मोहसिन अलि मियाँ/गोरखा
बैशाख ११ गते । बगुवा–९ की कविता भट्टले जीवनमा यत्ति ठूलो बज्रपात भोग्नु पर्छ भन्ने कहिल्यै सोचेकी पनि थिइनन् । जिन्दगीमा ठुला सपना सझाएकी कवितालाई नियतिले ठग्यो । ‘कक्षा ९ मा पढ्दै थिए, बिह गर्नुप¥यो भनेर घर सबैले कर गरे, मन त थिएन बाध्य भएर बिहे गर्नु प¥यो’ कविताले आफ्नो वेदनाको पोको खोलिन् । भर्खर १५ वर्ष लागेकी कविता नवजागृती चण्डी मावि अश्राङमा कक्षा ९ मा पढ्थिन् । माईतीको आर्थिक स्थिति कमजोर भए पछि कलिलो उमेरमा पराइ घर पुगेकी कविताको, कोही आफ्नो भन्ने रहेनन् । घरको आर्थिक अबस्था पनि कमजोर भएकाले बिहे गरेकै वर्ष श्रीमान् बैदेशिक रोजगारमा जाने निधो भयो ।
भिषा पनि आयो, सबै तयारी पुरा भयो बिदेश जाने दिन नजिकीदै थियो, केबल तिन दिन मात्र बाँकी थियो । श्रीमान विदेश गएर कमाएको पैसा जिन्दगी सुखमय बनाउने सपना देखेकी कविताको सपना केबल सपनै रह्यो । एक दिन छिमेकीको बारीमा घाँस झार्न रुखमा चढेका उनका श्रीमान रुखबाट लडे पछि उनी पनि छाँगा बाट खसे जस्ती भइन् । ‘उहाँ लढ्नु भयो भन्ने सुन्ने बिक्तिकै म बेहोस भएछु, पछि होस खुल्दा उहाँले त हामीलाई छोडेर गईसक्नु भएछ’ गहभरी आँशु पार्दै कविताले भनिन् । भर्खर १६ वर्ष लागेकी कविता त्यतिबेला गर्भवती भईसकेकी थिईन् ।
‘उहाँले हामीलाई छोडेर गईसक्नु भएको थियो तर यो नासो राखेर जानु भएछ’ काखे छोरो देखाउँदै उनी सुक्कसुक्क गर्न लागिन् । बिहे भएको वर्ष दिन नपुग्दै श्रीमान गुमाएकी कवितालाई समाजले अनेक लान्छना लगाउन थाल्यो । अन्धविश्वासी समाजको लान्छाना सहन नसकेपछि उनी कति पटक आत्महत्या गर्न समेत हिडिन् । ‘म एक्लै भएको भए त उहिल्यै मरिसक्थे, यस्को मुख हेरर मात्र’ छोराको गाला मुर्सादै कविताले भनिन् । जो सँग जिन्दगी बिताउला भनेर आएको उसैले छोडेर गए पछि त्यो पनि उनको भएन् ।
परिवारका सदस्यको अनेक टोकेसो सहन नसके पछि अन्ततः उनि अश्राङ्गको छापगाँउमा रहेको माइती घर फर्किन् ‘मेरो जाने ठाउँ अन्त कहाँ थियो र जन्म दिने बाबु आमा तिनै हुन मारे मारुन भनेर माईतै फर्किए ।’ आर्थिक समस्याले पढाउन नसकी सानै उमेरमा कवितालाइ पराइ घर पठाएका उनका बुबाआमा मजदुरी गर्छन् । उनको एक भाई र बहिनी समेत छन् । कविताको छोरो समेत थपिदा खाने मुख पनि बढ्यो । ‘बुबा आमा बुढा भईसक्नु भएको छ, भाईबहिनी साना छन्, घरको जिम्मेवारी आफैमा थपियो’ कसैका कुरा नसुनी मेलापात, ज्याला मजुदुरी गरेर परिवार पाल्न थालेकी कवितालाई एक दिन आफ्नो अधुरो पढाईलाई निरन्त्रता दिई सपना पुरा गर्ने सोच आयोे ।
‘म संघर्ष गर्नैका लागि संसारमा आएकी रहेछु, दुखः गर्नकै लागि जन्मिएकी हुँ जस्तो लाग्यो, थोरै भए पनि साहस आयो, मैले पढ्ने निधो गरेँ ।’ आफुलाई पढ्न मन लागेको कुरा कविताले पहिले बुबाआमा र भाई बहिनीलाई सुनाईन् । शुरुमा छक्क परेको परिवारले अन्ततः कवितालाई पढ्ने स्वीकृती दियो । ‘मैले पढ्ने कुरा गरे पछि पहिले सबै अचम्ममा पर्नुभयो, पछि सबैले तँ सक्छेस् भने पढ, त्यस पछि त झनै आँट बढेर आयो ।’ घर सल्लाह भएपछि कविता ३ वर्ष पछि फेरी विद्यालय जाने सपना देख्न थालिन् ।
उनको विद्यालय फर्केने योजनालाई छरछिमेकी साथी संगीले खिल्ली उढाए । कविता थप्छिन ‘कसैका कुरा नसुनी सरासर स्कूल गएर सरहरु सँग कुरा गरेँ, उहाँहरु सबै मेरो कुराले खुसी हुनुभयो ।’ तर उनलाई विद्यालय फर्कन त्यति सहज थिएन । आफु भन्दा २ वर्ष कान्छी बहिनी समेत कक्षा ९ मा पढ्ने भइसकेकी थिइन् । ‘स्कूल जान सजिलो थिएन, साना भाईबहिनी सँग पढ्नु थियो, त्यस्लाई पनि मैले सहज रुपमा लिएँ ।’अनेक दुखः कष्ट भोगेकी कविताले पढाईका सबै कुरा बिर्सिसकेकी थिईन । कक्षामा भाई बहिनीमा कत्ति पनि अफ्ठेरो नमानी उनी पढाईमा केन्द्रित हुन थालिन । ‘आफू भन्दा साना भाई–बहिनी म भन्दा धेरै जान्ने थिए, उनीहरु सँग नजानेको कुरा सोध्दै पढ्न थाल्ने, सरहरुले पनि निकै सहयोग गर्नुभयो ।
माइतीघरमा दुधे छोरो आमाको काखमा छोडेर स्कुल गएकी कविताको कक्षामा पढ्दा पनि ध्यान भने घरमा जान्थ्यो । उनी पढ्न जान थाले पछि घरमा काम गर्ने मानिस कम हुँदा आर्थिक स्थिती झन दयनिय भयो । साँझ बिहान काम गरेर उनी दिउँसो बिद्यालय जान्थिन । ‘बिहान बेलुका काम गर्न जान्थे, दिउँसो पनि छुट्टि हुनासाथ छोरालाई दुध खुवाउन घर पुग्थे’ बिगत सम्झदै कविताले भनिन् । अनेक दुखः खेपेर पढेकी कविताले अहिले कक्षा दश (एसइइ) परिक्षा दिएर बसेकी छिन् । उनलाई पढेर ठुलो मान्छे बन्ने इच्छा छ ‘दश कक्षा सम्म जसो तसो पढेँ, अब कसेरी पढ्ने चिन्ता लाग्छ, छात्रावृत्तिमा पनि पढ्न पाइन्छ भन्ने सुनेको छु, तर आफुलाइ भने सहयोग गर्ने कोही छैनन् ।’
कमजोर आर्थिक स्थीतिमा गुज्रेको उनको परिवार उच्च शिक्षामा लगानी गर्न सक्ने अवस्थामा छैनन । बहिनी पनि उनी सँगै एसइइ परिक्षा दिएर बसेकी छन् । छोरालाई पनि स्कुल पढाउनु पर्ने बेला हुँदैछ । ‘समस्याको पहाडै म माथि छ जस्तो लाग्छ, सबै कुरा कसरी मिलाउनु सोच्न सकिरहेको छैन, कहीं कतै केही काम पाएँ दुःख गरेर भए पनि पढ्थे’ कविताले आशा व्यक्त गरिन् ।


