किरण लोहनी/उज्यालो ।
गोरखा, चैत ३० – गएको वर्षको वैशाख १२ गतेको भूकम्पबाट घर भत्केकाहरुलाई किस्ता किस्तामा रकम दिनका लागि सरकारले कार्यविधि बनाएर लागु गर्यो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाएको निजी आवास पुनर्निर्माण प्राविधिक निरिक्षण कार्यविधि २०७३ लागु भएर त्यही अनुसार दोस्रो किस्ताको रकम सिफारिस हुन थालेको छ ।
कार्यविधिमा भएको व्यवस्था अनुसार गाउँमा खटिएका इन्जिनियरले घर निरीक्षण गरेको व्यहोरा फारममा भर्नुपर्छ । फाराममा बन्दै गरेको घरको कम्तिमा ६ वटा फोटो खिचेर राख्नु पर्ने देखि जिपिएस कोअर्डिनेट अर्थात अक्षांश देशान्तर लगायत विवरण उल्लेख गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । त्यसो गर्नका लागि गाउँमा खटिएका प्राविधिकहरुलाई ट्याब्लेट चाहिन्छ । कार्यविधि लागु त भयो, तर प्राविधिकहरुले पर्याप्त ट्याब्लेट पाउन सकेनन् र सुरु शुरुमा दोस्रो किस्ता सिफारिसको काम सुस्तायो । ‘सुरुमा ५० वटा ट्याब्लेट थियो, तर इन्जिनियर मात्रै १ सय भन्दा बढी खटिएका थिए’ शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख रोशन श्रेष्ठले भन्नुभयो, ‘एउटा गाविसमा एउटा ट्याब्लेट दिइयो, तर इन्जिनियर चाहिँ ३ जना खटाइयो, अनि कसले चाहिँ ट्याब्लेट बोकेर गाउँ जाने ?’ लामो प्रयासपछि केही थान ट्याब्लेट थपिएको छ, तर फेरि पनि पर्याप्त छैन ।
‘प्राविधिकको तुलनामा अहिले पनि ३ गुणा कम छ’ श्रेष्ठले भन्नुभयो, ‘तर त्यसैका कारण काम रोकिएको भने छैन, ढिला चाहिँ भएको छ ।’ एक प्राविधिक एक ट्याब्लेटको व्यवस्था गरेर त्यसमै घरको विवरण भर्ने व्यवस्था गरे दोस्रो किस्ता सिफारिसले गति लिने प्राविधिकहरुको विश्वास छ । ‘एक इन्जिनियर एक ट्याब्लेट नहुँदा केही साथीले आफूसँग भएको मोबाइलमा फोटो खिचेर ल्याउने गर्नुभएको छ’ डिभिजन प्रमुख श्रेष्ठले भन्नुभयो, ‘त्यसलाई कम्प्युटरमा राख्ने, घरधनीको विवरण अनुसार मिलाउने गर्दा नै पनि धेरै समय जान्छ ।’ बदलिएको संरचना अनुसार अब गोरखामा कायम भएका ११ स्थानीय तहमा ९४ वडा छन् । कम्तिमा एउटा वडामा एउटा ट्याब्लेट दिन सके सजिलो हुने प्राविधिकहरुले बताएका छन् ।
कार्यविधि कडा भएकाले झन समस्या
पहिलो किस्ताको अनुदान रकमले बनाइएको घरको सर्वेक्षण गर्ने सम्बन्धी कार्यविधि संशोधन नगरेसम्म गोरखामा ब्यक्तिगत आवास पुनर्निर्माणले गति लिन नसक्ने देखिएको छ । कार्यविधिमा भएका जटिल खालका प्रावधानका कारण पहिलो किस्ताको ५० हजार रुपैयाँले घर बनाएकाहरुले दोस्रो किस्ताको रकम पाउन नसकेका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाएको निजी आवास पुननिर्माण प्राविधिक निरीक्षण कार्यविधि २०७३ मा उल्लेख भएअनुसार प्रमाणीकरण गर्दा धेरैजसो घरले दोस्रो किस्ता पाउने सम्भावना नै नदेखिएको हो ।
यस्तै कार्यविधि अनुसार काम गर्दा घरको निरीक्षणमा धेरै समय लाग्ने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख रोशन श्रेष्ठले बताउनुभयो । बन्दै गरेका घरको निरिक्षण गरेर दोस्रो किस्ताको लागि प्रमाणीकरण गर्ने फाराममा समावेश गर्नै पर्ने कतिपय प्रावधान पूरा गर्न कठिन रहेको उहाँको भनाई छ ।
प्रमाणीकरण फाराममा बन्दै गरेको घरको कम्तिमा ६ वटा फोटो, घरको जिपिएस कोअर्डिनेट अर्थात अक्षांश, देशान्तर र समुन्द्री सतहदेखिको उचाई अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने प्रावधान छ । तर गाउँगाउँमा खटिएका सबै इन्जिनियरहरुसँग ट्याब्लेट अर्थात घरको विवरण राख्ने साधन नभएकाले धेरै समस्या भोग्नु परेको उहाँको भनाई छ । गाउँमा खटिएका प्राविधिकहरुले प्रमाणीकरण गरेका १ हजार भन्दा बढी घरधनीको फाइल डिभिजन कार्यालयमा आइपुगेको छ ।
तर एउटा फाइल अध्ययन गर्न कम्तिमा आधा घण्टा भन्दा बढी समय लाग्दा दोस्रो किस्ता सिफारिसमा ढिलाई भएको श्रेष्ठको भनाई छ । जिल्लामा अहिलेसम्म ९ सय ७७ जनाको लागि मात्रै दोस्रो किस्ताको रकम सिफारिस गरिएको छ । २४ जनाले भने तेस्रो किस्ताको रकमका लागि निवेदन दिएका डिभिजन कार्यालयले जनाएको छ । कार्यविधिमा भएका कतिपय जटिल खालका प्रावधानलाई हटाएर सरल बनाउन राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनुभयो । ‘कार्यविधिलाई सरल र ब्यवहारिक नबनाउने हो भने पुननिर्माण सक्न ५ वर्ष लाग्छ’ उहाँले भन्नुभयो ।
जिविसको खातामा थन्कियो दुई अर्ब
जटिल प्रावधानकै कारण भूकम्प गएको २ वर्ष बित्न लाग्दा समेत भूकम्प प्रभावितले राहतको दोस्रो किस्ताको अनुदान रकम पाउन नसकेका हुन् । जिल्ला विकास समिति गोरखाको खातामा दोस्रो किस्ताका लागि करिब दुई अर्ब रुपैयाँ थन्किए पनि प्रभावितसम्म पुर्याउन नसकिएको हो । पहिलो किस्ताबाट बाँकी रहेको २२ करोड, गएको तिहार लगत्तै आएको ९९ करोड र एक महिनाअघि आएको ८५ करोड रुपैयाँ जिविसको खातामा जम्मा भएर बसेको छ । जिल्लाभरका झण्डै ६१ हजार भूकम्प प्रभावित लाभग्राहीमध्ये अहिलेसम्म झण्डै ८ सयले मात्रै दोस्रो किस्ताको रकम लिएका छन् । लाभग्राहीको सूचिमा भएका मध्ये झण्डै ५५ हजारले पहिलो किस्ताको अनुदान रकम बुझेका छन् ।
पहिलो किस्ताको रकम वितरणको काम गएको असारबाटै सुरु भएको थियो । अनुदान रकम लिएपनि त्यतिबेला वर्षायाम भएकाले रोकिएको पुननिर्माणको काम हिउँद लागेसँगै सुरु भएको थियो । तर विभिन्न झन्झटिला प्रक्रियाका कारण पनि पहिलो किस्ताको अनुदानले घर निर्माण सुरु गरेर दोस्रो किस्ताको लागि निवेदन दिनेको संख्या निकै कम रहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय गोरखाले जनाएको छ । डिभिजन प्रमुख रोशन श्रेष्ठका अनुसार अहिलेसम्म झण्डै ५ हजार जनाले दोस्रो किस्ताको माग गर्दै निवेदन दिएका छन् । कार्यविधि अनुसार काम गर्दा ढिलाई भएकाले आएका निवेदन पनि फर्स्यौट गर्न ढिलाई भएको उहाँको भनाई छ ।
ujyaaloonline


