५ सय ५० मुख्य तथा सहायक मतदान अधिकृत
मोहसिन अलि मियाँ/गोरखा
आसन्न स्थानिय निर्वाचनका लागि गोरखामा १५ सय भन्दा बढि कर्मचारी खटाईने भएको छ । जिल्लाका कुल २ सय १३ मतदान स्थल र २ सय ६० मतदान केन्द्रका लागि कुल १५ सय ३० जना कर्मचारी खटाउने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत गोविन्द घिमिरेले जानकारी दिए ।‘हामीले सबै सरकारी कार्यालय एवं विद्यालयका स्थायी शिक्षकहरुको विवरण मागेर निर्वाचनको लागि आवश्यक कर्मचारी छनोट गरेका छौ ’ घिमिरेले भने ।
मतदाताको संख्या हेरेर कर्मचारी व्यवस्थापन गरिएको छ । ५ सय भन्दा कम मतदाता रहेको ठाउँमा मतदान अधिकृत सहित ५ जना र ५ सय भन्दा बढि मतदाता रहेको ठाउँमा १ कार्यलय सहयोगी थप गरी ६ जना कर्मचारी खटाउने तयारी गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मतदान अधिकृतमा जिल्ला विभिन्न सरकारी कार्यालयमा कार्यरत उप–सचिव स्तरका कर्मचारी, शाखा अधिकृत देखि नायब सुब्बा सम्म छन् भने सामुदायिक विद्यालयमा कार्यरत माबि दृतिय र निमावी तृतिय श्रेणीका शिक्षकहरु रहेका छन् ।‘जिल्लामा मौजाद जनशक्तिलाई नै हामीले निर्वाचनको काममा लगाएका छौं,उहाँहरुकै योगदानले यो निर्वाचन सम्पन्न हुनेछ ’ घिमिरेले भने ।

निर्वाचन सफल बनाउन ५ सय भन्दा बढि मतदान अधिकृतहरु पनि घटाउने तयारी गरिएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी कुल ५ सय ५० जना छनोट गरी अहिले अभिमुकरण तालिम समेत सञ्चालन भईरहेको छ ।‘ मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ५ सय ५० जना छनोट भईसक्नु भएको छ, उहाँहरुलाई अभिमुखकरण तालिम दिएर छिटै फिल्डमा खटाउँछौ’ घिमिरेले भने ।

तामिलमा निर्वाचन सम्बन्धि कानूनी व्यवस्था, मतदान पूर्व, भइरहेका बेला र सकिए पछि गर्नु पर्ने कामहरु, पालना गर्नु पर्ने आंचार सहिता, सुरक्षा सर्तकता लगाएतका विषय मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी उपरिक्षक जनकराज पाण्डेय, जिल्ला निर्वाचन कार्यलयका प्रमुख राजेन्द्र प्रसाद पोखरेल, मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत गोविन्द घिमिरे लगाएतले सहभागीहरुलाई जानकारी गराएका छन् ।
तामिलमा नमूना मतदान गरी मतगणना समेत गरिएको आयोजकले बताएको छ । मतदान सुरु हुनु ४८ घण्टा पहिले सुरु हुने मौन अबधिमा उम्मेदवारले पालना गर्नुपर्ने नीति नियमका बारेमा पनि तालिमा सहभागी मतदान अधिकृतहरुलाई जानकारी गरार्ईएको छ ।सहभागीहरु मध्ये बाट पहिलो चरणमा चुमनुब्री र धार्चे गाउँपालिकामा मतदान अधिकृत पठाईने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।
‘टाढा जाने साथीहरुलाई पहिले तालिम दिएर पठाउँछौ, नजिकका साथीहरुले दोश्रो चरणमा तालिम लिनुहुन्छ, छुटेका केही साथीलाई तेश्रो चरणमा तालिम दिईने छ ।’ घिमिरेले भने । सोही अनुरुप हिमालपारीका गाउँपालिकाहरु चुमनुब्री र धार्चेमा खटिएका मतदान अधिकृत सहितका कर्मचारीहरुको विदाई गर्ने तयारी पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय गरेको छ ।


