चितवनको नारायणगढमा बिहीबार नेकपा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर: सूर्यप्रकाश कँडेल
व्यंग्य गर्दै अाेलीले भने-
नारायणगढः
कहिले टाउकाको मोल तोक्छन्
कहिले साथीको छोरीलाई काँधमा बोक्छन्।
नेकपा एमालेले बिहीबार चितवनको नारायणगढमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनाउनु भएको एउटा शेर हो यो। एमाले अध्यक्ष ओलीले ‘म नाम त भन्दिन, तपाईँहरुले थाहा पाइहाल्नु हुन्छ’ भन्दै यो शेर सुनाउनु भएको थियो।
शेर सुनाउनुको मुख्य कारण थियो, भरतपुर महानगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले महानगर प्रमुख र उपप्रमुख पदमा गरेको चुनावी तालमेल। दुबै पार्टीले महानगरपालिका प्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाललाई काँग्रेसले र उपप्रमुख पदमा काँग्रेसकी उम्मेदवार पार्वती शाहलाई माओवादी केन्द्रले सघाउने चुनावी तालमेल भएको छ।
शेर सुनाएपछि तुरुन्तै संवाद सुनाउँदै ओलीले भन्नुभयो, ‘प्रधानमन्त्री हुनु छ कि छैन तपाइँलाई ?’ ‘छ हजुर।’ ‘त्यसो भए खुरुक्क मेरी छोरीलाई टाउकोमा बोक्नुहोस्।’ भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा काँग्रेस–माओवादी केन्द्र गठबन्धनपछि बिहीबार संयुक्त चुनावी सभालाई सम्बोधन गर्न काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन आउने भएपछि एमालेले आफ्नो चुनावी सभालाई सम्बोधनका लागि पार्टी अध्यक्ष ओलीलाई चितवन ल्याएको थियो।
यति एयरलायन्सको विमानबाट साढे बाह्र बजे भरतपुर विमानस्थलमा ओली आइपुगेको आधा घण्टापछि बुद्ध एयरलायन्सको विमानबाट प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल र काँग्रेस सभापति देउवा भरतपुर विमानस्थलमा ओर्लिनु भएको थियो।
‘छोरी उम्मेदवार हुन्छिन्, बाउ प्लेनबाट आउँछन् कस्सिएर’ प्रधानमन्त्री दाहालप्रति लक्षित गर्दै ओलीले भन्नुभयो, ‘अर्काका छोराछोरी मारेपनि माया नलाग्ने, आफ्ना छोराछोरी मेयर बनाउनु पर्ने?’ चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भरतपुरमा इलेक्ट्रिक मेट्रो रेल कसरी चलाउने भनेर एमालेले सोचिरहेको बताउनु भयो। ‘कुर्सीमामात्रै ध्यान हुने, छोरीमामात्रै ध्यान हुनेहरुले कताबाट बुझ्ने विद्युतीय रेलका कुरा?’ विकासका लागि पैसाको अभाव नहुने विचार भन्दै उहाँले भन्नुभयो, ‘दुनियाँमा पैसा छ । दुनियाँ ऋण दिन चाहन्छ । विकासको लागि पैसाको पिर गर्नु पर्दैन ।’
‘हामी शान्तिपूर्णरुपमा चुनाव होस् भन्ने चाहन्छौं। तर, हाम्रा प्रतिस्पर्धीहरु आतंकित भएर आक्रमणमा उत्रन थालेका छन्,’ ओलीले भन्नुभयो, ‘१२ वर्ष ढुंग्रोमा राखिसकियो, अहिले हेर्दा जस्ताको तस्तै।’ ओलीले आफूहरुले सहिष्णुता देखाउने तर जे गर्दा पनि चुप लागेर भने नबस्ने बताउनु भयो। चुनावी सभालाई एमाले महासचिव इश्वर पोखरेल, सांसद एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, भरतपुर महानगर प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली, उपप्रमुख पदकी उम्मेदवार दिव्या शर्मा आचार्य लगायतले सम्बोधन गर्नु भएको थियो।
annapurnapost


