गोरखा समाचारदाता
बैशाख ११ गते । निर्वाचन नजिकिदै गर्दा जिल्लाका सरकोकारहरुले बालबालिकाको दुरुप्रयोग नगर्ने प्रतिवद्धता जनाएका छन् ।
जिल्ला बालकल्याण समिति गोरखाको पहलमा भएको बैठकमा सहभागी स्थानिय राजनितिक दलका नेताहरुले आसन्न निर्वाचनको कुनै पनि क्रियाकलापमा बालबालिका प्रयोग नगर्ने प्रतिवद्धतामा हस्ताक्षर गरेका हुन ।‘निर्वाचनमा बालिकाको प्रयोग गर्नु बालअधिकारको गम्मिर हनन् हो, हामी यस कुरामा सचेत छौ’नेकपा एमालेका उपाध्यक्ष यादब बस्नेत भने ।
७ बुँदे प्रतिवद्धतापत्रमा कुनै पनि राजनैतिक कार्यक्रम,चुनावी सभा,गोष्ठी,सम्मेलन तथा जुलुसमा बालबालिकाहरुलाई सहभागी नगराउने, विद्यालय हाताभित्र कुनै पनि प्रकारको राजनितिक क्रियाकालप नगर्ने, उम्मेदवारको प्रचारप्रसार हुने खालका सामाग्री टाँस्ने,भित्ते लेखन गर्ने कार्य बन्द गर्ने जस्ता कुराहरु मुख्यरुपमा समेटिएका छन् ।
यसैगरी चुनावी कार्यक्रममा बालबालिकाको श्रम शोषण हुने खालका कुनै पनि कार्य नगर्ने,बालअधिकारका क्षेत्रमा अहिले सम्म भएका सबै खाले सन्धी महासन्धी र कानुनी व्यवस्थाको पालना गर्न राज्यलाई सघाउने प्रतिवद्धता दलहरुको छ । नेपाली कांग्रेस गोरखाका सचिव नन्द्रप्रसाद न्यौपानेले गोरखा समाचार दैनिक सगँ कुराकानी गर्दै भने ‘नेपाली कांग्रेस विधि र प्रक्रिया विश्वास गर्ने पार्टी हो, नेपालको प्रचलित कानुन भन्दा बाहिर काग्रेसले कुनै पनि गतिविधी गर्दैन ।’

निर्वाचन आयोगले योग्य ठहराएका र मतदाता नामावलीमा नाम भएका भन्दा कम उमेरका बालबालिकालाई निर्वाचनको कुनै पनि गतिबिधिमा संलग्न नगराउने न्यौपानेले बताए । निर्वाचनमा बालबलिकाको प्रयोग हुन सक्ने खतरा रहेकोले प्रतिवद्धता गराइएको जिल्ला बालकल्याण समितिका सदस्य सचिव एवं महिला तथा बालबालिका कार्यलयकी प्रमुख शुसिला वाग्लेले बताईन ।‘स्थानिय निर्वाचन नजिकिदैछ, निर्वाचनमा बालबालिको दुरुपयोग नहोस् भनेर सबैलाई प्रतिवद्धता गराउन लगाएका हौ’ वाग्लेले भनिन् ।
कार्यक्रममा सहभागी भएका जिल्ला बाल कल्याण समितिका सदस्य एवं जिल्लामा क्रियाशिल अधिकारकर्मीहरुले प्रतिवद्धता मात्र प्रयाप्त नहुने भन्दै प्रभावकारी अनुगमन गर्न सुझाव समेत दिएका थिए । सोही बैठकले निर्वाचनमा हुन सक्ने बालबालिको दुरुपयोग कम गर्न महिला तथा बालबालिका कार्यलयकी प्रमुख शुसिला वाग्लेको संयोजकत्वमा अनुगमन समिति समेत बनाएको छ ।
७ सदस्यिय उक्त समितिमा जिल्ला शिक्षा कार्यलय, बाल क्लव सञ्जाल, नेपाल वार यशोसियसन,मानव अधिकार सञ्जाल,गैर सरकारी संस्था महासंघ, पत्रकार महासंघका प्रतिनिधि सदस्य रहनेछन् । आवश्यकता अनुसार अन्य आमन्त्रित रुपमा अन्य सदस्य थप गर्न सक्ने उक्त समितिले गाउँगाउँमा पुगेर अनुगमन गर्ने बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बालकल्याण समितिका संयोजक जितेन्द्र बस्नेतको अध्यक्षता भएको बैठकले जिल्लामा बालबालिको क्षेत्रमा संचालन गर्नुपर्ने क्रियाकलापहरुको मार्गनिदेर्शन २०७३ समेत पारित गरेको छ ।
जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीको संयोजकत्वमा बनेको समितिले तयार गरेको मार्गनिर्देनमा जिल्लामा बालबालिको अबस्था,बालबालिकाको क्षेत्रमा संचालन गर्नुपर्ने क्रियाकलापको उल्लेख गरिएको छ । बालबालिको शारीरिक,बौद्धिक,सामाजिक तथा सम्वेगात्मक विकासका लागि गर्नुपर्ने सम्पुर्ण कुरा उल्लेख गरिएको छ ।


