बिकास मरहट्टा
१८ चैत्र, गोरखा । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि निवाचन आयोगले आचारसंहिता लागू गरिसकेको छ । तर अनुगमन गर्ने निकायका प्रमुखले नै आचारसंहिला उल्लंघन गरे के होला ?
यस्तै गरेका छन् गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले । आचारसंहिता उल्लंघन गर्दै उनी एनजिओले बनाएको आलु संकलन केन्द्रको उद्घाटन गर्न पुगेका छन् ।
धार्चे गाउँपालिकाको गुम्दामा एक एजजिओले बनाएको आलु संकलन केन्द्रको अनुगमनको नाममा प्रजिअसहित जिल्लाका सरकारी अड्डाका प्रमुखहरुले उत्तरी गोरखाको भ्रमण गरेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी केशव शर्मा, एसपी जनकराज पाण्डेय, सशस्त्र प्रहरीका डिएसपी राजेन्ऽ श्रेष्ठ, राष्ट्रिय अनुसन्धान प्रमुख जीतबहादुर घले, जिल्ला कृषि बिकास कार्यालयका प्रमुख याम कुमार श्रेष्ठ लगायत त्यस कार्यक्रममा सहभागी छन् ।
औपचारिक रुपमा भवन उद्घाटन नगरे पनि भव्य कार्यक्रमको आयोजना गरी भवन अनुगमन गरिएको एक स्थानीयले बताए ।
केयर नेपाल र स्वाँरा सघन गाउँ बिकास केन्ऽले अनुगमनमा सहभागी हुन भन्दै पत्र पठाएसँगै जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु कार्यालयको काम छाडेर एनजिओको पछि दौडेका हुन् ।
उक्त कार्यक्रममा गोरखा क्षेत्र नम्बर ३ का सांसद छमबहादुर गुरुङ लगायत गैससका प्रमुख एवं प्रतिनिधीहरु पनि सहभागी थिए । निर्वाचन आचारसंहिता उल्लघंन गर्दै उनीहरु उक्त कार्यक्रममा सहभागी भएका हुन् ।
स्थानीय निर्वाचन आचारसंहिता २०७३ को परिच्छेद ३ को दफा ७ को उपदफा २ मा नेपाल सरकार, सार्वजनिक संस्था र स्थानीय तहका कर्मचारीले कुनै पनि योजनाको शिलान्यास, उद्घघाटन, सर्वेक्षण वा अध्ययन वा सोको लागि अनुदान दिने जस्ता कार्यक्रम गर्न वा गराउन नपाइने उल्लेख छ ।
यसबारेमा प्रतिक्रिया लिन प्रजिअलाई सम्पर्क गर्न खोज्दा भने फोन सम्पर्क हुन सकेन । केयर नेपाल नामक आइएनजिओ र स्वाँरा सघन गाउँ बिकास केन्द्र नामक एनजिओले उनीहरुको आवतजावत र बस्ने खर्चको व्यवस्था मिलाएको छ ।
onlinekhabar


