ब्लास्टिङलाई होल खोप्दै
कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र १९ गते । लामो संघर्ष पछि नेपाली सेनाले कामको जिम्मा पाएको उत्तरी गोरखाको कच्ची सड्कको कामको थालनी भएको छ । सेनाले आफ्नो जिम्मामा पाएको हावाडाडाँ देखी लार्के भञ्ज्याङ्ग सम्मको बाटो मध्ये हावाडाडाँको भिरमा ब्लास्टिङ गर्न होल खोप्ने कामको थालनी भएको हो ।
सडक निर्माणका क्रममा नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गर्ने भएपछि सो बाटोमा केही दिन देखी नै हिडडुल गर्न प्रतिबन्ध लगाउने तयारी समेत गरी रहेको छ । पहिलो चरणमा मनासलु पदमार्ग अन्तर्गत हावाडाँडा बाट लापूवेशी सम्म को बाटो बन्द गरेर काम शुरु गर्न लागिएको सडक निर्माणमा खटिएका नेपाली सेनाका इन्जिनियर मेजर निशान्त क्षेत्रीले बताउनुभयो । बेनीघाट–आरुघाट–आर्खेत सडकखण्ड अन्तर्गत हावाडाँडा देखि लार्के भञ्ज्याङ सम्म को सडकको ट्रयाक खन्ने कामको जिम्मा नेपाल सररकाले नेपाली सेनालाई दिइएको हो ।
सडक निर्माणको शुरुमै कडा चट्टान सहितको ठूलो भीर रहेकाले विस्फोटक पदार्थको प्रयोग विना ट्रयाक बनाउन नसकिने क्षेत्रीको भनाई छ । स्थानीयको सहज आवतजावतका लागि दुईवटा बैकल्पिक बाटो प्रयोग गर्न स्थानीय प्रशासन मार्फत आग्रह गरिएको उहाँको भनाई छ ।
अर्मलाबाट भीरकुना निस्केर माछिखोला झर्ने बाटो र अर्मलाको झोलुङगे पुल तरेर मान्बु हुँदै लापूवेशी निस्कने दुईवटा बाटोलाई विकल्पका रुपमा प्रयोग गर्न नेपाली सेनाले आग्रह गरिएको छ । भीरकुनातर्फको बाटो असजिलो भएका कारण मर्मत गर्न लागिएको छ ।
धादिङको बेनीघाटबाट गोरखाको आरुघाट र विभिन्न उत्तरी गाविसहरु हुँदै चीनको सीमाक्षेत्रसम्म पुग्ने १ शय ८० किलोमिटर मोटरबाटोको आधा भन्दा बढी खण्डको काम नेपाली सेनाले थालेको हो । सो क्रममा मनासलु पदमार्गको तातोपानीसम्म सर्भे भैसकेको मेजर क्षेत्रीले बताउनुभयो ।
सडक निर्माणका लागि नेपाल सरकारले यो वर्ष ३ करोड ५० लाख रुपैया विनियोजन गरेको छ । लगातार काम गर्ने वातावरण बने ३ वर्षभित्रमा चीनको सीमा क्षेत्रसम्म सडकको ट्रयाक पु¥याउन सकिने नेपाली सेनाले जनाएको छ ।






















