गोरखा समाचारदाता
साउन १ गते । स्थानिय स्तरका योजनालाई प्राथमिकता राख्दै सिरानचोक गाउँपालिकाले आर्थिक ०७४/०७५ नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । गाउँसभाको बैठकमा सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रीता देवकोटाले १ करोड ४० अनुमानित आय व्यय सहित बजेट सार्वजानिक गरेकी हुन् । जस अनुसार ११ लाख १६ हजार राजस्व, ८७ लाख गाउँपालिकाले पाउने अनुदान, १३ करोड ७५ लाख सरकारको शसर्त अनुदान , १६ करोड ३० लाख वित्तिय समानिकरणबाट प्राप्त गर्ने लक्ष्य राखिएको छ ।
गाउँसभाको बैठकमा बोल्दै अध्यक्ष गुरुङले वडा भेला मार्फत स्थानियले छनोट गरी पठाएका योजनाहरुलाई नै मुख्य प्राथमिकतामा राखिएको बताए ।‘हामीले बजेटका सिमाहरु निर्धारण गरेर अध्यक्षहरुलाई जिम्मा दियौं उहाँहरुले गाउँ÷गाउँमा छलफल गराएर ल्याउनु भएको कार्यक्रम नै बजेटमा परेका छन्’ गुरुङले भने । गाउँसभाले सबै ग्रामिण सडक स्तरउन्नतीको काम मुख्य प्राथमिकतामा राखेको छ । त्यसैगरी भूकम्प पछिको पुर्ननिमाण, कृषि,शिक्षा, स्वास्थ्य,जिबिकोपार्जन लगायतको कार्यक्रमहरु पनि बजेटमा राखिएको छ ।
यसैगरी गाउँपालिका क्षेत्रमा चक्रपथ निर्माण गर्ने, हाडबजार सञ्चालन गर्ने,करको दायरा बढाउने, आन्तरिक आम्दानिका क्षेत्रहरु पहिचान गरी गाउँपालिकालाई समृद्ध बनाउन खालका कार्यक्रमहरु सञ्चालन गर्ने बताईएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेस मुख्य सचेतक एवं पूर्व अर्थ राज्यमन्त्री चिनकाजी श्रेष्ठले स्थानिय तहहरु पाएको आधिकारको सदुपयोग गरी जनताको जिवनस्तर उकास्ने खालका काम गर्न सुझाव दिएका थिए ।‘हामी सधै यो भएन र ऊ भएन भनि रहन्छौ अब तपाइँहरु काम गर्ने स्थानमा आउनुभएको जनताका पक्षमा काम गर्नुस्’ श्रेष्ठले भने ।
गाउँसभा सानो खालको संसद भएकाले गाउँपालिका भित्रका सबै कुरा बैठकमा बहस र छलफल गरी काम गर्न पनि श्रेष्ठले आग्रह गरे । गाउँपालिकाका अध्यक्ष राजु गुरुङको अध्यक्षता तथा नेपाली कांग्रेसका मुख्य सचेतक एवं पुर्व अर्थराज्य मन्त्री श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला विकास समितिका पूर्व सभापति चन्द्रप्रसाद न्यौपाने, नेपाली काग्रेसका जिल्ला सचिव नन्द्रप्रसाद न्यौपाने,नेकपा एमालेका जिल्ला सदस्य चन्द्र भुजेल,नयाँ शक्ति पार्टी नेपालका ज्ञानप्रसाद ढकाल, मण्डली माविका प्रधानाध्यापक रुद्धनाथ पोखरेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रम पछि बसेको गाउँ सभाको बैठकमा राजस्वको सिमा र निति तथा कार्यक्रम बारे छलफल भई आवश्यक सुझाव सहित पेस गर्न वडा अध्यक्षहरु निदेर्शन दिईएको अध्यक्ष गुरुङले बताए ।




















