मोहसिन अलि मियाँ/गोरखा
जिल्ला सदरमुकामको मुख्य बजार क्षेत्रको सडक जिर्ण भएपछि समस्या भएको यात्रुहरुले गुनासो गरेका छन् । सडकमा खाल्डा खुल्डी बढेसंगै दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले चिन्ता ब्यक्त गरेका छन् । गोरखाका ठूला सरकारी अड्डाका प्रमुखहरु दिनहुँ ओहोर दोहोर गर्ने मुख्य चोकहरुका सडक लामो समय देखि जिर्ण हुँदा मर्मतमा कसैले चासो नदिएको उनीहरुको दुखेसो छ । ‘यो त राज्यको उदासिनता हो, एक बर्ष भयो, सडक बिग्रन थालेको आजसम्म कसैको आँखा पर्न सकेन, हरमटारीका हरी अधिकारी भन्छन्, ‘बजारमा दिन प्रतिदिन गाडीको चाप बढेको बढै छ, बाटो साँघुरो छ, बाटोको हालत दिनानुदिन बिग्रदै गएको छ ।’

गोरखाबजार कै मुटु मानिने हरमटारी चोकमा सडकको बिचमा परेको ठूलो खाल्डोले यात्रु भन्दा पनि सवारी चालकलाई पनि समस्या भएको छ । ‘दिनमा ३०/ ३५ पल्ट ओहोर दोहोर गर्नु पर्छ, यो खाल्डोले न छेउबाट जान मिल्छ, न कुनाबाट जान मिल्छ’ एक सबारी चालकले भने ।एक लेनको साघुरो सडक भएकाले बजारमा दोहोरो गाडी गुडाउन समेत नमिल्ने यस क्षेत्रको सडकमा खाल्डा खल्डी बढेपछि सवारी चलाउने चालकहरुलाई चिन्ता बढेको छ । ‘७० लाखहालेर गाडी किन्यो, सडकको हालत यस्तो छ, खाल्डोमाहालम गाडी ठोक्किन्छ, नहालमजाने ठाउँ नै हुदैन’माइक्रो चालक चेत बहादुर भुजेलले भने, ‘म गोरखाआको एक बर्ष भो, आएदेखि नै यस्तै देख्छु, कस्ले बनाउने ?’सडक जिर्ण भएपछि सडक छेउछाउ व्यपार व्यसाय गर्नेलाई पनि समस्या भएको छ । हरमटारीमा ब्यवसाय गर्दै आएका सुरेश थापाले भने, ‘कति पटक त म आफै खाल्डोमा परेर दुरर्घटना बाट बचेको छु’ मोटरसाइकल चलाउदै गरेका थापाले गोरखा समाचार सँग भने ।

बढ्दो सहरीकरण संगै बजार क्षेत्रमा गाडीको समेत चाप बढेकाले त्यसै त ट्राफिक जाम बढेको गोरखा माझ न मुख्य सडक जिर्ण बन्दाझनै सास्ती थपिएको छ ।गोरखाबजारको बसपार्क क्षेत्र, हरमटारी चोक, आयुर्वेदचोक, प्रतिक्षालय, पेट्रोल पम्प, चाइनिजधारा, खोलखोले क्षेत्रका सडकमा ठूला ठूला खाल्डो परेपछि दैनिक आवत जावतमा प्रभाव पारेको छ । बजारको मुख्य चोकका सडक जिर्ण हुदा समेत नियमन निकाय मौन बसेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । ‘सडक बिग्रिदै गएको बर्षौ भइसक्यो, कस्ले बनाउने हो, थाह छैन’ चाइनिज धाराका सुरज श्रेष्ठ भन । मर्मतका लागि पटक÷पटक सरोकारवालाहरुलाई आग्रह गरे पनि काम हुन नसकेको उनको भनाई छ । ‘सडकमा गयो नगरपालिकाले बनाउने हो भन्छ, नगरपालिका गयो सडकको काम हो हामीलाई अधिकार छैन भन्छ, सडक हेर्यो धुलोले नाकमुख छोपेर हिड्नु पर्ने अबस्था छ’श्रेष्ठले थपे ।

पेट्रोल पम्पका सरोज अर्याल भने २० बर्ष पछि भएको स्थानीयतहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीहरु बाट आशा राखेको बताउछन् ।
यता गोरखा नगरपालिकाका मेयर राजनराज पन्त भने अहिलेसम्म यो सडक दमौली सडक डिभिजन कार्यालयको जिम्मामा रहेको बताउछन् । ‘हामीले बनाउनै मिल्दैन, अहिलेसम्म उसैको जिम्मामा छ’ मेयर पन्तले भने । आँबुखैरेनीबाट बजारको खोलखोले सम्म दायाँबायाँ पिच गर्न सुरु गरेकाले उक्त समस्या अब हल हुने उनले बताए । ‘मैले बजार क्षेत्रमा पनि बनाउन भनेको छु यदि उहाँहरुले बनाउनु भएन भने नगरपालिका आफैले बनाउछ’ पन्तले भने ।


