कैलासबावु श्रेष्ठ/गोरखा
साउन ५ गते । मनास्लु पदमार्ग भ्रमण गर्नेको संख्या सत प्रतिशत बृद्वि भएको छ । मनास्लु हिमाल र सँगै रहेको पदमार्ग भएर घुम्ने जानेको संख्या अघिल्लो वर्षको तुलनागत आर्थिक वर्षमा दोब्बरले वृद्धि भएको मनास्लु क्षेत्र संरक्षण आयोजनाले एमक्यापले जानकारी दिएको छ । ‘भूकम्प पछि मनास्लु क्षेत्र जानेको संख्या घटेको थियो गतवर्ष त निकै उत्साहजनक रह्यो’ एमक्यापका बरिष्ठ प्रशासन सहायक सोम बहादुर गुरुङ्गले भने ।

आर्थिक बर्ष ०७२/०७३ मा २ हजार २८८ जना बिदेशी उक्त क्षेत्रको अबरोलकन गरेकोमा गत आर्थिक बर्षको जेष्ठ महिना भित्र मात्रै ५ हजार ७ सय १६ जनाले उत्त क्षेत्रको भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजनाले जानकारी दिएको छ । ‘अघिल्लो आर्थिक बर्षको तुलनामा गत वर्ष दोब्बर भन्दा बढिले उत्तरी गोरखाको भ्रमण गरेका छन’ गुरुङ्गले भने । यो तथ्याङ्क जेठ मसान्तसम्मको मात्र भएको एमक्यापले बताएको छ । असार महिनाको तथ्याङ्क सबै आएपछि उक्त संख्या अझ बढ्ने गुरुङले बताए । आयोजनाले दिएको जानकारी अनुसार गत आर्थिक बर्षको असोज देखि मंसिरसम्ममा ३ हजार १ सय ६२ जनाले मनास्लु सर्किटको यात्रा गरेका थिए भने मिनी सिजन मानिएको चैत्र र बैशाख महिनामा १ हजार ७ सय ६२ जनाले उक्त क्षेत्रको भ्रमण गरेका थिए । भूकम्पका कारण ठाउँठाउँमा गएको पहिरोले पदमार्ग भत्केपछि उक्त क्षेत्रमा जाने पर्यटक घटेका थिए ।

आयोजनाले दिएको जानकारी अनुसार २०७३ साउन महिनामा ३८ जना, भाद्र २८२ जना, असोजमा १,५५५ जना, कात्र्तिकमा १,३७१ जना र मंसिरमा २३६ जनाले उक्त क्षेत्रको भ्रमण गरेका थिए । त्यस्तै गरी पौषमा ४० जना, माघमा ३७ जना, फाल्गुणमा ३१२ जना, चैत्रमा १,२१९ जना र २०७४ साल बैशाखमा ५४३ जना र जेष्ठमा ८३ जनाले उक्त क्षेत्रको भ्रमण गरेका गुरुङले बताए ।
मौसम अनुसार उत्तरी गोरखामा जाने पर्यटकहरुको संख्या फरक हुने गर्छ । अंग्रेजी महिनाको सेप्टेम्बर देखि नोभेम्बरसम्म अर्थात नेपाली क्यालेण्डरको असोज, कात्र्तिक र मंसिर महिना उक्त क्षेत्र घुम्नका लागि उपर्युक्त मानिन्छ । ‘त्यो समयमा मौसम पनि सफा हुन्छ सबै कुरा आफ्नै आँखाले देख्न सकिन्छ त्यसकारण पनि अन्य महिनाको तुलनामा बढी पर्यटक आउने गर्छन’ एमक्यापका गुरुङ्गले बताए ।
असोज देखि मंसिरलाई पर्यटकको मुख्य सिजन मानिन्छ । तर पर्यटक भने अन्य बेलामा पनि आउने गरेको स्थानीयहरु बताउँछन् । आयोजनाका अनुसार मिनी सिजन भनेर चैत्र र बैशाख महिनालाई पनि लिने गरिएको छ । यो समयमा पनि उल्लेख्य मात्रमा पर्यटकहरु उत्तरी गोरखा आउने गर्छन् ।

मनास्लु क्षेत्र पुग्नका लागि सोती बजार देखि पैदल यात्रा गर्नुपर्छ । उत्तरी गोरखाको चुम भ्याली अर्थात साबिकको चुम्चेत र छेकम्पार लामो समय देखि अहिंसा क्षेत्र भएका कारण पर्यटक त्यहाँ जान लोभिने गरेको पर्यटन व्यवसायीको भनाई छ । नुब्री भ्यालीको प्रोकमा रहेको काल तालका साथै सामागाउँमा रहेको मनास्लु हिमाल र लार्केपास गरी मनाङ्ग जानेको संख्या सबैभन्दा धेरै छ । सरकारले संरक्षण क्षेत्र घोषणा गरी उक्त क्षेत्रको बिकासका लागि काम गरेको बताए पनि बाटो निर्माणमा चासो नदिदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको पर्यटन व्यवसायीहरु बताउँछन् ।
पर्यटकलाई लक्षित गरि त्यहाँ सुबिधा सम्पन्न होटलहरु खुल्नेक्रम जारी छ । सरकारले उत्तरी गोरखा हुँदै चिन जोड्ने सडक निर्माणको काम पनि थालेकाले भविष्यमा मनास्लु संरक्षण क्षेत्र सबैभन्दा महत्वपुर्ण पर्यटकिय गन्तब्य बन्ने विज्ञहरुको दाबी छ ।




















