कैलासबावु श्रेष्ठ/गोरखा
असार २५ गते । गोरखा सदरमुकाम बाट काठमाण्डौं तर्फ जादै गरेको पृथ्वी राज मार्ग बस सञ्चालक समितिको एक माईक्रो आईबार दिउसो गोरखा नगरपालिकाको वडा नम्बर १२ को नौ किलो भन्ने स्थानमा दुरघटनामा परेको छ । माईक्रोमा सवार सबै यात्रु भने सकुशल रहेका छन ।

गोरखा सदरमुकामबाट राजधानीको लागि यात्रु लिएर गएको ग.१ ज ५८७१ नम्बरको माईक्रो दिउसो ४ः३० बजेको समयमा दुरघटनामा परेको थियो । नौ किलोमा रहेको पेट्रोल पम्पमा तेल हालेर मुख्य सड्कमा आउने क्रममा बिपरीत दिशाबाट मोटर साईकल आएको देखे पछि चालकले नियन्त्रण गुमाउदा दुरघटना भएको थियो ।

सड्क सिमामा रहेको सजिवन घारीलाई तोडेर माईक्रो माकै बारीमा पुगेको छ । माईक्रोका चालकले भने मुख्य सड्कमा निस्कने क्रममा ब्रेक नलागे पछि दुरघटना भएको बताए । दुरघटना स्थलमा एकै छिनमा वरपरका गाउँबाट मानिसहरुको ठुलो समूह जम्मा भएका थिए ।

आईतबार मात्रै सोही क्षेत्रमा ट्रकले माईक्रोलाई ठक्कर दिदाँ १४ जना घाईते भएका थिए ।





















