कैलासबावु श्रेष्ठ/गोरखा
- किर्ते गर्ने खान समेत प्रहरी फन्दामा
जेष्ठ २१ गते । गोरखा जिल्लामा नै पहिलो पटक ठुलो संख्यामा नक्कली सवारी चालक अनुमती पत्र फेला परेको छ । सवारी चालक अनुमती पत्र किर्ते गर्ने तराई मुलका नेपाली खान थर भएका नागरिकलाई समेत प्रहरी नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले बताए ।

ट्राफक प्रहरीले जेष्ठ १६ गते सवारी साधन चेकजाँच गर्ने क्रममा रौतहट जिल्ला साबिक प्रेमपुर गोनही गाउँ बिकास समिति–१ घर भई हाल जिल्ला गोरखा गोरखा नगरपालिका–६ खोलखोले बस्ने २६ बर्षे राम औतार महतोको साथबाट नक्कली सवारी चालक अनुमती पत्र फेला परे पछि उनलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरी अनुसन्धानका क्रममा जेष्ठ १८ गते रौतटहट जिल्ला साबिक कटहरिया गाउँ बिकास समति वडा नं. ९ बस्ने बर्ष २८ को मुकेश भन्ने श्री भगवान साह सोनार र जिल्ला गोरखा जिल्ला शहिद लखन गाउँपालिका वडा नं. ७ बस्ने बर्ष २५ को अनिल तिवारीबाट समेत नक्कली सवारी चालक अनुमती पत्र बरामद गरिएको थियो ।

अनुसन्धकै क्रममा तिवारीले अन्य ४ जना व्यक्तिहरुको नक्कली सवारी चालक अनुमती पत्र बनाउन सहयोग गरेको पाईएको जेष्ठ १८ गते नै उक्त नक्कली सवारी चालक अनुमती पत्रहरु बनाउने मुख्य व्यक्ति जिल्ला गोरखा गो.न.पा. वडा नं. १० छेपेटार बस्ने बर्ष २८ को फिरोज खानलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।

पक्राउ परेका खानको डेराकोठा खानतलासी गर्दा विभिन्न व्यक्तिहरुको नाममा रहेको नक्कली सवारी चालक अनुमती पत्र थान १२, नागरिकता प्रमाणपत्र थान ५, नागरिकता प्रमाण पत्रको प्रतिलिपी थान २४, सवारी चालक अनुमती पत्रको प्रतिलिपी थान ८ थान फेला परेको प्रनाउ थापाले बताए ।

खानको कोठाबाट विभिन्न व्यक्तिहरुबाट नगद प्राप्त गरेको र विभिन्न व्यक्तिहरुलाई नगद पठाएको भौचर थान ३४ र विभिन्न व्यक्तिहरुको फोटो थान १ सय १८ बरामद भएकोमा निजहरुलाई किर्ते सवारी चालक अनुमती पत्र शिर्षक अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।





















