मोहसिन अलि मियाँ/गोरखा
असार २८ गते । जब वर्खा लाग्छ जिल्लाका सबै कच्ची सडक ठप्प हुन्छन् । केही दिन यता जिल्लाका अधिकाशं सडकमा गाडी गुडेका छैनन् । वर्षायाम सुरु भए सँगै हरेक वर्ष गोरखा यात्रुलाई सवारी निकै समस्या हुने गर्छ । ‘म काठमाण्डौबाट हिजो आको, गाडी पाको छैन, आज एउटा जान्छ भनेका छन्, कतिबेला जाने हो’ शहिद लखन गाउँपालिकार–८ का ईश्वर मुडवरीले भने । सरकारले प्रत्येक बर्ष सडक निर्माण र मर्मत शिर्षकमा ठुलो रकम खर्च गर्ने गरे पनि त्यसले उपलब्धी दिन सकेको छैन । वर्खा सुरु हुने बित्तिकै पानी जम्ने, भत्किने र हिलो हुने जस्ता समस्याले अधिकांश सडकमा यातायात चल्न सकेको छैन । ‘बर्खामा गाडी चल्नै मुस्किल छ, बल्ल तल्ल १÷२ टा गयो भने पनि मान्छे जाने कि समान लैजाने ?’ बुंकोटका देव बहादुर श्रेष्ठको गुनासो गरे । यातायात नचल्दा सदरमुकामबाट गाउँ जान÷ आउन र दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न निक्कै समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।
सडकका लागि सरकारले बर्षेनी करोडौं बजेट खर्च गरे बालुवामा पानी हाले जस्तो भएको स्थानीयको आरोप छ । ‘सरकारले रोड बनाउन त्यत्रो पैसा खर्च गर्छ, ठेकदार र कर्मचारी मिलेर खान्छन्’ बुंकोटका श्रेष्ठले भने । यात्रा गर्न मात्र नभई सामान ढुवानी गर्न नपाउदा गाउँका ब्यवसाय समेत धराप परेको उनिहरुको भनाई छ ।
यातायात व्यवसायीहरुले पनि सडकको अवस्था सुधार गर्न पहल नगरेको कतिपयको आरोप छ । ‘उनीहरुलाई पैसा लिन पाए हुन्छ, रोडको यस्तो हरिबिजोग छ, यात्रुले यत्रो दुख पाका छन्, उसैले मर्मत गर्दा पनि त केही बिग्रन्न होला नि’ भिमसेन–५ खाञ्चोकका हरी वाग्लेले आक्रोश पोखे ।

यातायात ब्यवसायी समिती गोरखाका महासचिव सुरेन्द्र कुँवर भने सडक मर्मत गर्ने काम आफ्नो नभएको दाबी गरेका छन् । ‘हामीले सडक मर्मतकै लागि भनेर एक टिपको ३ सय रुपयाँ जिल्ला समन्वय समितीलाई तिर्छौै, तर वर्षेनी समस्या उस्तै छ’ उनले भने । पहिले साबिकको जिल्ला बिकास समिति, सडक र यातायात मिलेर सडक मर्मतको काम गर्ने गरिएको तर अहिले ठेकेदारलाई कामको जिम्मा दिदा समस्या भएको उनको आरोप छ । ‘हाम्रा काम गाडी चलाउनु हो, हामीले राज्यलाई कर पनि तिरे कै छौ, बाटो त उहाँहरुले बनाउनु प¥यो नी ’ महासचिव कुँवरले भने ।
यता जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला होमनाथ पौडेलले सडकको गुणस्तर राम्रो नभएका कारण समस्या भएको दाबी गरेका छन् । ‘हाम्रा सडकहरु स्तरउन्नती भएका छैनन्, स्तरउन्नती नभए सम्म वर्खामा हिलो हुन्छ ।’ जिल्ला थुप्रै कच्चि सडक भएकाले मर्मतका लागि जिल्ला समन्वय समितिले बजेट बिनियजन गर्न नसकेको उनको दाबी छ । मर्मत शीर्षकमा बजेट नभए पछि सडकको अबस्था दयनिय बन्दै गएको हो । ‘मर्मतका लागि रकम छुट्याउन सकेनौं, वर्खामा गाडी चलाउँदा सडक झनै बिग्रिएको छ’ पौडेलले भने । वर्खामा मालबाहक सवारी साधन बढि चलाउँदा पनि समस्या भएको कतिपयको आरोप छ । कच्ची सडकमा नाली व्यवस्थापन र कलबट राख्न नसक्दा पनि वर्षेनी सडक भत्किएको पौडेलले बताए । कच्ची सवारी सञ्चालन नभए पछि अहिले गोरखाका विभिन्न गाउँमा आउँजाउमा निकै समस्या भएको छ । अहिले हिउँदमा गाडी पुगेको अधिकाशं सडकमा गन्तव्य सम्म कहीँ पनि सवारी सञ्चालन नभएको यात्रुहरुले बताएका छन् ।


