‘पख् ! धेरै चकचक गरिस् भने पुलिसलाई भनिदिन्छु, पुलिस बोलाऊँ कि खाना खान्छस् ?’ यस्ता भनाइ आजपर्यन्त गाउँ होस् वा सहर जताततै आमअभिभावकहरूले आफ्ना अबोध बालबच्चालाई बदमासी गर्नबाट रोक्न भन्ने गर्दछन् । प्रहरी’ भन्ने शब्दोच्चारण गर्दा बालमस्तिष्क डराएर आफ्नो काबुमा आउने र आफूले थप हैरानी बेहोर्नुनपर्ने पुरातनवादी सोच तथा चलनचल्तीको अपेक्षा अभिभावक वर्गमा रहँदै आएको छ । प्रहरी आयो भने समातेर लान्छ, अनि थुन्ने, पिट्नेजस्ता काम गर्छ, यी र यस्ता काल्पनिक एवं मनोवैज्ञानिक डरत्रासको प्रत्यक्ष वा अप्रत्यक्ष असर बाल मानसिकतामा पर्न गएको हुन्छ । तीव्रगतिमा हुने मस्तिष्कको विकाससँगै जिज्ञासु स्वभाव बढ्दै जानु तथा कुनै पनि क्रियाकलापको सिर्जना गरी त्यसलाई तत्कालै प्रयोगमा ल्याउनु बालबालिकाहरूको बानी नै हो । यस्ता बाल हर्कतलाई नियन्त्रण गर्न हामी अभिभावकले ‘पुलिस दाइ आयो’, ‘पुलिसलाई भनिदिन्छु’ जस्ता डरत्रासका कल्पना बच्चासामु अभिव्यक्त गर्दा उनीहरू एकछिन भए पनि डराउँछन् र चकचक गर्दैनन् भन्ने मान्यता राख्ने गरिन्छ ।
तर, यस्ता घरेलु स्कुलिङबाट ससाना नानीबाबुहरूमा केकस्तो छाप बस्न सक्छ र, यसले समाजमा दीर्घकालीन रूपमा पु¥याउन सक्ने सकारात्मक एवं नकारात्मक असरबारे भएका विचार विश्लेषणको पर्याप्त जानकारी अहिले पनि पाइँदैन । बालबालिकाको चकचके र झन्झटिलो व्यवहारबाट मुक्ति पाउनलाई तत्कालका लागि समाधान गर्ने उपायको कडीका रूपमा अभिभावकले बच्चाका सामुन्ने प्रयोग गर्ने यस्ता जालसाजीपूर्ण वाक्यांशले हामीलाई क्षणिक समय राहत महसुस त होला तर, के बच्चाहरूलाई चकचक गर्नबाट रोक्न र डर देखाउनकै लागि आम रूपमा उपयोग गरिँदै आएको यो शैलीे हितकर छ ? यसतर्फ ध्यान पु¥याइएको पाइँदैन ।
बच्चाले राम्रोसित खाना खाएन, चकचक र कलह मात्रै गरिरह्यो अनि अन्य विविध क्रियाकलापले वाक्कदिक्क बनायो भने दुःख र हैरानीको महसुस गरी उसको आनीबानी सुधार्न एवं आफू अनुकूलको मार्गमा निर्देशन गर्ने मनशायले घरपरिवारका सदस्यहरूले प्रहरीको नाम लिँदै बच्चाको अगाडि यस्तै–यस्तै नाटक मञ्चन गर्ने गर्छन् । बाल क्रियाकलाप नियन्त्रणका लागि जबर्जस्त लादिँदै आइएको यस तरहको विधि कति सही र गलत छ ? प्रहरीलाई हाउगुजी देखाएर अबोध बालबालिकालाई तर्साउँदै आफ्नो स्वार्थसिद्ध गर्ने प्रयत्नमा लाग्दै आइरहेको नेपाली समाजको चेतनाको स्तर झल्काउने यी र यस्ता उदाहरणहरू हामीमाझ प्रशस्त छन् । अन्जान ती भविष्यका कर्णधारहरूको कलिलो मस्तिष्कमा प्रहरी भन्नेबित्तिकै डर र भयको तस्बिर झल्किरहन्छ ।
‘मैले भनेको मानेनौं भने पुलिस बोलाइदिन्छु, त्यसपछि समातेर लान्छ, पिट्छ र हतकडी लगाउँदै लगेर थुनिदिन्छ,’ यी आदि अभिभावकको भनाइ अनि कतिपय अवस्थामा विभिन्न प्रकारका आन्दोलन, झडप, दंगाहरूमा आन्दोलनकारी र सुरक्षाकर्मी बीचको अवस्था, परिस्थिति तथा घटना, दुर्घटना लगायतका दृश्य, प™िदृश्य प्रत्यक्ष वा टेलिभिजनको पर्दा एवं अन्य सञ्चारमाध्यममा हेर्दै आएका बालबालिकाको मानसिक तथा शारीरिक वृद्धिमा कस्तो प्रभाव पर्ला ?
साथै प्रहरी र समाजप्रति उसले सोच्ने तरिका, बुझ्ने विधि र व्यक्त गर्ने धारणामा हामीभन्दा के फरक होला ? यहाँ उठान गर्न खोजिएको प्रश्नावली त्यति गहन नलाग्न पनि सक्छ । तर सामान्य जस्तो लागे पनि सुरक्षाकर्मी र कम्ब्याट ड्रेसप्रति बालबालिकामा जुन खालको डरत्रास पैदा गरिँदै आइएको छ, त्यसले हाम्रा बाल कोपिलाहरूको मस्तिष्कमा नकारात्मक प्रभाव पर्न गयो भने सुरक्षाकर्मी र समाजका बीचमा दुरी बढाउनुका साथै दरार पैदा गरी शान्तिसुरक्षा कार्यमा चुनौती सिर्जना गर्न सक्नेतर्फ सचेत रहन जरुरी छ ।
बालबालिकालाई सुरक्षित वातावरणमा बस्न सक्ने अवस्था सिर्जना गर्न अब ‘प्रहरी’ डर देखाउने शब्द होइन, सुरक्षाकवच हो भन्ने कुराको शिक्षा दिन ढिलो गर्नुहु“दैन। बदमासी गर्दा प्रहरी बोलाउ“छु भन्ने शैलीमा परिवर्तन गर्न सकेको खण्डमा बाल मस्तिष्कमा प्रहरी हाम्रै लागि हुन् भन्ने धारणाको विकास हुन्छ।
सुरक्षासेवामा संलग्न परिवारका बीच र फरक पृष्ठभूमिमा एवं रहनसहनमा हुर्केबढेको बच्चामा के–कति भिन्नता पाइन्छ भन्ने कुरा हामी हाम्रै घरसमाज वरपरको अवस्थालाई हेर्न सक्छांै । जसका बाबु आमा वा घरपरिवारका अन्य सदस्यहरू सुरक्षा फौजमा छन्, तिनीहरू सुरक्षाकर्मीको आनिबानी र कम्व्याटसँँग अभ्यस्त भइसकेका हुन्छन् । यस्ता बालबालिकाहरूमा सुरक्षाकर्मीप्रति अनावश्यक किसिमको कुनै डरत्रास रहँदैन । सुरक्षाकर्मीको संगतबाट टाढै रहेका बच्चाहरू तुलनात्मक रूपमा बर्दीधारीप्रति खुलस्त हँुदैनन् । बालअवस्थामा मात्रै होइन भोलि ऊ उच्च शिक्षा नै प्राप्त गरिसकेको अवस्थामा समेत प्रहरीसामु संकुचित भएर प्रस्तुत हुन्छ । यस हिसाबले पनि हामीले हाम्रा बालमुनाहरूलाई घरपरिवारबाटै असल शिक्षा र संस्कार दिनेतर्फ प्रयत्न गर्नुपर्ने खाँचो उत्तिकै छ । प्रहरीलगायत सुरक्षा सेवामा रहेकाहरू हाम्रा रक्षक हुन्, सेवक हुन्, उनीहरूले जीउधनको रक्षा गर्छन् भन्ने सन्देश प्रवाह गर्नु उचित हुन्छ । बालबालिकालाई डरत्रास देखाउन प्रहरीलाई दुरुपयोग गर्नुले समाजलाई फाइदा पु¥याउँदैन ।
वर्तमान समाजमा विज्ञान र प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार, जबर्जस्ती करणी र बलत्कार, हत्याजस्ता आपराधिक गतिविधि नेपाली समाजमा डरलाग्दो गरी बढ्दै गएको देखिन्छ । यस्ता क्रियाकलापहरूलाई निस्तेज पार्दै बालबालिकालाई सुरक्षित वातावरणमा बस्न सक्ने अवस्था सिर्जना गर्न अब ‘प्रहरी’ डर देखाउने शब्द होइन, सुरक्षाकवच हो भन्ने कुराको शिक्षा दिन ढिलो गर्नुहुँदैन । बदमासी गर्दा प्रहरी बोलाउँछु भन्ने शैलीमा परिवर्तन गर्न सकेको खण्डमा बाल मस्तिष्कमा प्रहरी हाम्रै लागि हुन् भन्ने धारणाको विकास हुन्छ ।
विद्यालय जाने उमेर समूहका केटाकेटीलाई तिमी, तिम्रा साथी, घरपरिवार र समाजमा कुनै समस्या प¥यो भने तुरुन्तै आसपासमा देखिएका सुरक्षाकर्मी, प्रहरी कार्यालय अथवा सुरक्षा निकायमा खबर गर्नुपर्दछ भनेर पो शिक्षा दिनुपर्छ । केटाकेटीहरूलाई आफू वा टोलछिमेक र साथीहरूलाई ‘कुनै समस्या परे सुरक्षा निकायका टोल फ्री नम्बरमा तुरुन्त फोन गर’ भनेर सिकाउन सकेको खण्डमा प्रहरीप्रति अभिभावकले सिकाएको नकारात्मक धारणा परिवर्तन हुन जानेछ ।
यसबाट बालबालिकाहरूले आफू असुरक्षित भए कतै बाटो बिर्सिएर हराए वा टोलछिमेक र आफ्ना साथीसँगीलाई कुनै अप्ठ्यारो परेमा नजिकै रहेका सुरक्षाकर्मीलाई खबर गर्न सक्नेछन् । सुरक्षा, उद्धार, सेवा, सहयोग लगायतका कुनै पनि समस्यामा हरेक नागरिकले क्विक एक्सनका लागि नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ मा निःशुल्क फोन गर्न सक्ने व्यवस्था हुनुले सुरक्षा निकायको सुरक्षा संवेदनशीलता झल्किन्छ । तर, नागरिकले पनि अधिकार सँगसँगै आफ्नो दायित्वलाई बिर्सनुहँुदैन ।
नागरिक र सुरक्षा निकायको सहकार्य र सहयोगमा प्रभावकारी सेवा प्रवाह हुनेमा दुई मत रहँदैन । कतिपय अवस्थामा आफूले असुरक्षाको स्थिति देखिरहेको तर सुरक्षाकर्मीलाई खबर गरियो भने उल्टै पिटिने पो हो कि भन्ने त्रास बालबालिकामा अझै पाइन्छ । ‘कतै जाँदा होस् अथवा घरपरिवारमा रहँदाबस्दा पनि कुनै घटना, दुर्घटना वा असुरक्षित महसुस हुने खालका गलत मनशाययुक्त गतिविधि देखियो, सुनियो भने प्रहरीलाई खबर गर्नुपर्छ है, प्रहरी हाम्रै सुरक्षाको खातिर हुन् र गल्ती नगर्दा डराउनुपर्दैन’ भनेर सिकाउन सके मात्र पनि बालबालिका स्वयंले आफूलाई सुरक्षित महसुस गर्नुका साथै सम्भावित अपराध नियन्त्रणमा समेत महŒवपूर्ण सहयोग पुग्न सक्नेतर्फ हाम्रो सोचाइ केन्द्रित हुनु वाञ्छनीय छ । फक्रिने कोसिस गरिरहेका कलिला बाल कोपिलाहरूको मनमा वनको बाघ बनेर त्रासदीको खेल खेल्ने परम्परागत मान्यताबाट माथि उठेर कुशल अभिभावकत्व प्रदान गर्नु बुद्धिमानी होला । अझ अहिले त हाम्रै वरिपरि बालक्लब, बालअधिकार संरक्षण केन्द्र, बालगृह लगायतका बालबालिकासँग सम्बन्धित विभिन्न संघ÷संस्था खुलेका छन्् । यस्ता निकायले बालविवाह र बालश्रमजस्ता अन्य विभिन्न प्रचलित कानुनविपरीतका कार्यलाई रोक्न प्रहरीको सहकार्यमा काम गरिरहेका हुन्छन् । यी र यस्ता तथ्यहरूलाई आधार मान्दै हरेक अभिभावकले आफ्ना बालबच्चाहरूलाई सुरक्षा केका लागि, कसका लागि र कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा सिकाउँदै गएको खण्डमा उनीहरूमा प्रहरी शब्दप्रति सकारात्मक धारणा विकास हुन्छ । र, बालबालिका घरसमाजमा हुने गैरकानुनी क्रियाकलाप रोक्न र समाजमा शान्तिसुरक्षा अमन चयन गर्ने कार्यमा समेत सहायकसिद्ध ठहरिनेछन् । किनकि धेरै अभिभावकले अझै आफ्ना बाल सन्ततिसामु ‘प्रहरी’ शब्दलाई डरत्रास र भयका रूपमा चित्रण गरिरहेका छन् । ‘प्रहरी’ मात्रै होइन सम्पूर्ण सुरक्षाकर्मी र समाजमा बस्ने सबैमा आपसी सद्भाव, साथित्व र भाइचाराको व्यवहार एवं सम्बन्ध कायम राख्दै अगाडि बढे मात्र व्यक्ति, परिवार, समाज र देशको भलाइ एवं उन्नति हुन्छ । आजका बालबालिका भोलिका असल नागरिक हुन, देशको बागडोर सम्हाल्ने सशक्त खम्बा हुन्, त्यसैले नकारात्मक शिक्षा र कुसंस्कारको सिकार बालबालिका हुनुहँुदैन । भोलिको समुन्नत राष्ट्र निर्माण तथा समाजको स्वरूप परिवर्तनका संवाहक एवं चम्किला बालताराहरूलाई असल मार्गमा डो¥याउनेतर्फ हरसम्भवको कोसिस र प्रोत्साहन गर्न सक्नुपर्दछ । उनीहरूको भविष्य उज्वल बनाउने दायित्व तपाईं हाम्रै हो ।
(लेखक सशस्त्र प्रहरी निरीक्षक हुन्)
rajdhanidaily




















