मोहसिन अलि मियाँ/गोरखा
स्थानीय तहको निर्वाचन नजिकिदै जादा समेत आरुघाटवासीलाई चुनावको रौनकले कत्ति पनि छोएको छैन । जिल्लाकै दोस्रो ब्यापारिक केन्द्र समेत रहेको आरुघाट बजारका वासिन्दालाई चुनाव भन्दा पनि बुढिगण्डकीको डुवानको बिषय महत्वपूर्ण रहेको उनिहरु बताउछन् । ‘हामीलाई चुनाव सुनाव केही लागेको छैन, यसपाली भोट माग्न नेता नै आएका छैनन्’ स्थानीय ब्यवसायी सिजन श्रेष्ठ भन्छन् ‘हामी आफ्नो ब्यवसाय गरेर खाने मान्छेलाई के को चुनाव’
चुनाव आउन हप्ता दिनसम्म पनि बाँकी नहुदासम्म पनि उनिहरुलाई यस पटकको निर्वाचनले खासै छुन सकेको छैन । बुढिगण्डकी डुबानको बिषयमा नेताहरुले आरुघाटलाई झुक्याएको उनिहरु आरोप लगाउछन् । ‘खै कुन पार्टीको नेताको एजेण्डा छ बुढिगण्डकीको बिषय, हामी त जस्ले यो एजेण्डालाइ उठाउछ उसैलाई भोट हाल्ने हो’ आरुघाट कै शिवशक्ति प्रावीका शिक्षक पूर्ण कुमार श्रेष्ठ बताउछन्ः ‘हामी यसपाली पार्टी हेर्दैनौ, हाम्रो समस्यालाई जस्ले एजेण्डा बनाउछ हामी उसैलाई भोट दिन्छौ’
देशले बहुप्रतिष्ठित आयोजना भनेर घोषणा गरेको बुढिगण्डकी आयोजना अन्तरगत सरकारले अझै पनि मुअब्जा नतोकेको भन्दै उनिहरुले आक्रोश पोखेका छन् । कुनै पनि पार्टी र उम्मेदवारले बुढिगण्डकीको बिषयलाई चुनावी एजेण्डा नबनाएकोमा पनि उनिहरुको असन्तुष्टी छ स्थानीय सूर्य श्रेष्ठ भन्छन्ः ‘हामीलाई नेताले मागी खाने भाँडो मात्र बनाए, कुनै दलले पनि हाम्रो समस्या बुझ्न चाहेकै छैन’
यस अघिका हरेक निर्वाचनमा निक्कै चहलपहल ह्ुने आरुघाटमा यस पटक भने खासै चुनावी माहोल छैन । पहिलाका निर्वाचनमा जस्तो नेताहरु भोट माग्न समेत नआएको स्थानीय ८२ बर्षिय खड्ग बहादुर सार्की बताउछन् । ‘खै भोट माग्न नेता नै आएका छैनन्, त्यै भएर पनि होला आजसम्म चुनाव नलागेको ।’


