आचार संहिता उल्लंघन गरे कडा कारवाही गर्ने प्रशासनको चेतावनी
नरेन्द्र ढकाल/गोरखा
स्थानिय निर्वाचनको मिति नजिकिदै गर्दा दलहरु मुडभेटमा उत्रिए पछि संयमता अपाउन सरोकारवालाहरुले आग्रह गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आईबार जिल्लामा क्रियाशिल दलहरुलाई बोलाएर निर्वाचनका गतिबिधि सञ्चालन गर्दा संयमता अपनाउन आग्रह गरेको हो । ‘छिटपुट घटना हुन थाले दलहरु सचेत गराउन बोलाएका हौ’ मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडलले भने । शनिवार गोरखाको लक्ष्मीबजारमा माओवादी केन्द्र र नयाँ शक्ति विच मुडभेट भए पछि एकै ठाउँमा जम्मा भएका जिल्लामा क्रियाशिल राजनितिक दलका नेता कार्यकताहरुले त्यहाँ पनि एक अर्कालाई आरोप प्रत्यारोप गरे ।
नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य एवं गोरखा नगरपालिकाका प्रमुखका प्रत्यासी ज्ञानेन्द्र कुमालले लक्ष्मी बजार घटना नियोजित भएको र प्रशासन मुख दर्शक बनेर बसेको आरोप लगाए । ‘लक्ष्मीबजारमा हामीलाई बाटो छेकेर कुट्ने काम नियोजित थियो उक्त घटनाका दोषीलाई कारवाही हुनु पर्छ’ नयाँ शक्तिले घटनाको माओवादीले जिम्मा दिदै माफि माग्नु पर्ने, घाइतेको उपचार गर्नुपर्ने र तोडफोड भएका सवारी साधनको क्षतिपूर्ति दिनुपर्ने माग राखेको छ ।
उता माओवादी केन्द्रका राजकुमार कोइरलाले भने नयाँ शक्तिकै कारण लक्ष्मीबजार घटना भएको जिकिर गरेका छन् । ‘घटना हाम्रा कारणले होइन उहाँहरुको कारणले भएको हो, नयाँ शक्तिले संयमता अपनाएको भए घटना हुने थिएन ’कोइरालाले भने । कार्यक्रममा अन्य साना दलहरुले आफूहरु ठूला दलको चेपुवामा पर्ने गरेको गुनासो गरेका थिए । छलफलमा सहभागी शीर्ष दल नेपाली काग्रेस जिल्ला सदस्य नारायण लामिछाने र नेकपा एमालेका उपाध्यक्ष यादब बस्नेतले आफ्नो दल निर्वाचन आचार संहिता पालना गर्न प्रतिवद्ध रहेको दाबी गरेका थिए ।
त्यहाँ सहभागी भएका सबै राजनितिक दलहरुलाई निर्वाचन आचार संहिताको कडाईका साथ पालन गर्न मुख्य निर्वाचन अधिकृत पौडेलले आग्रह गरेका थिए । जिल्लाका अधिकांश दलहरुले निर्वाचनमा प्रयोग भएका सबारी साधनको जानकारी आफूहरुलाई नगराएको उनको आरोप छ ‘निर्वाचन कानून अनुसार दलहरुले आफू खुसी सवारी साधन प्रयोग गर्न पाइदैन, प्रयोग भएका सवारीको बिवरण निर्वाचनलाई बुझाउनु पर्ने हुन्छ’ पौडेलले भने । निर्वाचन प्रचारप्रसारका लागि एउटा चारपाग्रे हलुका सवारी साधन र २ वटा मोटर साईकल मात्र प्रयोग गर्न पाईने कानूनी प्राबधान छ ।
निर्वाचन आयोगबाट गोरखाको अनुगमनको लागि आएका सह–सचिव शिवराम न्यौपानेले आचार संहिता उल्लंघन बारे अनुगमन भईरहेको भन्दै आयोगले तोकेको नीति नियम र परिधिमा रहेर काम गर्न आग्रह गरे । ‘आचार संहिता उल्लंघन गरे जो सुकै पनि कानूनी कारवाहीको भागिदार हुन्छ’ उनले भने । आचार सहिता उल्लंघन गरेर १ लाख जरिबाना र उम्मेदवारी रद्ध गर्ने सम्मको कारवाही हुने न्यौपानेले बताए ।
यता प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कानून मिच्ने कोही कसैलाई बाँकी नराख्ने दाबी गरेका छन् । अहिलेको निर्वाचन जित र हारको भन्दा जनतालाई अधिकार सम्पन्न बनाउने महान अभियान भएको भन्दै बस्नेतले अर्काको अस्तित्व स्वीकार गरेर अघि बढ्न सुझाब दिएका हुन् । निर्वाचन प्रचारका क्रममा दलहरुले गर्ने सबै कार्यक्रमको जानकारी जिल्लाको सुरक्षा सेललाई गराउनु पर्ने व्यवस्था भए पनि गोरखाका दलहरुले नगराएको पाईएको छ ।
सोही कारण दलहरु विच मुडभेटको स्थिति सिर्जना भएको प्रशासनको भनाई छ । प्रजिअ बस्नेतले जिल्लाका सबै उम्मेदवारहरुले गर्ने चुनावी कार्यक्रमको सम्पुर्ण विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षा सेल र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराउन समेत आग्रह गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्माको संयोजकत्वमा नेपाल प्रहरी , नेपाली सेना, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान लगाएका सुरक्षा निकाय सदस्यहरु सुरक्षा सेल समेत गठन गरिएको छ । छलफलमा निर्वाचनको अहिले सम्म भए गरेका काम बारेमा पनि जानकारी गराईएको थियो ।


