नरेन्द्र ढकाल/गोरखा
साउन १० गते । जिल्लाका कार्यालय प्रमुख र नवनिर्वाचित जनप्रतिनिधि बीच सोमबार दिनभर जुवारी चल्यो । सरकारी अड्डाहरुले गत आर्थिक वर्षमा गरेका काम र आगामी वर्ष गर्ने योजना बारे जनप्रतिनिधिहरुलाई जानकारी गराउने उदेश्यले आयोजना गरिएको छलफल कार्यक्रममा सहभागी अधिकाशं जनप्रतिनिधिले सरकारी कार्यालयको काम प्रति आक्रोश पोखे । ‘गाउँमा बाटो छैन, बिजुली छैन जिल्ला आको पैसा सधै फिर्ता जान्छ, यहाँ जनप्रतिनिधिले केही गर्न नसकेको जस्तो भएको छ’ गोरखा नगरपालिकाका मेयर राजन राज पन्तले भने ।
९ वटै स्थानिय तहका प्रमुख एवं उपप्रमुखहरुको उपस्थिति रहेको उक्त कार्यक्रम जिल्लाका अधिकाशं सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि सहभागी थिए । ११ किलो छेवेटार भालुस्वाँरा वारपाक सडक आयोजना, शहरी बिकास भवन डिभिजन कार्यालय,नेपाल विद्युत प्राधिकरण वितरण शाखा गोरखा, जिल्ला समन्वय समिति लगायतका कार्यालयहरुका प्रमुखहरु जनप्रतिनिधिको तारोमा परे । ‘भूकम्प पिडितको घर बनेको छैन, गाउँमा इन्जिनियर छैन् जनताले हामीलाई घेरा हालिरहन्छन् के जवाफ दिने ?’ आरुघाट गाउँपालिकाका अध्यक्ष पुर्ण बहादुर दाहालले भने ।
स्थानीय तहका प्रमुख र उपप्रमुखले कर्मचारीको कार्यशैली प्रति तिव्र असन्तुष्टि जनाएका छन् । कार्यालय प्रमुखहरुले आफ्ना कर्मचारीलाई काममा लगाउन नसकेको उनीहरुको आरोप छ । ‘गाउँमा एम्बुलेन्स सम्म चलाउन सक्ने अबस्था छैन्, कार्यालयले न ठेकेदारलाई काम लगाउन सक्छ, न आफ्ना प्राविधिक इन्जिनियरलाई गाउँ पठाएर उनीहरुको काम बारे जानकारी लिन्छ’ सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्टले भने ।
जिल्ला समन्वय समितिमा आयोजित गाउँ÷नगरका प्रमुख, उपप्रमुख बिचको छलफलमा सहभागी जनप्रतिनिधीले कर्मचारीको कार्यशैली र बिकासे काम प्रति देखाएको उदाशिनता र हेलचेक्राईको खुलेरै आलोचना गरेका थिए । ‘नगर क्षेत्रमै गाडी चलाउने अवस्था छैन, गाउँको के हालत होला ? पालुङटार नगरपालिका मेयर दिपक बाबु कंडेलले भने ।
सडक कार्यालय, जिल्ला समन्वय समिति, स्थानिय तह, जिल्लामा सञ्चालित यातायात व्यवसायी समिति र हाल काम भईरहेका योजना÷आयोजनाका ठेकेदार सबै बसेर तत्काल सडक सुचार गर्न उनीहरुले सुझाब दिएका छन् । ‘जसरी भए पनि गाउँपालिकाको केन्द्र सम्म भए पनि गाडी चल्नु पर्छ यस विषयमा सरोकारवाला सबै बसेर निकास खोजौं’ सिरानचोक गाउँपालिकाका प्रमुख राजु गुरुङले भने । जिल्लामा विद्युत प्रशारण नियमित नहुँदा पुर्ननिर्माणको काम प्रभावित भएको भन्दै गुरुङले उक्त कुराको व्यवस्थापनमा ध्यान दिन माग गरे । ‘बत्ति आउने जाने समस्याले सबै काम रोकिएको छ, कार्यालयलाई जति पटक जानकारी गराए पनि मर्मतमा चासो दिदैन’ गुरुङले भने ।
स्थानिय तह निर्माण भए सँगै कर्मचारीहरुले गाउँमा गएर सेवा दिनुपर्ने भए पनि हाजिर मात्र गराउने काम भएको भिमसेन गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेको आरोप छ । ‘कर्मचारीहरुले कहाँ के काम गर्नुहुन्छ हामीलाई थाहा छैन, हाजिर गराएर जागिर खुवाउने काम बन्द गरिनु पर्छ’ पाण्डेले भने । उक्त कार्यक्रम जनप्रतिनिधि हरुले कर्मचारी खटनपटन प्रभावकारी ढङ्गले गर्न सुझाव दिएका थिए । केन्द्रले पठाएको नीति नियम र जानकारीहरु जनप्रतिधिहरुलाई गराएर आपसी समन्वयमा काम गराउन कार्यलय प्रमुखहरुले भुमिका खेल्ने पर्ने उनीहरुले बताए ।
यता कार्यालय प्रमुखहरुले भने कर्मचारी व्यवस्थापनका लागि सक्रमणकालिन व्यवस्था रहेकाले जनप्रतिनिधिहरुले सोचे अनुसारको काम हुन नसकेको दाबी गरेका छन् । ‘माथि बाट आएको निर्देशन अनुसार काम गरेकै छौ, हामी त कर्मचारी, सरकारले जे भन्यो त्यही गर्ने हो’ एक कार्यालय प्रमुखले भने । उनीहरुले केही कर्मचारीका कारण सेवा प्रवाहमा कमी आएको भए यसलाई सक्रमणकालिन अवस्थाको रुपमा बुझेर जनप्रतिनीधिहरुले आवश्यक समन्वय गरिदिन माग गरेका थिए ।
कार्यक्रममा जिल्लाका सबै कार्यलयका प्रमुख एवं प्रतिनिधिहरुले आ–आफ्नो कार्यालयको वार्षिक प्रगति, आगमाी वर्षको कार्यक्रम र योजना अनि स्थानिय स्तरमा कर्मचारी पठाउनका लागि मन्त्रालयले दिएको निर्देशन एवं परिपत्रका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।


