मोहसिन अली मियाँ
एक महिना कठोर ब्रत पुरा गरेको खुसियालीमा गोरखाका र आसपासका मुस्लिम समुदायले धुमधामका साथ इद–उल–फित्र मनाएका छन् । अरबिक क्यालेण्डरको नबौ महिना रमजान भरि सक्षम मुस्लिमहरुले एक महिने रोजा (ब्रत) सफलता पूर्वक भन्दै आपसमा अंकमाल गर्दै हर्षोउल्लासका साथ यो पर्व मनाएका हुन् ।
‘हाम्रो धर्मका मुख्य आधार स्तम्भ मध्येको एक रोजा सकिएको छ, एक महिना सम्म पानी पनि नखाई ब्रत पुरा गएको खुशियाली साटेर साटेर यो पर्व मनाउँछौ’ गोरखा नगरपालिका वडा नम्बर २ का धार्मिक गुरु सबुर बकत मियाँले भने । इस्लाम धर्मको पाँच आधार स्तम्भ मध्ये चौथो आधार स्तम्भमा पर्ने रमजानको रोजा र पवित्र धर्म ग्रन्थ कुरान सरिफ यसै महिनामा अबतरित भएकाले पनि यो महिनाको महत्व झनै बढेको हो ।
रमजानको पहिलो तारिखबाट ब्रत सुरु हुने र सावाल महिनाको पहिलो तारिखका लाई ठूलो उत्सबका रुपमा इद लाई मनाइने गोरखा नगरपालिका–२ का हफिज अस्गर अलीले जानकारी दिएका छन् ।
‘यो पर्वको ठुलो महत्व छ, सक्षम मुस्लिमहरुलाई वर्त अनिवार्य छ’ अलीले भने । यहि महिनामा आफुले एक वर्ष सम्म कमाएको सम्पत्तीको केहि प्रतिशत धार्मिक कर (जकात) अनिवार्य तिर्नु पर्ने हुन्छ ।
साडे ५२ तोला चाँदी, साडे ७ तोला सुन वा सो सरह सम्पत्ती भएको प्रत्येकले आफ्नो कुल सम्पत्तीको २.५ प्रतिशत कर अनिवार्य तिर्नु पर्ने भन्दै हाजी नबि बकस मियाँ भन्छन् ‘अनाथ, गरिब र दुखीहरुले सम्पत्ती कै कारण बिहान बेलुका खान र आफ्ना आबस्यकता पूर्ति गर्न बाट र धनिहरुले झै चाड, पर्व मनाउनबाट बञ्चित नहोस भनेर प्रत्येक मुस्लिमहरुले यसरी प्रत्येक बर्ष अनिवार्य धार्मिक कर तिर्नु पर्ने नियम पवित्र धर्मग्रन्थ कुरानमा उल्लेख छ ।’
यस दिन बिहान सबेरै देखी मुस्लिम बस्तिहरुमा निक्कै चहलपहल हुने गर्दछन् । सबेरै नुहाउने, नया कपडा लगाउने, आफ्ना आफन्तहरुलाई दान दक्षिणा दिने, सबै मस्जिद वा इदगाहमा भेला भई इदको नमाज पढ्ने, अङकमाल गर्ने, अल्लाहको इबादत गर्ने, बिशेष प्रकारका खानाका प्रकारहरु बनाइ खाने, सामुहिक भोज गर्ने लगायतका क्रियाकलाप गरी यो पर्व मनाइने गरेको मुस्लिम अगुवाहरुको भनाई छ ।




















