कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख २२ गते । गोरखा सदरमुकाममा न्यून आय स्तर भएका महिलाहरुको लागी लक्षित गरी सञ्चालित ढाका बुनाई तथा रंग समायोजन तालिम सम्पन्न भएको छ ।

ग्रामिण बिकास तथा अनुसन्धान केन्द्रको आयोजना, गोरखा उद्योग बाणिज्य संगको समन्वय तथा ब्यापार तथा निकासी प्रवद्र्वन केन्द्र पुल्चोक ललितपुरको आर्थिक सहयोगमा गोरखा सदरमुकाममा सञ्चालित तालिम सम्पन्न भएको हो ।

१ महिना सम्म चलेको उत्त तालिमको समापन गर्दै ब्यापार तथा निकासी प्रवद्र्वन केन्द्र पुल्चोक ललितपुरका नायब कार्यकारी निर्देशक सुयष खनालले केन्द्रले साना साना ब्यवसायीहरुलाई तालिम प्रदान गर्दै त्यसबाट उत्पादित बस्तुको बिकास तथा अन्तराष्ट्रिय स्तरमा बजारको खोजी गर्ने गरेको भन्दै हामीले उत्पादन गर्ने बस्तु विदेशी बजारसंग तुलना गरी उत्पादन गनु पर्नेमा जोड दिए । तालिमले स्वरोजगार र्सिजना गर्नुका साथै गरिबी निवारणमा समेत सहयोग पुग्ने भन्दै क्षमता विकासका अन्य तालिमहरु पनि सञ्चालनमा आउने जानकारी दिए ।

न्यून आय भएका जिल्लाका विभिन्न क्षेत्रका १४ जना महिलाहरुको सहभागिता रहेको उत्त तालिममा उत्पादीत सामाग्रीहरुलाई रंग समायोजन गर्न सिकाईएको थियो । तालिममा ढाका बुनाईका साथै बजारमा जाने विभिन्न बस्तुमा रंग समायोजन गर्न प्रशिक्षक ईश्वर महर्जन र रुपा गुरुङ्गले तालिम अवधीभर प्रशिक्षण गराएका थिए ।

कार्यक्रममा गोरखा उद्योग बाणिज्य संघका महासचिव एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाका सभापती भगवानबावु मास्के र ब्यापार तथा निकासी प्रवद्र्वन केन्द्रका नवराज मरहट्टा समेतले आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रम आयोजक संस्थाका अध्यक्ष नवराज पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।





















