मोहसिन अलि मियाँ/गोरखा
असार २९ गते ।जिल्लाको बहुचर्चित दरौँदी लिफ्टिङ खानेपानी आयोजना बन्ने निश्चित भएको छ । केही समय यता चर्चामा रहेको सो आयोजनाको बुधबार जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, ठेकेदार कम्पनी पुदिरमन जेवी र दरौँदी गोरखा बृहत पम्पिङ खानेपानी तथा उपभोक्ता समिती विच निर्माणको त्रिपक्षीय सम्झौता भएको हो । ‘आयोजना निर्माणको बाटो खुलेको छ, आज हामी तिन पक्ष बसेर सम्झौता गरेका छौ’ जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय का प्रमुख रत्न लामिछानेले भने ।
लामो समय देखि सदरमुकाम वासीले भोग्दै आएको खानेपानी समस्या समाधान उदेश्यले दरौँदी नदिको पानी लिफ्टिङ गरी यहाँ ल्याउन लागिएको हो । ३७ करोड ३७ लाख ४ हजार ४२ रुपैया लागतमा बन्ने आयोजनाले गोरखा नगरपालिकाको झण्डै चार हजार भन्दा बढि घरपरिवारले उपयोग गर्ने सक्ने कार्यालयले जानकारी दिएको छ । ‘यो आयोजना बनेपछि सदरमुकामबासीलाई पिउने पानी कुनै समस्या नहुने हाम्रो विश्वास छ’ लामिछानेले भने । दरौदी लिफ्टिङ आयोजनाबाट सदरमुकाको बजार क्षेत्र सँगै घलाङ, नारेश्वर, उपल्लो फिनाम, सतिपिपल देखि आमडाँडाँ, आहाले, ठिगुँरे स्वाँरासम्मका जनताको घर÷घरमा सफा पिउने पानी पुग्ने कार्यालय प्रमुख लामिछानेको दाबी छ ।
दरौँदी किनारमा दुई वटा समप्वयल (इनार) निर्माण गर्ने र त्यसको दुई सय मिटर माथी पानी प्रशोधन केन्द्र बनाइनेछ । सतिपिपल नजिकै ६ सय घनमिटर क्षमताको ट्याङ्की निर्माण गरी अन्यत्र वितरण गर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै सो आयोजनाले बजारक्षेत्रमा ३० देखी ६ सय घन मिटरसम्मका २५ वटा ट्याङ्की निर्माण गरी पानी जम्मा गर्ने योजना बनाएको प्रमुख लामिछानेले बताए । हाल संचालनमा रहेका बजार क्षेत्रका अन्य आयोजनाको पानी पनि दरौदी लिफ्टिङको ट्याङ्कीमा पानी मिसाएर विरतरण गर्ने कार्यालयको तयारी छ । दरौंदी नदीबाट दैनिक २८ लाख लिटर पानी तानेर सदरमुकाममा वितरण गर्न लागेको सो आयोजना ५ लिफ्टको पम्पिङ सिस्टमको बन्नेछ । यस अघि सदरमुकाममा खानेपानी वितरण गर्दै आएको पृथ्वी नारायण साना सहरी खानेपानी आयोजना ३ लिफ्टको पम्पिङ सिस्टमको हो ।
दरौँदी नदीबाट ५ लिफ्टको पम्पिङबाट ल्याउदा पानीको महशुल हाल उपभोक्ताले तिरेको भन्दा पनि महंगो भने पर्न सक्ने दरौँदी गोरखा बृहत पम्पिङ खानेपानी तथा उपभोक्ता समितीका अध्यक्ष बद्रि बहादुर मास्के बताउछन् ‘अहिले ३ लिफ्ट मात्र हुदा त यति महंगो छ, यो त झनै ५ लिफ्टको बन्दैछ ।’हाल पृथ्वी नारायण साना सहरी खानेपानी आयोजनाको स्रोत दिगो र भरपर्दो नभएकाले दरौँदी लिफ्टिङको खानेपानी दिगो भने हुने मास्केले विश्वास व्यक्त गरे ।
यता निर्माण ठेक्का पारेको पुदिरमन जेवीले भने बर्खा र असार मसान्तको बेलामा सम्झौता भएकाले एक हप्तामै काम सुरु गर्न सहज नभएको बताएको छ । ‘बर्खा छ, त्यसमाथी असार मसान्त परेकाले काम सुरु हुन केही समय लाग्न सक्छ’निर्माण कम्पनीका पवन महतोले भने । छिटै विस्तृत अध्ययन गरी काम थाल्ने उनले बताए । त्यसका लागि इन्जिनियर प्राविधिकको टोली खटाउने तयारी भईरहेको महतोको भनाई छ । बढ्दो जनघनत्व संगै बजार क्षेत्रमा दिन प्रतिदिन खानेपानीको समस्या चुनौती बन्दै गए पछि सरकारकै लगानीमा दरौँदीको पानी सदरमुकाममा ल्याउने गरि बजेट विनियोजित भएको थियो । दरौँदीको पानी बजारमा ल्याउने तयारी भएसंगै सदरमुकामवासी उत्साहित भएका छन् ।
दरौदी लिफ्टिङ आयोजना निर्माणको लागि भयो त्रिपक्षिय सम्झौता
दरौदी लिफ्टिङ आयोजना निर्माणको लागि भयो त्रिपक्षिय सम्झौता
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















