कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र २२ गते । बिनाशकारी भूकम्प पछि जिल्लामा कार्यरत गैर सरकारी संघ संस्थाहरुले निर्वाचन आचार संहिता उल्लघंन हुने गरी काम गरेको गुनासो आउन थाले पछि स्थानिय बिकास अधिकारीले आचार संहिता पालन नगर्ने संघ संस्थाका प्रतिनिधीहरुलाई प्रहरी लगाएर पक्राउ गर्ने चेतावनी दिनु भएको छ ।

जिल्लामा कार्यरत सबै संघ संस्था र गैसस महासंघलाई पत्राचार गर्दै निर्वाचन आचार संहिता पालन गर्न र आफु आवद्व संस्थाहरुलाई पालना गर्न लगाउन निर्देशन दिदै त्यसो गरेको नपाइएमा जहाँ आचार संहिता उल्लघन हुन्छ त्यही प्रहरी लगाएर पक्राउ गर्ने आशयको पत्राचार गरीएको स्थानिय बिकास अधिकारी नारायण आचार्यले बताउनु भयो ।
पुराना र अधुरा कामको योजना मर्मत तथा योजना पुरा गर्न बाहेक कुनै पनि प्रकृतिको नयाँ कार्यक्रम निर्वाचन अगाडी नगर्न समेत अधिकारी आचार्यले आग्रह गनु भएको छ । ‘दैनिक काम रोक्न हामीले भनेका छैनौ तर नयाँ कार्यक्रम थालनी गर्ने र कुनै पनि बितरण मुखी कार्यक्रम गर्न भने पाइदैन’ भन्दै पशु पंक्षि, बिऊ बिजनका साथै योजनाको भूक्तानी भन्दै पैसा बितरण गर्न पाइदैन । त्यस्तो गरेको पाइएमा प्रहरी लगाएर कार्य स्थलमा नै पक्राउ गर्छौ’ स्थानिय बिकास अधिकारी आचार्यले बताउनु भयो ।

स्थानिय बिकास अधिकारीले अक्सफाम नामक संस्थाले केही गाउँमा पैसा बितरण गरेको भन्ने गुनासा सुन्नासाथै कार्यकक्षबाटै फोन गरेर त्यस्तो गर्न र गरेको पाइएमा केही भएको खण्डमा आफुले जिम्मा नलिने बताउनु भयो । कार्यकक्षमा नै जम्मा भएका वडा सचिबहरुलाई समेत निर्देशन दिदै निर्वाचन अगाडी आचार संहिताले नगर भनेको कुनै पनि काम नगर्न समेत सचेत गरानु भएको थियो ।
अधिकारी आचार्यले जुन कुनै क्षेत्रमा निर्वाचन आचार संहिता विपरीत काम भए गरे गराएको भए आफुलाई सो को जानकारी प्राप्त भएको खण्डमा प्रहरीलाई खबर गरी पक्राउ गरी कारवाही गर्न आफु कटिबद्व रहेको समेत बताउनु भयो ।


