिरुवा लगिदिएको हो, ज्याला पनि पाएको छैन्, यदी हामी सँग ५ रुपयाँमा किनिएको विरुवा ८ को बिल बनाईएको छ भने हामीलेथप पैसा पाउनुपर्छ ।’ बिकले अन्तै परेको कार्यक्रम कर्मचारीसँग मिलेर आफ्नो ठाउँमा लगी रकम अपचलन गरेको उनको आरोप छ ।
यता बिकले गोरखा समाचारसँग कुराकानी गर्दै यदि उक्त कुरा प्रमाणित गर्न सके आफू सजायको भोग्न तयार रहेका दाबी गरे‘मैले केही अनियमिता गरेको छैन्, यदि कसैले प्रमाणित गर्न सक्नुहुन्छ भने म त्यसको सामना गर्न तयार छु ।’ माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका बिकले अन्तै परेको बजेट आफू निकटका व्यक्तिको समिति बनाएर सरकारी रकमको दुरुपयोग गरेको भन्दै आलोचना समेत भएको छ ।


