मोहसिन अलि मियाँ/गोरखा
कामदार अभावका कारणले भिमसेन गाँउपालिका–५ खानचोकका भुकम्पपिडितले अहिलेसम्म घर बनाउन सकेका छैनन् । भुकम्प गएको दुइ बर्ष बितिसक्दा समेत घर बनाउन नसकेको उनिहरुको गुनोसो छ । अहिलेसम्म पनि उनिहरु टहरा मै बस्न बाध्य छन् । गाँउमा कामदारको अभाव भए पछि घर कसरी बनाउने भन्ने चिन्ताले सताउने गरेकोे बगुवाका स्थानिय भरत केसी बताउछन्, ‘गाँउमा घर बनाउन जान्ने मान्छे छैनन्, बाहिरका यहाँ आइ पुग्दैनन्’ उनि भन्छन्, ‘आफैले बनाउन जानिदैन, कामदार पाइदैन, हामी त जिल्ल परेर बसेका छौ ।’ सरकारले दिएको पहिलो किस्ता वापतको पचास हजार रकम लिएर बसेका उनिहरुले गाँउमा घर बनाउने कामदार नपाउदा घर बनाउन सुरु गर्न समेत सकेका छैनन् ।
केन्द्रमा बसेर बनाएको निति नियम गाँउमा ब्यवहारिक हुन नरहेको कतिपयको तर्क छ ।
सरकारले सार्वजानिक गरेको नक्सा र न्युनतम मापदण्डका कारण उनिहरुलाई थप हेरानी भएको छ । पहिलो किस्ता वापतको पचास हजार बुझेर घर बनाउन थालेकाहरुले घर बनि सक्दा समेत दोस्रो किस्ता पाएका छैनन् । ‘बल्ल बल्ल पचास हजार दियो, अरु पैसा पाको छैन, क्रण गरेर कसरी घर बनाउनु’ केसीले भने ।
उक्त वडाका दश प्रतिशत पिडितले पनि घर बनाएका छैनन । बनाएकाहरुले पनि दोस्रो किस्ता पाउन नसकेको गुनासो गरेका छन् । अधिकांशले पहिलो किस्ताको रकम बुझेर बैंकमा राखेका छन् । उनिहरुलाई सरकारले तोकेको मापदण्ड पनि चित्त बुझेको छैन । ‘सरकारले देको नक्सा अनुसारको घर बनाउन भन्दा त अहिले कै कटेरो ठिक छ, घर भत्काउनै दुइ लाख लाग्यो, अनुदानको पैसा त हात्तीको मुखमा जिरा जस्तै भाको छ’ स्थानिय रनमाया वन्तले भनिन् । सरकारी मापदण्डको घर बनाउदा वन्तको घरपरिवारलाई बस्ने ठाँउ पुग्दैन ‘सरकारले देको नक्सा अनुसारको घर बनाउने हो भने त हाम्रो परिवारै अटाउदैन, यतिका मान्छे कहाँ बस्ने ?’ वन्तको परिवारमा नौ जना बस्छन, चाडपर्वमा त बिस पच्चिस जना जम्मा हुने उनको भनाइ छ ।
‘मान्छे त जसो तसो बसौला, मुखा माड लाउने यो अन्न चाहीँ कहाँ थन्क्याउने ?’ पिढीमा बसेर छरपस्ट छरिएको मकै देखाउदै वन्तले भनिन् ।
गाँउमा आएका इन्जिनियर मार्फत त्यहिको आवस्यकता अनुसारको घरको नक्सा र मापदण्ड बनाइ दिए आफुहरुलाई सजिलो हुने उनिहरुको भनाइ छ ।
तर गाँउमा नयाँ घर भने नबनेका होइनन केहीले क्रृण गरेर घर बनाएता पनि इन्जिनियरले पास नगरेको स्थानियको गुनासो छ । सरकारी मापदण्डका बारे नै प्रष्ट नभएकाले पनि घर बनाउन अन्यौल भएको उनिहरुको भनाइ छ ।


