कैलासबावु श्रेष्ठ/ गोरखा
चुनावी प्रचारको क्रममा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपाल बिच मुढभेड भएको छ । गोरखा नगरपालिकाको चुनावी प्रचारप्रसारमा हिडेका दुवै टोली १२ किलो देखि गोरखा बजार सम्म आउने क्रममा लक्ष्मी बजारमा एक्कासी आमुन्ने सामुन्ने हुँदा झडप समेत भएको छ । लक्ष्मी बजारमा भेटिएका आफ्ना कार्यकतालाई माओवादीले एक्कासी आक्रमण गरेको नयाँ शक्तिले आरोप लगाएको छ । उनीहरुले एक्कासी गाडी रोकेर अन्धाधुन्ध लाठी, मुक्का र ढुङ्गाले हानेको घटना स्थलमा रहेका नयाँ शक्ति पार्टी तर्फ बाट नगर प्रमुखका उम्मेदवार ज्ञानेन्द्र कुमालले जानकारी दिए । घटनामा नयाँ शक्तिका ४ कार्यकता घाईते भएका छन् । घाईते हुनेहरुमा छेवेटारका सुबास कुमाल, भिषण कुमाल, विरेनचोकका तिलक रम्तेल र दिपक कुमाल रहेका छन् । उनीहरुको अबस्था भने सामान्य रहेको र उपचार भईरहेको नयाँ शक्ति नेपाल पार्टीले जानकारी दिएको छ ।

‘हामी आफ्नो कार्यक्रममा हिडिरहेका थियौं, लक्ष्मी बजारमा माओवादी केन्द्रका कार्यकर्ताले एक्कासी आक्रमण गरे, हाम्रा केही साथी घाईते हुनु भएको छ ’ कुमालले भने । माओवादीले नयाँ शक्तिले प्रयोग गरेको एउटा जिप र २ वटा मोटर साइकलमा समेत तोडफोड गरेका छन् । आक्रमण बाट ग.२ च ३३६४ नम्बरको बोलेरो जिपको अगाडीको शिशा फुटेको छ । माओवादीले नयाँ शक्तिका कार्यकता चेढेको बा.४० प ६४२६ र बा.३७ प २६०४ नम्बरको दुई वटा मोटर साइकल समेत तोडफोड गरेका छन् । उनीहरुले प्रचारप्रसारमा प्रयोग भएको साउण्ड सिस्टम समेट गाडी बाट झिकेर नालिमा फालिदिएको नयाँ शक्तिले बताएको छ । घटना स्थलमा रहका स्थानका अनुसार माओवादीका कार्यक्रताले लाठी, ढुङ्गा, ईट्टा तथा साइकलको चेनले नयाँ शक्ति माथि प्रहार गरेका थिए । त्यस पछि उनीहरु भागेको स्थानियले बताएका छन् । घटना पछि गोरखा समाचारलाई प्रतिक्रिया दिदै नयाँ शक्ति पार्टी नेपालका जिल्ला अध्यक्ष रमेश पोखेरलले घटनाका कडा शब्द भत्र्सना गरेका छन् । ‘यति ठुलो घटना हुँदा समेत स्थानिय प्रशासन मौन छ, शान्तिपूर्ण ढङ्गले प्रचारप्रसार गर्ने हाम्रो अधिकार हनन भएको छ’ पोखरेलले भने ।

आफ्ना कार्यकर्तालाई ठाउँ ठाउँमा अवरोध गर्ने, धम्की दिने काम यस अघि पनि भएको भन्दै पोखरेलले माओवादी केन्द्रले नाङ्गो नाच देखाएको आरोप लगाए ।‘ घटना बारे प्रहरी प्रशासन सबैलाई जानकारी छ, तर पनि उनीहरु लुकाउन चाँही रहेका छन् यो प्रशासनको निरिह पन हो’ पोखरेलले भने । घटनाका दोषी यथाशिघ्र कारवाही गर्न नयाँ शक्ति पार्टी नेपालले माग गरेको छ । प्रशासनले नसके आफै कारवाही गर्ने जिल्ला संयोजक पोखरेलको चेतावनी दिए ।
यता माओवादी केन्द्र गोरखाले घटना आकस्मिक भएको स्वीकार गरेको छ । जिल्ला इन्चार्ज चुढामणी खड्काले गोरखा समाचार सँग भने ‘हाम्रो पार्टीका वाईसिएल कार्यकर्ताहरुको मोटरसाईकल ¥याली थियो, नयाँ शक्तिका साथीहरुले छाडा गाली गर्नु भएछ, त्यसको प्रतिउत्तर गर्दा घटना भएको हो ।’ घटना कुनै सुनियोजित नभएको खड्को दाबी छ । आफूले पनि घटनाको सबै जानकारी पाई नसकेको भन्दै उनले सत्य तथ्य बाहिर ल्याउने बताए । माओवादी कार्यकताले आक्रमण शुरु गरे पछि जिपका चालक दल बहादुर राना सहित जिपमा रहेका अन्य कार्यकता भने भागेका थिए । घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।




















