सस्मीता पन्त/गोरखा
साउन १० गते ।जिल्ला निर्वाचन कार्यालयमा सोमबार सम्म ८ सय ७५ जनाले फोटो सहितको मतदाता नामाबलीमा नाम लेखाएका छन् । अब हुने प्रदेश तथा केन्द्रिय तहको निर्वाचनलाई लक्षित गर्दै सुरु गरिएको मतादाता नामावलीमा नाम लेखाउनेको संख्या निकै कम रहेको देखिएको छ । १० देखि १५ हजार मानिसको नाम थप हुने निर्वाचन कार्यालयको लक्ष्य भए पनि अहिले सम्म जम्म १ हजार मानिसले नाम लेखाउन नआएको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर मोहन प्रसाद भट्टराईले बताए । ‘अब हुने निर्वाचनलाई लक्षित गरी नामावलीमा नाम लेखाउने काम सुरु गरिएको हो’ उनले भने ।
नामावली दर्ता गराउनेहरु मध्ये ५ सय २४ जना पुरुष र ३ सय ५१ जना महिला रहेका छन । जिल्ला सदरमुकामको हकमा अर्को कुनै पनि नयाँ निर्वाचनको घोषणा नहुदाँ सम्म यो कार्य जारी रहने र जिल्लाको अन्य १० स्थानमा पनि साउन १६ गते देखी साउन ३२ गते सम्म फोटो सहितको नामावली संकलनका लागि टोली खटाउने भएको जिल्ला निर्वाचन अधिकृत राजेन्द्र प्रसाद पोखरेलले बताए । ‘सदरमुकाममा आउन नसक्नेहरुका लागि लक्षित गर्दै गाउँमा पनि टोली पठाउने तयारी गरेका छौ’ पोखरेले भने ।
गोरखा नगरपालिकाको लागि जिल्ला निर्वाचन कार्यालयमा नामावली संकलन कार्य हुनेछ भने पालुङ्गटार नगरपालिका सहित ९ गाउँपालिकाको केन्द्रमा टोली पठाएर नामावली संकलन गर्ने कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रशासन गर्ने नागरिकता वितरण सँगै फोटो सहितको नामावली संकलन भइरहेको निर्वाचन कार्यालयले बताएको छ ।


