कैलासबावु श्रेष्ठ/गोरखा
साउन ४ गते । उत्तरी गोरखाको चुम्चेत स्थित सर्दी खोलामा बनेको क्यान्टीलिभर पुल माथिबाट पहिरो खस्न थाले पछि त्यहाँको यात्रा जोखिमपुर्ण बनेको छ । बर्षा संगै पुल माथि डाडाँबाट ढुङ्गा तथा माटोहरु खस्न थाले पछि उक्त पुलमा यात्रा गर्न जोखिमपुर्ण भएको स्थानीयले बताएका छन् । ‘पानी पर्न थालेपछि पुलको माथिबाट ढुङ्गा र माटोको ढिस्का खस्न थालेको छ, हिड्न पनि डर भएको छ’ चुम्चेतका सेराप गुरुङ्गले भने ।

चुमनुब्री गाउँपालिका ६ साबिक चुम्चेत १ मा रहेको सर्दीखोलामा बिभिन्न परियोजना मार्फत स्थानीयले चट्टान खोपेर बाटो बनाएका थिए । २०७२ बैशाखमा गएको बिनाशकारी भूकम्प लगत्तैको बर्षामा आएको बाढीले उक्त बाटो पुरे पछि यात्रा गर्न त्यहाँ निकै समस्या भएको थियो । त्यसपछि डिएफआईडीको आर्थिक सहयोगमा केही महिना अघि मात्र उक्त पुला निर्माण भएको थियो । सो पुलको बार गत असार १७ गते माथिबाट खसेको ढुङ्गाले भत्काएको स्थानीयहरुले बताएका छन् । लगातार ढुङगा खसेपछि पुल पार गर्न निकै समस्या हुने गरेको उनीहरुको गुनासो छ । ‘कति बेला ढुङ्गाले लाग्छ थाहा छैन्, हामीलाई त पुल पार गर्न निकै गाह्रो भाको छ’ चुम्चेत लोक्पाका लोप्साङ लामाले भने ।
उत्तरी गोरखाका सर्वसाधरण सँगै मनास्लु पदमार्ग घुम्न आउने पर्यटक गरी दैनिक सय भन्दा बढि मानिस उक्त पुल भएर आउजाउ गर्ने गर्दछ । ‘लगातर पानी परिरहेको छ, माथि बाट ढुङ्गा खसि रहन्छ, कुन बेला दुखःद घटना हुने हो हामीलाई त त्यही चिन्ता छ’ लामाले भने । दैनिक जसो आउने पानीले पहरा माथिबाट खस्ने ढुङ्गा तथा माटोले क्यान्टी लिभर पुललाई क्षति पु¥याउन सक्ने संभावना उच्च रहेको स्थानिय बताउँछन् ।
बर्षेनी सर्दीखोलामा आउने बाढी र पहिरोले त्यहाँ बनेको अस्थायी संरचना भत्काउने तथा क्षति पु¥याउदै आएको छ । बिनाशकारी भूकम्पले सो क्षेत्रको यारु बगर र सर्दी खोलामा रहेको संरचनालाई ध्वस्त पारे पछि डिएफआईडीले स्थलगत अध्ययन गरी दुवै स्थानमा क्यान्टीलिभर पुल निर्माण गरिदिएको थियो । मनास्लु संरक्षण क्षेत्र आयोजना भित्र रहेको उक्त पुल लोक्पा देखि चुम्लीङ्ग हुदै छेकम्पार पुग्नका लागि प्रयोग गर्ने गरिन्छ ।




















