, बारपाक (गोरखा)
असार २२, २०७४- अस्थायी टहरामा बसेका भूकम्पपीडितहरू बर्खा लागेसँगै चिन्तित हुन थालेका छन् । पुनर्निर्माणमा सरकारले चासो नदिँदा विगतका दुईटा वर्षाकै हालत योपल्ट पनि उनीहरूले सहनुपर्ने भएको छ । जाडोको चिसो, गर्मीको झरी सहेर टहरोमा बस्ने बानी भइसक्यो,’ सुलिकोट गाउँपालिका ४ की मालथानी गुरुङले भनिन् । सरकारी अनुदानको ५० हजार पाएपछि बनाउन थालेको उनको घर अझै बस्न हुने गरी पूरा भएको छैन ।
अनुदान लिने सरकारी मापदण्डमा जटिलता हुँदा दोस्रो किस्ताको रकम लिएर घर निर्माणलाई तीव्रता दिन नसकेको सुलिकोट ७ का नरबहादुर गुरुङले बताए । ‘सरकारी डिजाइनअनुसार घर बनाउनै मुस्किल छ,’ उनले भने, ‘दोस्रो, तेस्रो किस्ताको अनुदान पाइँदैन कि भनेर पीडितले घर बनाउनै ढिला गरेका छन् ।’
भूकम्पको केन्द्रविन्दु बारपाकमा समेत निजी घर पुनर्निर्माण सुस्त छ । बारपाकका १ हजार ३ सय १ लाभग्राहीमध्ये १ हजार २ सय ९४ घरपरिवारले पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएका थिए । तीमध्ये अहिलेसम्म ३८ घरले मात्रै दोस्रो किस्ताको रकम पाउनयोग्य रहेको इन्जिनियर सुरेशचन्द्र पोखरेलले बताए ।
बारपाकमा करिब ५ सय ५० घर निर्माणाधीन अवस्थामा रहेको अनुमान छ । जिल्लाभर ५२ हजार भूकम्पपीडितले पहिलो किस्ताको रकम लिए पनि ७ हजार जति मात्रै दोस्रो किस्ता पाउन योग्य ठहर भएका छन् । सरकारले बनाएका १७ प्रकारका नक्सामध्ये बारपाकमा निर्माणाधीन घरहरूसँग एउटै मिल्दोजुल्दो नरहेको स्थानीय सुकबहादुर विकले बताए । ‘घरहरू धेरै बनेका छन्, सरकारले डिजाइनमा गरेको कडाइ फुकुवा गरे दोस्रो किस्ता लिएर धेरै घर बन्न थाल्छन्,’ उनले भने, ‘पहिलो किस्ताले बनाउन थालिएका घरहरू पास नभएपछि पीडितहरू अलमलमा परेर पुनर्निर्माणको कामै रोकिएको हो ।’
बारपाककै दलित बस्ती, मान्द्रे, कोजे र स्थान, धार्चे गाउँपालिकास्थित केरौंजाका विस्थापित पनि टहरामै छन् । उनीहरूले अनुदानको ५० हजार पाए पनि घर निर्माण गर्ने जग्गा नहुँदा रकम खर्च हुन सकेको छैन । पहिरोको जोखिमका कारण नयाँ घर बनाउने ठाउँ नपाएको विस्थापितको गुनासो छ । ‘अघिल्लो वर्ष पनि झरी परेपछि पहिरो चल्यो,’ केरौंजाका वडाध्यक्ष सुकबहादुर गुरुङले भने, ‘पहिरोको डरले घर बनाएर ढुक्कले बस्न पनि पाइएन ।’
सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख रोशन श्रेष्ठले निजी घरहरू पुनर्निर्माणको मापदण्ड परिमार्जन भएर आएको बताए । ‘सजिलो खाले मापदण्ड आएको छ, इन्जिनियरहरूले घरको पुन: निरीक्षण गरेपछि दोस्रो किस्ता पाउनेको संख्या बढ्छ,’ उनले भने ।
आजको कान्तिपुरबाट


