नरेन्द्र ढकाल/गोरखा
नेपालको प्रसिद्ध धार्मिक स्थल गोरखनाथ गुफामा बुधबार बाट १४ औं सवालाख रोट महोत्सव सुरु भएको छ । बिगत १३ वर्ष देखि निरन्तर गोरखामा रोट महोत्सव गर्दैै आएको सिद्धाश्रम शक्ति केन्द्रले यस पनि महोत्सव गरेको हो । केन्द्रको संयोजक रामजी अर्यालले भन्छन् ‘गुरु गोरखनाथको प्रिय खाद्य वस्तु सवालाख रोट चढाएर, देशमा शान्ति अमनचयन कायम होस भनेर यस वर्ष पनि महोत्सव गर्न लागेका हौं ।

’ हरेक वर्ष जस्तै यस वर्ष पनि बैशाखी पुणिमाको बाट रोट महोत्सव सुरु गरिएको छ । गुरु गोरखनाथलाई सबै भन्दा मनपर्ने खाद्यबस्तु रोट चढाए पछि उहाँ खुसि हुने र देशमा आउने विख्नबाधा अन्त्य हुने धार्मिक बिश्वास छ । बुधवार विहान गोरखा सदरमुकामको बसपार्कबाट शोभा यात्रा निकालेर महोत्सवको सुभारम्भ गरिएको हो । शोभायात्रामा गुरु गोरखनाथको रथ बोकेका साधक साधिकाहरु बजार परिक्रमा गर्दै गुफामा पुगेका थिए । रखा र आसपासमा हरेक मौसममा नयाँ अन्नबाली भित्रयाउने बित्तिकै वर्षमा २ पटक मंसिर र साउनमा रोट पकाएर गुरु गोरखनाथलाई चढाउने प्रचलन छ । अनि मात्र स्थानिय नयाँ अन्न प्रयोग गर्ने चलन छ ।

नयाँ अन्नको पिठोलाई घिउमा पकाएर रोट बनाई गोरखनाथलाई अर्पण गरेर मात्र आफू खाने धार्मिक विश्वास स्थानियमा रहेको गोरखनाथ गुफाका पुजारी प्रदिपनाथ योगीले बताए । ११ दिन सम्म चल्ने महोत्सवमा हरेक दिन १ लाख रोट गोरखानाथ बाबालाई चढाईने केन्द्रका जिल्ला संयोजक किशोरकुमार अकेलाले जानकारी दिए । महोत्सवका लागि गोरखा आउने श्रद्र्धालु भक्तजनको आवास र खानाको प्रवन्ध समेत आयोजनकले मिलाएको छ । महोत्सवमा नेपालको विभिन्न जिल्ला सँगै छिमेकी राष्ट्र भारतबाट पनि ठुलो संख्या भक्तजनहरु गोरखा आईपुगेका छन् ।

प्रसिद्ध धार्मिक स्थल गोरखाको गोरखनाथ सुरु भएको सवालाख रोट महोत्सवमा निकालिएको शोभायात्रामा गुरु गोरखानाथको रथ बोक्दै साधक साधिका ।




















