गोरखा समाचारदाता
आसन्न स्थानिय निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिन कडाईका साथ अनुगमन जिल्ला बालकल्याण समितिले गर्ने निर्णय गरेको छ । बालकल्याण समिति अन्तर्गतको अनुमन समितिको आज बसेको बैठकले निर्वाचनका विभिन्न गतिविधिमा बालबालिकाको प्रयोग भएको पाईएको भन्दै त्यसलाई रोक्न पहल थाल्ने निर्णय गरेको बैठक पछि जिल्ला बालकल्याण समितिकी सदस्य सचिव एवं अनुगम समितिकी संयोजक शुसिला वाग्लेले जानकारी दिईन ।
‘निर्वाचन लक्षित गर्दै बालबालिका प्रयोग भएको पाइयो, त्यसलाई रोक्न कडाईका साथ अनुगमन गर्ने तयारी गरेका छौ ’ वाग्लेले भनिन् । बैठकमा दलहरुले निर्वाचन आचार सहिता विपरित बालबालिकाहरुलाई प्रचारप्रचारमा संलग्न गराउने गरेको, पार्टी झण्डा एवं चुनाव चिन्ह अकिंत सामग्री बालबालिकालाई वितरण गरेको, माईकिङ, रयाली, घरदैलो लगायतका कार्यक्रममा बालबालिकाको प्रयोग भएको भन्दै उक्त कार्य रोक्न दलहरुलाई ध्यानाकर्षण गराउने निर्णय समेत भएको अनुगमन समितिकी संयोजक वाग्लेले जानकारी दिईन ।
केही दिन अघि जिल्लामा क्रियाशिल सबै राजनितिकदले जिल्ला बालकल्याण समितिको बैठकमा सहभागी भएर निर्वाचनमा बालबालिको प्रयोग नगर्ने प्रतिवद्धता जनाएका थिए । उक्त बैठकले निर्वाचनका बेला हुने बालबालिका प्रयोगका अनुगमन गर्न महिला तथा बालबालिका कार्यालयकी प्रमुख समेत रहेकी समितिकी सदस्य सचिव शुसिला वाग्लेको संयोजकत्वमा एक अनुगमन समिति समेत बनाएको थियो ।
उक्त समितिले हालसम्म भएको अनुगमनको समिक्षा गर्दै निर्वाचन पूर्व, भईरहेका बेला र सकिए पछि हुन सक्ने बालबालिका प्रयोगलाई रोक्न कडाईका साथ अनुगमन गर्ने निर्णय समेत गरेको छ ।


